कतारमा पहिलो पटक व्यवस्थापिकाको चुनाव हुँदै, ३० निर्वाचन क्षेत्र चयन

काठमाडौँ । कतारले व्यवस्थापिकाको ऐतिहासिक चुनाव गर्ने भएको छ । चुनाव आगामी अक्टोबर (असोज/कात्तिक)मा हुने भएको हो ।

 कतारका आमिर शेख तामिन बिन हमाद अल थानीले बिहीबार यस सम्बन्धी कानून पारित गरेसँगै चुनावी बाटो खुलेको हो । कतारी टेलिभिजन च्यानल अलजजिराका अनुसार व्यवस्थापिकाको दुई तिहाइ सदस्य चुनावबाट चुनिनेछन् । चुनावका लागि कतारका ३० जिल्लालाई एक एक निर्वाचन क्षेत्र चयन गरिएको छ ।

बाँकी एक तिहाइ आमिरले मनोनित गर्नेछन् । निर्वाचित र मनोनित दुवैको सेवा सुविधा र अधिकारी भने एकै रहने बताइएको छ । सुरा काउन्सिल भनिने व्यवस्थापिकाको पूर्ण संख्या ४५ जनाको हुनेछ । सुरा काउन्सीलको चुनाव हुनुको अर्थ वृहत नागरिक सहभागीतामा राज्यका नियम कानुन बताएको कतारी संस्थापनले बताएको छ ।

१८ वर्ष उमेर पुगेका र कतारमै हजुरबुबा जन्मिएका नागरिकहरुले मतदान गर्न पाउनेछन् । उम्मेदवारको हकमा भने कतारी मुलको भएसँगै ३० वर्ष उमेर पुगेको हुनुपर्नेछ । चुनावी अभियानले २० लाख रियाल (६ करोड नेपाली रुपैयाँ हाराहारी)भन्दा धेरै खर्च गर्न नपाउने नियम बनाएको बेलायती समाचार एजेन्जी रोयटर्सले उल्लेख गरेको छ । २७ लाख जनसंख्या भएको कतारमा १० प्रतिशत मात्रै कतारी नागरिकहरु रहेका छन् ।

सन २०२२ को विश्वकप आयोजना गर्ने तयारीमा रहेको कतारले धेरै लोकतान्त्रिक पद्धतिहरुमा सुधार गर्न थालेको छ । कताले आप्रवासी कामदारहरुलाई यातना दिइने काफला प्रणालीसमेत सन २०२० को सेप्टम्बरमा धेरै हदसम्म हटाएको छ । व्यवस्थापिका चुनावपनि विश्वकप अगाडि कतार लोकतान्त्रीक देश भएको देखाउन गरिएको राष्ट्रिय तयारीको रुपमा बुझ्न सकिन्छ ।

सन १९७१ को सेप्टेम्बर ३ मा स्वतन्त्र देश भएको कतारले आधा शताब्दीपछि मात्रै पहिलो व्यवस्थापिका चुनावको तयारी थालेको छ । यसले धेरैको ध्यान तानेको छ । -एजेन्सी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *