अर्थमन्त्री शर्मालाई बर्खास्त गर्न माग

काठमाडौँ । जातीय विभेदविरुद्ध राष्ट्रिय अलायन्सले अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरलाई बर्खास्त गर्न माग गरेको छ । नवराज विक हत्याकाण्डका दोषीलाई संरक्षण गरेको आरोप लगाउँदै अलायन्सले मन्त्री शर्मालाई बर्खास्त गर्न माग गरेको हो ।

अलायन्सले अपराधीको पक्षमा बोलेकामा सार्वजनिक माफी माग्नुपर्ने, मृतकहरुलाई शहीद घोषणा गर्नुपर्ने, पीडित परिवारलाई रोजगारी र गाँसबाँसको व्यवस्थासहितको ३ बुँदे मागसमेत राखेको छ । नवराज विकसहित ६ जना दलित युवाहरुको निर्मम हत्या हुँदा पनि मन्त्री शर्माले दोषीलाई कारबाही गर्नुको सट्टा जोगाएको उनीहरुको आरोप छ ।

पत्रकार सम्मेलन गर्दै अलायन्सका संयोजक डा. मित्र परियारले नेताहरु सत्ता, पद र व्यक्तिगत स्वार्थको लागि लिप्त भएको आरोप लगाए । उनले भने, ‘नेताहरुको व्यक्तिगत स्वार्थले गर्दा आज निर्दोष नवराज लगायत ६ जना युवाका परिवारले न्याय पाउन सकिरहेका छैनन् ।’ डा. परियारले सर्वोच्च अदालतले न्याय दिनेमा आशावादी भएको समेत बताए ।

कार्यक्रममा बोल्दै अर्का संयोजक दलमर्दन कामीले जातिय विभेदविरुद्ध लाग्नुपर्ने जिम्मेवार व्यक्ति अर्थमन्त्री जनादर्न शर्माले हत्यारालाई संरक्षण गरेको बताए । उनले शर्माले जिम्मेवार पदमा बस्ने नैतिक हैसियत नराख्ने जिकिर गरे । उनले भने, ‘तुरुन्तै बर्खास्त गरी कानुनी शासनको प्रत्याभुति गराउनुपर्छ ।’

उनले शर्माले हत्याराको पक्षमा बोलेको भन्दै आपत्ति जनाए । ‘जनार्दन शर्मा जस्ता अपराधीका कुख्यातले सत्ता र शक्तिकै दम्भ देखाएर हत्याराको संरक्षण गरिरहेका छन्,’ उनले भने ।

विवादित व्यक्तिलाई देउवा सरकारमा नियुक्त हुँदा दलित, शिल्पी समुदायले अपमान महसुस गरेको बताए । उनले नवराज बिक लगायतको जातिय हिंसाले अन्तराष्ट्रिय बेइज्जती भएको बताए । उनले सर्वोच्चमा विचाराधिन मुद्दामा पीडित पक्षले न्याय नपाउने खतरा बढेर गएको समेत उल्लेख गरे ।

अलायन्सका अर्का संयोजक चन्देश्वर दासले दलित समुदाय तिरस्कृत मानिसको व्यक्तिगत दुस्मनीले नभएर धर्मको कारण भएको जिकिर गरे । उनले भने, ‘जे जति सामाजिक घट्ना भएका छन्, ती सबै धार्मिक कारणले भएका छन् ।’

उनले माओवादीले आफ्नो सरकार आएपछि जातिय विभेद हट्ने भनेर जनतालाई झुक्याएको समेत आरोप लगाए । उनले भने, ‘माओवादीले विभेद हटाउँछौ भनेर पछि आँफंैले दमन गर्दै आएको छ।’ देशमा हत्यारालाई पुरस्कृत गरिएको आरोप लगाउदै अहिले हत्याराको एउटा संरक्षक जनार्दन शर्मा अर्थमन्त्री भएको उल्लेख गरे । उनले थपे, ‘अब अर्का संरक्षक मातृका यादवपनि मन्त्री बन्दैछन् रे ।’

यस्तै, अलायन्सकै संयोजक कमला हेमचुरीले जबसम्म शोषित वर्ग समूह एकजुट हुँदैनन्, तबसम्म दलित आन्दोलन सफल नहुने बताइन् । माओवादीका नेताले गरेको हर्कतले आज सत्तामोह वा जनताको मुक्तिको लागि लडेको हो भन्ने अन्यौल सिर्जना गरेको उनको भनाइ छ । उनले जात प्रथाले समाजमा ल्याएको विभाजन र त्यसको अन्त्य गर्न आफूहरुले अलायन्सको गठन गरेको पनि स्पष्ट पारिन् । दलित–दलितबीच भएको खाडल मेटेमात्र आन्दोलन सफल हुने उनको भनाई थियो ।

गतवर्ष रुकुम पश्चिमको चौरजहारी नगरपालिकाको सोती गाउँमा भएको घटनामा जाजरकोटका नवराज विकसहित उनका पाँच जना साथीहरुको हत्या भएको थियो । तर, घटनामा प्रहरीको फितलो अनुसन्धान र राजनीतिक दलहरुको संरक्षणका कारण दोषीले अहिलेसम्म पनि सजाय पाउने अवस्था बनेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *