वेस्टइन्डिजमाथि पाकिस्तानको रोमाञ्चक जित

काठमाडाैँ । पाकिस्तान र वेस्टइन्डिज बिच जारी चार खेलको टी-२० सिरिजको दोस्रो खेलमा पाकिस्तानले ७ रनको रोमाञ्चक जित निकालेको छ । कप्तान बाबर आजमको अर्धशतकीय इनिङ तथा सुरूवाती क्रमको सुझबुझ पुर्ण इनिङ रक्षा गर्न सक्दा पाकिस्तानले पहिलो जित निकाल्यो ।

जितसँगै चार खेलको टी-२० सिरिजमा पाकिस्तानले १-० को अग्रता बनायो । पहिलो खेल वर्षाको कारण नजिता विहिन बनेको थियो । पाकिस्तानले पहिलो ब्याटिङ गर्दै १ सय ५७ रन बनाएको थियो । जवाफमा वेस्टइन्डिजले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ५० रनमात्र बनाउन सक्यो ।

वेस्टइन्डिजका विकेटकिपर ब्याट्सम्यान निकोलस पुरनले सर्वाधिक ६२ रन बनाएपनि टीमलाई जित दिलाउन पर्‍याप्त रहेन् । उनले ३३ बलमा ४ चौका र ६ छक्का प्रहार गरेका थिए । वेस्टइन्डिजलाई अन्तिम ओभरमा जितको लागि २० रन आवश्यक परेको थियो । तर उसले १३ रनमात्र जोड्न सक्यो ।

वेस्टइन्डिजका लागि ओपनर इभिन लुइसले ३५ रन बनाएर रिटायर्ड हर्ट (घाइते भएर पेभिलियन फर्कनु) भए । त्यस्तै क्रिस गेलले १६ रन जोड्दा सिम्रन हेटमेयरले १७ रन बनाएका थिए। कप्तान किरन पोलार्ड १३ रनमा आउट भए ।

पाकिस्तानका मोहम्मद हफिजले ४ ओभरमा १ मेडन सहित ६ रन खर्चेर १ विकेट लिए। हफिजले १९ बल डट राखेका थिए । तीव्र गतिका बलर शाहिन शाह अफ्रिदी, हसन अली र मोहम्मद वासिम जुनियरले समान एक-एक विकेट लिए ।

त्यसअघि गुयानाको प्रोविडेन्स स्टेडियममा टस हारेर ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ५७ रन बनाएको थियो । एक समय १६ ओभरमा १३४-२ को बलियो अवस्थामा रहेको पाकिस्तान अन्तिम २४ बलमा २३ रन जोड्दा ६ विकेट गुमाएपछि मध्यम योगफलमै समेटियो ।

पाकिस्तानका कप्तान बाबर आजमले ४० बलमा ४ चौका र २ छक्का सहित सर्वाधिक ५१ रनको योगदान दिए । त्यस्तै पाकिस्तानलाई ओपनर शर्जिल खान र मोहम्मद हफिजले ४.४ ओभरमा ४६ रन बनाउँदै राम्रो सुरुवात दिलाए ।

शर्जिले १६ बलमा २ चौका र १ छक्का सहित २० रन बनाए। रिजवानले ३६ बलमा समान २ चौका र २ छक्का प्रहार गर्दै ४६ रन बनाएका थिए । तेस्रो नम्बरमा ब्याटिङका लागि आएका कप्तान बाबरले ४० बलमा ४ चौका र २ छक्का प्रहार गर्दै ५१ रनको अर्धशतकीय इनिङ खेलेका थिए ।

त्यसपछि भने पाकिस्तान लङ सट खेल्न खोज्दा लगालग विकेट गुमाउन बाध्य भयो। उसको मध्य क्रम र पछिललो क्रम चल्न सकेन् । वेस्टइन्डिजका लागि जेसन होल्डरले ४ ओभरमा २६ रन खर्चेर ४ विकेट लिए। त्यस्तै ड्वेन ब्राभोले २ विकेट लिए । यि दुईबिचको तेस्रो खेल आइतबार हुने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *