कोभिडको संक्रमणदर बढ्न थाल्यो‚ थप सतर्कता जरुरी छ : डा. पुन

पछिल्ला दिन कोभिड संक्रमणको दर बढेको छ । बुधबार परीक्षण गरिएकामध्ये करिब २६ प्रतिशतमा कोभिड पुष्टि भएको छ । काठमाडौँका अस्पतालहरूमा कोभिडका बिरामी बढेका छन् । अस्पतालका शय्या भरिभराउ भएको अस्पतालहरूले जानकारी दिएका छन् ।

यससँगै सतकर्ता अपनाउन विज्ञले सुझाव दिएका छन् । कोभिडको तेस्रो लहर आउन सक्ने आकलन भइरहेका बेला संक्रमण बढेकाले त्रास पनि बढेको छ । यसै विषयमा हामीले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका रिसर्च युनिटका प्रमुख तथा सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनसँग मकालुखबरकर्मी समिक्षा गाहाले गरेको कुराकानी–

पछिल्ला दिनमा कोभिड संक्रमणदर बढ्न थालेको तथ्याङ्क आउन थाल्यो‚ यसको कुनै खास कारण छ कि !

कोभिड संक्रमितको संख्या केही बढेको तथ्याङ्कले देखाउँछ । लकडाउन खुकुलो भएसँगै बाहिर हिँडडुल गर्ने, जनस्वास्थ्यका मापदण्ड नअपनाउने भएकाले पनि कोभिडको संक्रमण बढेको हो । एकातर्फ हरेक दिन कोरोना संक्रमित बढिरहेका छन् भने अर्कोतर्फ संक्रमित नभएकाहरू पनि बाहिर खुलेयाम हिँडिरहेका छन् । अहिलेसम्म प्रयास गरेर संक्रमित हुनबाट बचिरहेकाहरू कि त खोप लगाएका‚ कि त जनस्वास्थ्यका मापदण्डलाई कडा रुपमा पालना गरेकाले मात्र यसबाट बच्न सकिने अवस्थाजस्तो देखियो । खोप नलगाएकाहरूमा कोरोनाको जोखिम तुलनात्मक रुपमा लगाएको भन्दा बढी हुने गर्छ । जनस्वास्थ्यको पालनामा हेलचेक्र्याइँ गर्नेहरू पनि यो जोखिममा हुने नै भए ।

डेल्टा भेरिएन्टको नयाँ स्वरुप आइरहेको खबर पनि आइरहेका छन्, त्यसबाट कसरी जोगिने ?

यो दोस्रो लहरमै देखिएको भेरियन्ट हो । दोस्रो लहरमा देखिएको भेरियन्टले निरन्तरता पाइरहेको छ । जो-जो संक्रमित भइसके उनीहरूलाई तत्काल संक्रमणको सम्भावना रहँदैन किनभने एउटै भेरियन्टले एउटै व्यक्तिलाई एउटै ठाउँमा एकै समयमा दोहोर्‍याएर संक्रमण गरेर सिकिस्तै बनाएको अहिलेसम्मको तथ्याङ्कमा छैन । तर‚ यो भेरियन्टचाहिँ दोस्रो लहरबाट देखिरहेको र निरन्तरता पाइरहेको छ । स्वरुप नयाँ नयाँ परिवर्तन हुन्छ‚ जसले गर्दा नयाँ भेरियन्टको विकास हुन्छ । तर सबै भेरियन्ट डरलाग्दो नै हुन्छन् भन्ने जरुरी पनि छैन ।

भाइरसले बालबालिका,वृद्धवृद्धा वा युवा भनेर त भन्दैन । जो कोहि पनि जोखिममा हुनसक्छ । अर्को लहर आइहाल्यो भने र खोप नलगाएको भए झन् बढी जोखिम हुने भयो ।

ती भेरियन्टबीचमा कतै अलिकति डेल्टा भेरियन्टजस्तै अलिकति कडा भएर आउने त होइन भन्ने त्यो खालको चिन्ता भने हामीमा छ । र यसबाट जोगिन र जुनसुकै नयाँ भेरियन्ट आएपनि बच्ने उपाय भनेको पहिले, अहिले र पछि पनि स्वास्थ्य मापदण्डको पालना नै हो ।

तेस्रो लहरमा बालबालिका बढी प्रभावित हुन सक्छन् पनि भन्ने गरिन्छ । सरकारले केही समयअघि यस्तै विज्ञप्ति पनि जारी गरेको थियो । बालबालिकालाई कसरी सुरक्षित बनाउने ?

भाइरसले बालबालिका,वृद्धवृद्धा वा युवा भनेर त भन्दैन । जो कोहि पनि जोखिममा हुनसक्छ । अर्को लहर आइहाल्यो भने र खोप नलगाएको भए झन् बढी जोखिम हुने भयो ।

बालबालिकालाई भ्याक्सिन नभएको अवस्थामा तेस्रो लहरले उचाई लियो भने उनीहरूलाई चाँहिँ समस्या आउन सक्छ भन्ने एक प्रकारको अनुसन्धानमात्र हो । अब त्यसमा बालबालिकालाई मात्र जोखिम हुन्छ भनेर चाँहि अन्य उमेर समूहका मानिसले हेल्चेक्र्याइँ गर्नु भने भएन ।

जथाभावी गर्नु भएन । भ्याक्सिन नलगाएका जो कोहिमा पनि संक्रमण हुने उत्तिकै जोखिम हुन सक्छ । अर्को लहर आउने बेलासम्म बालबालिकाका लागि चाहिँ भ्याक्सिन उपलब्ध नभएकै अवस्थामा तेस्रो लहर आइहाल्यो भने कतै समस्या ल्याउने पो हो कि भन्ने खालको प्रक्षेपणले गर्दा सरकारले यस्तो सूचना जारी गरेको हो जस्तो मलाई लाग्छ । बालबालिकाका बारेमा अलि चिन्तित भएर त्यसका लागि सबैले उचित तयारी गरून् भन्ने ध्येयका साथ यस्तो कुरा आएको हुनुपर्छ ।

दोस्रो लहरमा अक्सिजनको हाहाकार भयो‚ जसका कारण धेरैको मृत्यु पनि भयो‚ त्यस्तो अवस्था आउन नदिन तेस्रो लहरमा हुने सम्भावित जोखिम नियन्त्रणका लागि कस्तो तयारी गर्नुपर्ला ?

हामीले विगतबाट धेरै पाठ पनि सिक्नुपर्ने देखिन्छ । पहिले पहिले टेस्टिङ, ट्रेसिङ र आईसोलेसनहरू राम्रोसँग गरिएन । जसले गर्दा को कहाँ छन् भन्नेसम्म पनि थाहा थिएन । कसरी संक्रमण सर्दैछ भन्ने कुरा थाहा पाउन पनि गाह्रो परेको थियो । दोस्रो लहरसम्म आइपुग्दा हामीले अक्सिजनको अभाव झेल्नुपर्‍यो‚ डेल्टा भेरियन्टले गर्दा त्यो खालको अवस्था सिर्जना भयो । त्यसैले त्यसबेला के कस्ता कमीकमजोरी भए भन्नेबारे समीक्षा गर्न जरुरी छ । र आगामी दिनका लागि हामीले अहिलेदेखि नै तयारी गर्नु आवश्यक पनि छ ।

खोप केन्द्र वा अन्य कार्यालय वा कुनै व्यापार व्यवसाय गर्ने ठाउँ पनि कोरोना फैलने थलो बनेका हुन सक्छन् ।

यसमा पनि बालबालिकाका लागि बनेका अस्पताल कम छन् । आईसीयूहरू पनि पक्कै कम होलान्‚ अनि जनशक्तिको कुरा पनि पर्याप्त छ/छैन भन्ने कुरा पनि आउँछ । आईसीयूमा प्रयोग हुने उपकरणहरू र उपचार गर्न अनुभवी व्यक्ति, विज्ञहरूको अभावजस्ता कुरा नै आगामी दिनका लागि मुख्य चुनौती हो । यसको व्यवस्थापनका लागि काम थालिहाल्नुपर्ने आवश्यकता छ ।

पछिल्लो समय संक्रमण बढ्नुमा कोभिडविरुद्धको खोप अभियानमा भइरहेको भिडभाड पनि हो कि भन्ने शंका गरिएको छ । खोपलाई कसरी व्यवस्थित बनाउन सकिएला ?

यो पनि एउटा कारण हुन सक्छ । मसँग सम्पर्कमा आएका खोप लगाएका धेरैभन्दा धेरै मानिसले खोप लगाएको ८–१० दिनमै संक्रमण भयो भन्ने खालका कुराहरू पनि आएका छन् । खोप केन्द्र वा अन्य कार्यालय वा कुनै व्यापार व्यवसाय गर्ने ठाउँ पनि कोरोना फैलने थलो बनेका हुन सक्छन् । त्यस्तो नहोस् भन्नका लागि खोप केन्द्रमा विशेषतः व्यवस्थापनको चुस्तता चाहियो ।

व्यवस्थापनमात्र भएर भएन‚ स्वयं आफैँ खोप लगाउन जाँदा होस्‚ या बाहिर निस्कँदा ध्यान पुर्‍याउनुपर्‍यो । सतर्कता अपनाउनुपर्‍यो । कारोना रोकथामका लागि यसमा दुवै पक्षको महत्वपूर्ण भूमिका रहन्छ । र खोप केन्द्रजस्तै अन्य धेरै सेवाग्राही हुने ठाउँ, धेरै मानिस जमघट हुने ठाउँमा कोरोना फैलने राम्रो स्थल हुन सक्नेबारे हामीले विचार गर्नुपर्दछ ।

कोरोना बढिरहेका बेला नियन्त्रणमा आमनागरिकको भूमिका कस्तो हुनुपर्ला ?

यसका लागि मूख्य भूमिका नै आमनागरिकको हो । बल नै उनीहरूको हातमा छ । नागरिकले अब आफ्नो तर्फबाट जनस्वास्थ्यका मापदण्ड अपनाएर सतर्क रहेर अगाडि बढेमा लकडाउनको आवश्यकता पनि पर्दैन । तर यसमा नै हामी चुकिरहेको अवस्था हो । जसले गर्दा आफैँले दुःख पाइरहेका छौँ । त्यसकारण सबैजना सचेत रहेर अबका दिनमा हुन सक्ने बढ्न सक्ने कोरोना संक्रमण नियन्त्रणका लागि हामी आफैँ सचेत भएर लाग्न जरुरी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *