लुम्बिनी प्रदेश : केन्द्रीय गठबन्धनअनुसारको सरकार गठनको कसरत, प्रदेश प्रमुखलाई बुझाए ४१ सांसदले हस्ताक्षर

काठमाडौं । लुम्बिनी प्रदेशका विपक्षी गठबन्धनका ४१ सांसदहरुले मुख्यमन्त्री शंकर पोखरेल अल्पमतमा रहेपनि सरकारमा बसिरहेको भन्दै प्रदेश प्रमुख अमिक शेरचनलाई हस्ताक्षर बुझाएका छन् । नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) लगायतका विपक्षी गठबन्धनका सांसदहरुले प्रदेश प्रमुख शेरचनलाई भेटेर हस्ताक्षर बुझाएका हुन् । कांग्रेस नेता फकरुद्धिन खानले मकालुखबरसँग भने, ‘स्पष्ट रुपमा उहाँ (शंकर पोखरेल) अल्पमतमा हुनुहुन्छ । तर, पनि सरकारमै हुनुहुन्छ । यसपछि हामीले यसो गरेका हौँ । यहीअनुरूपको कदम चालेका हौँ ।’

नेता खानकाअनुसार साढे १२ बजेतिर विपक्षी गठबन्धनले गत शुक्रबार मात्रै कार्यभार सम्हालेका प्रदेश प्रमुख शेरचनलाई बहुमत आफ्नो पक्षमा भएको भन्दै गठबन्धनबाट माओवादी केन्द्रका कुलप्रसाद केसी (सोनाम) लाई मुख्यमन्त्री बनाउन प्रस्ताव गर्दै हस्ताक्षर बुझाएका हुन् । ६८ (२)अनुसार आफूहरुले माग गरेको नेता खानले बताए । ‘हस्ताक्षर बुझाउँदै हामीले ६८ (२)अनुरूपको प्रक्रिया अगाडि बढोस् भनेर भनेका छौँ,’ नेता खानले भने, ‘यो प्रक्रिया अब चाँडै शुरु हुनेछ ।’

केन्द्रीय गठबन्धनअनुसारको सरकारको कसरत
प्रदेशमा केन्द्रमा बनेको गठबन्धनअनुसारको सरकार बनाउने कोसिसमा विपक्षी दलहरु छन् । यहीअनुरूप सांसदहरुले प्रदेश प्रमुखलाई हस्ताक्षर बुझाएका हुन् । ‘केन्द्रमा एकखाले गठबन्धन बनेको छ,’ नेता खानले भने, ‘यसपछि त्यसको प्रभाव स्वाभाविक रुपमा प्रदेशमा पर्ने भइहाल्यो । हामी यही कोसिसमा छौँ ।’

६८ (२) बमोजिम बहुमतीय प्रक्रिया शुरु हुने र त्यसमा विपक्षी गठबन्धन स्पष्ट बहुमतमा हुने नेता खानले दाबी गरे । ‘यो प्रक्रिया शुरु भएपछि हामी स्पष्ट बहुमतमा हुनेछौँ,’ नेता खानले भने, ‘अल्पमतमा हुँदा पनि सरकारमा बसिरहनु लोकतान्त्रिक हुँदैन ।’

विमला वली गठबन्धनतिरै
शुरुमा एमालेमा खुलेकी सांसद विमला वली पुनः गठबन्धनतिरै लागेकी छन् । सोमबार (आज) हस्ताक्षर बुझाउने ४१ सांसदमध्ये वली पनि एक हुन् ।

एक नेता वली एमालेमै भएपनि फरक नपर्ने दाबी गर्छन् । ‘यदि विमलाजी एमालेमै फर्किएको भए पनि हामीसँग ४० जनाको संख्या कायमै रहन्छ,’ एक नेताले मकालुखबरसँग भने, ‘मुख्यमन्त्री शंकर पोखरेलको पक्षमा बढीमा त्यही ३३/३४ जना सांसद रहन्छन् ।’
यसअघि वली एमालेमै फर्किएको चर्चा थियो । तर, आजको हस्ताक्षरबाट उनी विपक्षी गठबन्धनकै पक्षमा खुलेकी प्रष्ट भएको छ ।

पोखरेलको पक्षमा कति सांसद ?
यसअघि आफूविरुद्ध प्रदेश सभा सचिवालयमा दर्ता भएको अविश्वासको प्रस्ताव छल्न केही घण्टाका लागि राजीनामा दिएका पोखरेल सदनको ठूलो दलको हैसियतमा मुख्यमन्त्री बनेका थिए । दिउँसो राजीनामा दिएका पोखरेलले जसपाका ४ नेतालाई मन्त्री बनाएर आफ्नो पक्षमा बहुमट जुटाउँदै पुनः मुख्यमन्त्री बनेका थिए । यसपछि उनीहरुलाई जसपाले कारबाही गरेपछि पोखरेल झनै अल्पमतमा परेका हुन् ।

शुरुमा ८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा हाल माओवादी केन्द्रका २ सांसदलाई पार्टीले खाली गराएको छ । एमालेका २ सांसदले राजीनामा दिएका छन् । त्यसैले अहिले प्रदेश सभा ८३ सदस्यीय छ ।

वलीले माओवादी केन्द्र रोजेपछि ४२ सांसद रहेको एमाले अहिले ३८ सांसदमा खुम्चिएको छ । प्रदेश सभामा निर्वाचित मुख्यमन्त्री पोखरेलकै गाउँका एमाले संसद अमरबहादुर डांगीले राजीनामा दिइसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *