एकता हाम्रो चाहना हो, यसमा निरन्तर लाग्नुपर्छ : नेपाल

सदस्यता नवीकरण र अधिवेशन प्रक्रिया रोक्न माग

काठमाडौं । एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटी बैठकले एकताका लागि निरन्तर छलफल तथा संवादलाई अघि बढाउने निष्कर्ष निकालेको छ । बिहीबार (आज) बुद्धनगरस्थित क्वालिटी पार्टी प्यालेसमा बसेको केन्द्रीय कमिटी बैठकले यस्तो निष्कर्ष निकालेको हो । ‘पार्टी एकता अपरिहार्य भन्दै आजको बैठकले त्यसका लागि निरन्तर लाग्ने निष्कर्ष निकालेको छ,’ बैठकपछि नेता रघुजी पन्तले भने, ‘माधव नेपाल कमरेडको अध्यक्षतामा बसेको बैठकले यो निष्कर्ष निकालेको हो । हामी सधैं एकताको पक्षमा छौँ । यसका लागि लागिरहन्छौँ ।’

नेता पन्तकाअनुसार नेता नेपालले नेताहरुलाई पार्टी एकताको पक्षमा उभिनसमेत आग्रह गरे । ‘हाम्रो चाहना भनेको पार्टी एकता नै हो,’ नेता नेपाललाई उद्धृत गर्दै नेता पन्तले भने, ‘यसका लागि निरन्तर रुपमा काम गरौँ ।’ यस्तै बैठकमा बाढी, पहिरो र कोभिड पीडितहरुलाई सरकारले ध्यानमा राख्दै आवश्यक सहयोग गर्न सरकारको ध्यानाकर्षण गराएको छ भने जयसिंह धामीबारे सत्यतथ्य छानबिन गरी घटना सार्वजनिक गर्न र परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउनसमेत बैठकले सरकारको ध्यानाकर्षण गराएको छ ।

आजको बैठकमा विजय पौडेल, झपट रावल, सावित्रा भुसाल, रवीन्द्र अधिकारी, ठाकुर गैह्रे, भानुभक्त जोशीलगायत केन्द्रीय सदस्यहरुले आ–आफ्नो धारणा राखेका थिए । बैठक भोलि पनि बस्नेछ । बैठक बिहान ११ बजेपछि क्वालिटीमै बस्ने नेता पन्तले जानकारी दिए ।

सदस्यता नवीकरण र अधिवेशन प्रक्रिया रोक्न माग
बैठकले सदस्यता नवीकरण र अधिवेशन प्रक्रिया रोक्न माग गरेको छ ।

नेपाल समूहको तर्फबाट उपाध्यक्षसमेत रहेका नेता भीम रावलले बैठकमै उक्त माग गरेका हुन् । ‘हाम्रो तर्फबाट कमरेड भीम रावलले सदस्यता नवीकरण र अधिवेशन पक्रिया रोक्नसमेत माग गर्नुभयो ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *