किशोरवयका कथा समेट्दै गुलाबी संवाद

किशोरावस्थालाई जीवनकै संवेदनशील अवस्था मानिन्छ । शरीर र सोचाइ दुवैमा आउने परिवर्तनका कारण किशोरावस्थालाई जिन्दगीको चौबाटोमा उभिएको समय पनि भन्ने गरिन्छ । कता जाने भन्ने निर्क्यौल गर्न जीवनको यो समय धेरै हदसम्म निर्णायक हुने गरेको छ ।

विभिन्न अध्ययनले किशोरावस्थामा धेरै खालका कौतुहलता हुने र त्यस्ता कौतुहलता राख्ने उपयुक्त साथी वा अभिभावक वा ठाउँ नपाउने गर्नाले किशोरकिशोरीका मन र दिमागमा अनेकौँ समस्यासमेत पार्ने गरेको देखाएका छन् ।

कति किशोरकिशोरीको मनमा ‘बोझ’ बनेर रहेको प्रश्न र जिज्ञासा दबाएर राख्नुको साटो कतै पोख्ने निकास पाउन जरुरी हुन्छ । यस्तै सोचेर हुनुपर्छ सञ्चारकर्मी सविता आचार्य र करुणा देवकोटाले यी कथाहरू पस्कने ‘प्ल्याटफर्म’ तयार पारेका छन्- ‘गुलाबी संवाद ।’ शुरुमा ‘पडकास्ट’ को माध्यमबाट मात्र प्रशारण हुने गुलाबी संवाद अहिले थुप्रै रेडियो कार्यक्रमबाट पनि प्रसारण हुने गरेको छ ।

लकडाउनमा आएको आइडिया
आफूले भोगेका यस्तै रङ्गिन कथाहरुलाई समेटेर सविता र करुणा मिलेर गुलाबी संवाद कार्यक्रम चलाइरहेका छन् । पहिलो निषेधाज्ञाकालमा घरैमा बसिरहेका बेला उनीहरुलाई यो ‘आइडिया’ आएको हो ।

विद्यालयमा जाँदा कति शिक्षकले तपाईँहरू आएर यस्ता कार्यक्रम गर्दा हाम्रा विद्यार्थी बिग्रिए । अबदेखि आउने होइन । यौनजस्तो शब्द पनि कति सजिलै उच्चारण गरेको ? लाज लाग्दैन त्यस्तो शब्द उच्चारण गर्न ? तिमीहरूको घर परिवार छैनन् ? जस्ता प्रश्न पनि सोध्नुभयो । धम्किहरू पनि आए ।

‘घरमै बसिरहँदा केही त गर्नुपर्छ भन्ने सोच आयो‚ अनि हामीले सल्लाह गरेर गुलाबी संवाद शुरु गर्‍यौँ‚’ करुणा भन्छिन् । यसको कारण पनि छ । करुणा र सविता पहिलेदेखि नै युवासँग सम्बन्धित कार्यक्रममा आवद्ध थिए । त्यतिबेलादेखि नै केही फरक गर्ने योजना बनाइरहेका उनीहरुले गुलाबी संवादको पडकास्ट शुरु गर्ने निधो गरे ।

त्यसअघि उनीहरू किशोरकिशोरीको कुरा समेटेर ब्लग लेख्ने गर्थे । यसबाट केही हदसम्म किशोरवयका नागरिकले भोग्नुपरिरहेको हिंसाबारे थाहा पाउन सकिन्छ । कतै नपोखिएका कथाहरू पोखिन्छन् भन्ने आशा थियो उनीहरुको ।

सविता भन्छिन्, ‘सुरूमा हामी आफैँ युवापुस्ता र उनीहरूको कथा खोज्दै उनीहरूको अभिभावकसँग पनि कुरा गर्थ्यौँ । तर पछि युवा र अभिभावकले आफैँ हामीलाई कथाहरु पठाउन थाल्नुभयो । अनि हामीले आवाजद्वारा यसलाई स्रोतासमक्ष पुर्‍याउने भनेर पडकास्ट प्लाटफर्म रोज्यौँ ।’

एउटै रेडियो कार्यक्रममा काम गरेका सविता र करुणाले कार्यक्रम सञ्चालनका क्रममा नेपालका थुप्रै ठाउँ घुमेका छन् । त्यसक्रममा विद्यालयका किशोरकिशोरी र बालबालिकासँग कुरा गरेर धेरै कथा सुन्ने सुनाउने गरेका थिए । करुणा भन्छिन्, ‘हामीले बालबालिका र युवा पुस्तासँग कुरा गर्दा सबै कुरा निर्धक्क सेयर गर्नुहुन्थ्यो । तर जब कुरा यौन र प्रजनन स्वास्थ्यको आउँथ्यो अनि लजाउने आफ्ना कुरा लुकाउने क्रम शुरु हुन्थ्यो ।’

यौन शिक्षा, प्रजनन स्वास्थ्य, महिनावारीसँग सम्बन्धित कार्यक्रम चलाउँदै नेपालका विभिन्न ठाउँ र विद्यालय घुम्ने क्रममा धेरै तीतामिठा अनुभव बटुलिसकेका छन् उनीहरूले । करुणा सुनाउँछिन्, ‘विद्यालयमा जाँदा कति शिक्षकले तपाईँहरू आएर यस्ता कार्यक्रम गर्दा हाम्रा विद्यार्थी बिग्रिए । अबदेखि आउने होइन । यौनजस्तो शब्द पनि कति सजिलै उच्चारण गरेको ? लाज लाग्दैन त्यस्तो शब्द उच्चारण गर्न ? तिमीहरूको घर परिवार छैनन् ? जस्ता प्रश्न पनि सोध्नुभयो । धम्किहरू पनि आए ।’

दैलेखको एक विद्यालयमा स्वास्थ्य विषय पढाउने शिक्षकसँग यौन र प्रजनन स्वास्थ्यको कुरा नगर्ने शर्तमा कक्षामा प्रवेश गरी झ्यालढोका थुनेर कक्षा लिएको अनुभव पनि रहेको करुणाले मकालुखबरलाई बताइन् । विद्यार्थीले स्वास्थ्य पढाउने शिक्षकले यौन तथा प्रजननको पाठ कहिल्यै नपढाएको खुलाएका थिए ।

गुलाबी संवादलाई धेरैले मन पराउन थालेपछि अहिले किशोरकिशोरी र अभिभावकले समेत आफैँ कथा र जानकारीहरू दिन थालेका छन् ।

गुलाबी संवाद कार्यक्रममा यौन, प्रजननजस्ता किशोरकिशोरीका चासो र सरोकारका विषय सुन्न सकिन्छ । यस्ता कथा सुनाउनुको अर्थ अरू अरुले फेरि त्यस्तै शोषण भोग्नु नपरोस् भन्ने रहेको सविता बताउँछिन् । त्यसैले विद्यालयमा शिक्षकले विद्यार्थीलाई गर्ने गरेका यौन दुर्व्यवहारका कथासमेत गुलाबी संवादले समेट्ने गरेको उनको भनाइ छ ।

निकै दुःखका साथ कथाहरू खोज्ने‚ ल्याउने र समेट्ने गरेसँगै कार्यक्रम सुन्नेहरू पनि धेरै हुन थाले । गुलाबी संवादलाई धेरैले मन पराउन थालेपछि अहिले किशोरकिशोरी र अभिभावकले समेत आफैँ कथा र जानकारीहरू दिन थालेका छन् । यसरी कथा पठाउनेहरूको गोपनीयता राखेर प्रसारण गर्ने गरिएको छ ।

अहिले मोबाइल फोन र इन्टरनेटको पहुँच धेरै क्षेत्रमा पुगिसकेको तथा पडकास्ट सिरिज अफलाइन पनि सुन्न मिल्ने भएकाले सहज पनि रहेको करुणा बताउँछिन् ।

सविता सम्झिन्छिन्, ‘हामी दूर दराजका विद्यालयमा यौन शिक्षा, प्रजनन् स्वास्थ्य, महिनावारीलगायतका कार्यक्रम लिएर जान्थ्यौँ । यस्ता कक्षा सञ्चालन गर्दा सुरुमा त विद्यार्थी हाँस्ने, उडाउने र उल्टै हामीलाई नै बुलिङ गर्थे । तर कक्षा सकिने समयसम्ममा हामी उनीहरूलाई बुझाउन सफल हुन्थ्यौँ अनि गोपनीयता राखिदिने शर्तमा उनीहरु आफ्नो कथा हामीलाई सुनाउँथे । हामीले उनीहरूको कथाजस्ताको त्यस्तै स्रोतासमक्ष पुर्‍याउने भएकाले पनि कार्यक्रमप्रति विश्वास बढेको हो जस्तो लाग्छ ।’

पडकास्टमा बज्न थालेपछि रेडियोले पनि माग्न थाले
अहिले गुलाबी संवाद नेपालका ३० भन्दा बढी एफएम रेडियोमा प्रशारण हुन्छ । यो १५ मिनेटको कार्यक्रम हो । अहिले गुलाबी संवादको ३३ वटा भाग प्रशारण भइसकेको छ । गुलाबी संवाद रेडियोबाट प्रशारण गरेबापत उनीहरूले कुनै शुल्क तिर्नुपर्दैन । करुणा र सविताले खुसी व्यक्त गरे, ‘हाम्रो कार्यक्रम मन परेपछि रेडियो स्टेसनहरुले नै हामी बजाइदिन्छौं भन्ने प्रस्ताव गर्नुभयो । रेडियोमा नै काम गरेको हुनाले हामीले र हामीलाई चिन्नेहरू पनि हुनुहुन्थ्यो त्यसले पनि केही सहज भयो ।’

किशोर-किशोरीले आफ्नो जिज्ञासा र प्रश्नको जवाफ खोज्न र आफूमाथि भइरहेका यौन दुर्व्यवहारबारे थाहा पाउन पनि गुलाबी संवाद सुन्नु उपयोगी हुनेछ । यसका साथै यौन शिक्षा, प्रजनन् स्वास्थ्यलगायतबारे पढाउने शिक्षकलाई गुलाबी संवादले धेरै कुरा सिकाउनेछ ।

कार्यक्रम धेरैले मन पराएका र धेरै रेडियोले निःशुल्क प्रसारण गरिदिएकाले पनि गुलाबी संवाद कार्यक्रम उत्पादनलगायतको आर्थिक पाटो भने करुणा र सविता स्वयंले नै व्यहोरिरहेका छन् । सविता भन्छिन्, ‘हामीले हाम्रो आर्थिक अवस्था सुधार गर्न वा कमाउन भनेर यो कार्यक्रम सुरु गरेका होइनौँ । हामीलाई यसबाट आर्थिक लाभ छैन र कुनै दाताको सहयोग पनि छैन । तर कार्यक्रम धेरैजनाले मन पराइदिँदा र यसले हामीलाई सहयो गरेको छ भन्दा धेरै खुसी लाग्छ ।’

करुणा र सविताले कार्यक्रम बनाउने योजना बनाउँदा यति समयका लागि यति बजेटले पुग्ला भनेर खर्चको जोहो र व्यवस्थापन गरिसकेका थिए । अबचाहिँ त्यो बजेट सकिन लागेकाले कार्यक्रम कसरी अगाडि बढाउने भन्नेबारे थप योजना बनाइरहेको उनीहरुले बताए । अबका कार्यक्रममा लैङ्गिक समानता र मानसिक स्वास्थ्यको विषयलाई उठाउने योजना रहेको करुणाले बताइन् ।

किन सुन्ने गुलाबी संवाद ?
किशोर-किशोरी जसलाई यौन शिक्षा, प्रजनन् स्वास्थ्य, महिनावारीजस्ता अवस्थामा आउने परिवर्तनहरू थाहा छैन र जान्न मन भएकाहरूका लागि गुलाबी संवादले धेरै कुराको जानकारी दिनेछ । प्रजनन् स्वास्थ्य र यौन शिक्षाको बारेमा बुझाव गलत भएमा त्यसले झन् विकृति आउने, खराब गतिविधिमा संलग्न हुने सम्भावना बढ्ने भएकाले अभिभावकहरूका लागि पनि यसले धेरै कुराको जानकारी दिने स्वयं अभिभावकहरूले बताउने गरेका छन् ।

किशोर-किशोरीले आफ्नो जिज्ञासा र प्रश्नको जवाफ खोज्न र आफूमाथि भइरहेका यौन दुर्व्यवहारबारे थाहा पाउन पनि गुलाबी संवाद सुन्नु उपयोगी हुनेछ । यसका साथै यौन शिक्षा, प्रजनन् स्वास्थ्यलगायतबारे पढाउने शिक्षकलाई पनि गुलाबी संवादले धेरै कुरा सिकाउनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *