‘जीवित संग्रहालय’ नमास्न प्रधानमन्त्रीलाई पूर्वमहानिरीक्षकहरूको ज्ञापनपत्र

काठमाडौँ । नेपाल प्रहरीका पूर्वमहानिरीक्षकहरूले राष्ट्रपतिको कार्यालय विस्तार गर्ने नाममा प्रहरी एकेडेमी (राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान) सार्ने निर्णय खारेज गर्न माग गर्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएका छन् ।

नेपाल प्रहरीका १५ जना पूर्वप्रहरी महानिरीक्षकहरूले प्रतिष्ठानको ऐतिहासिक पहिचान मेटिने गरी निर्णय भएको भन्दै त्यसलाई कार्यान्वयन नगर्न प्रधानमन्त्री देउवालाई बुधबार ज्ञापनपत्र बुझाएका हुन् ।

निवर्तमान केपी ओली सरकारले प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गाको स्वामित्व राष्ट्रपति कार्यालयलाई हस्तान्तरण गर्नेगरी भएका कामकारबाहीबाट नेपाल प्रहरीको संस्थागत विकासको महत्वपूर्ण आधारशिला एवम् जीवित संग्रहालयको अस्तित्व मासिने पूर्वप्रहरी प्रमुखहरूको चिन्ता छ । प्रधानमन्त्री देउवालाई बुझाएको ध्यानाकर्षण पत्रमा ऐतिहासिक पहिचान बोकेको तथा प्रहरीको व्यवसायीकताको उद्गम थलोको रुपमा स्थापित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको इतिहास नामेट पार्ने कार्य रोकिनुपर्ने उल्लेख छ ।

नेपाल प्रहरी पूर्वसंगठन प्रमुख मञ्चको तर्फबाट पूर्व प्रहरी महानिरीक्षकहरू दुर्लभकुमार थापा, मोतीलाल बोहोरा, अच्युतकृण्ण खरेल, ध्रुबबहादुर प्रधान, प्रदीपशमशेर राणा, श्यामभक्त थापा, ओमविक्रम राणा, हेमबहादुर गुरुङ, रमेशचन्द ठकुरी, रवीन्द्रप्रताप शाह, कुबेरसिंह राना, उपेन्द्रकान्त अर्याल, प्रकाश अर्याल, सर्वेन्द्र खनाल र ठाकुरप्रसाद ज्ञवालीले ज्ञापनपत्र बुझाएका हुन् ।

उनीहरूले पूर्ववर्ती सरकारको निर्णय यथाशीघ्र खारेज गर्न पनि माग गरेका छन् । यो निर्णय दूरगामी नकारात्मक असर पुर्‍याउने खालको भएकाले कार्यान्वयन हुन नहुने दाबी ज्ञापनपत्रमा छ ।

ओली नेतृत्वको सरकारले राष्ट्रपति कार्यालय विस्तार गर्न २०७५ भदौ २१ गते महाराजगञ्जस्थित नेपाल प्रहरीको एकेडेमी अन्यत्रै सार्ने र त्यसले चर्चेको ११४ रोपनी ३ आना जग्गा राष्ट्रपति कार्यालयको नाममा हस्तान्तरण गर्ने निर्णय गरेको थियो ।

उक्त निर्णय कार्यान्वयनका लागि प्रशासनिक आदेश भई प्रक्रिया अघि बढेको छ ।

काभ्रेको पनौतीमा प्रहरी एकेडेमी निर्माणको काम भारत सरकारको सहयोगमा अघि बढेको छ । व्यक्तिको सहज उपलब्धता र अन्य व्यवस्थापकीय दृष्टिकोणले पनि पनौतीमा निर्माण हुने प्रहरी प्रशिक्षण प्रतिष्ठानमा व्यवस्थापन गर्न अत्यन्त कठिन हुने नेपाल प्रहरीका पूर्वप्रमुखको भनाइ छ । ‘केवल आवासीय एवं आधारभूत प्रकृतिका प्रहरी प्रशिक्षण कार्यक्रमहरू सञ्चालनका लागि मात्र उपयुक्त देखिएको सो स्थानमा नेपाल राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको आधाभूत तथा आवासीय प्रशिक्षण महाशाखा स्थानान्तरण गर्न उपयुक्त हुने देखिन्छ,’ ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

एकेडेमी सदर पुलिस तालिम केन्द्रका रुपमा स्थापना भई हालको स्वरुपमा विकास भएको हो । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका रुपमा स्तरवृद्धि गरी नामाकरणसहितको स्मारक स्तम्भको विधिवत् उद्घाटन तत्कालीन गृहमन्त्रीको हैसियतमा अहिलेका प्रधानमन्त्री रहेका शेरबहादुर देउवाले गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + 9 =