ओलम्पिक आयोजनाको खर्चले पिरोलियो जापान

काठमाडाैँ । शक्ति राष्ट्रका लागि अहिले आफ्नो क्षमता, रवाफ तथा समृद्धि देखाउने अनेकन प्रयास हुन्छ । तर विश्व मञ्चमा सर्वस्वीकार्य र संसारको नजार तान्ने भनेको विश्वकप फुटबल र ओलम्पिक आयोजना नै हो । आयोजकले आफ्नो देशको रवाफ देखाउने मञ्चका रुपमा ओलम्पिकलाई प्रयोग गर्दै आएका छन् । अझ २००० यतात ओलम्पिक आयोजना भनेको कतिधेरै प्रतिष्ठाको विषय बन्छ भन्ने प्रमार्णित हुँदै आएको छ ।

तर कहिलेकाँही नसोचेको समस्याले गाँज्दा आयोजना गलपासो बन्छ । पछिल्लो समय टोक्यो ओलम्पिक आयोजक जापानका लागि त्यस्तै बन्यो । कोरोना महामारीका कारण तोकिएको समय भन्दा १ वर्ष ढिला प्रतियोगिता आयोजना हुँदा बढेको खर्चको भार एकातिर रहँदा अर्को तर्फ जनस्तरबाटै ओलम्पिकको तीव्र आलोचना भयो । जुन क्रम अझै रोकिएको छैन् ।

यद्यपि अहिले विश्वभरबाट जापान भेला भएका हजारौं खेलकर्मी पदकका लागि प्रतिस्पर्धामा छन् । चीन, जापान, अमेरिका, पदक तालिकाकाे शीर्ष स्थानका लागि प्रतिस्पर्धामा छन् । तर यो पटक आयोजक जापानका लागि भने ओलम्पिक आयोजना देशको अर्थतन्त्रमा नै असर गर्न सक्ने दाबी गरिएको छ । विभिन्न रिपोर्टहरुमा अत्याधिक मात्रामा बढेको खर्चले जापानलाई तनाब थोपरेको छ ।

ओलम्पिक जस्तो मँहगो खेल आयोजनामा दर्शकविहीन प्रतियोगिता तथा पर्यटनमा परेको असर र कोरोना महामारीको चपेटासँग जापान जुधिरहेको छ । टोकियो ओलम्पिकमा कडा स्वास्थ्य प्रोटोकलका कारण यो पटकको टोकियो ओलम्पिकको बजेट पनि अत्याधिक बढेको छ । साथै समग्र खर्चमा समेत बढोत्तरी भएको छ ।

कोरोनाका कारण एकवर्ष प्रतियोगिता धकेलिंदा जापानले २.८ बलियन डलर अतिरिक्त खर्च बेहोर्नु परेको रिपोर्टहरुमा जनाइएको छ । जसमा दुई तिहाइ भन्दा बढि खर्च पब्लिक फन्डिङ मार्फत गर्नु परेको छ । जापानका अनुसार यो खर्च पहिलेबाटै अधिक मानिएको थियो । सन् २०१३ मा जापानको राजधानी टोकियोमा ओलम्पिक आयोजनाको अनुमति दिइएको थियो । त्यतिबेला ७.३ बिलियन डलर खर्च हुने अनुमान गरिएको थियो । तर अहिलेसम्म आईपुग्दा ४ गुणा बढी खर्च हुने अबस्थामा आएको जापानि सञ्चारमाध्यामले दाबी गरेका छन् ।

त्यसो त २०१९ मा नै ७.३ बिलियन खर्च संसोधन गरेर १२.६ बिलियन डलर पुग्ने अनुमान गरिएको थियो । जपानको नेशनल अडिट बोर्डका अनुसार जापान ओलम्पिकको अन्तिम लागत २२ अर्ब डलर भनिएपनि पुग्ने सम्भावना कमजोर रहेको छ । जापानी आर्थिक समाञ्चारपत्र निक्ककेइ तथा असाहीको दाबी मान्ने हो भने ओलम्पिकको अन्तिम लागत २८ बिलियन डलर हुने छ । २०१६ मा अक्सफोर्ड विश्वविद्यालयले गरेको एक शोधमा हरेक पटक आयोजना भएको ओलम्पिकमा खर्च बढी रहेको छ । १९७६ मा जति अनुमान गरिएको थियो । त्यो भन्दा ७२० प्रतिशत अधिक बजेट खर्च भएको थियो ।

१९९२ को बार्सिलोनामा भएको ओलम्पिकमा तय भएको भन्दा ७६ प्रतिशत बढी खर्च गरिएको थियो । २०१२ को ओलम्पिकमा १५ बिलियन डलर खर्च भएको थियो । जहाँ २०१६ को रियो ओलम्पिकमा ३५२ प्रतिशत बढी लागत आएको थियो । रियो ओलम्पिकमा कुल १३.७ बलियन डलर खर्च गरिएको थियो । टोक्यो ओलम्पिक ८ अगस्टसम्म चल्ने छ । अक्सफोर्डको रिपोर्ट अनुसार प्रतिष्ठा आर्जनका लागि गरिने यो खर्च साँचिकै एतिहासिक रुपमा बढिरहेको छ । युनिभर्सिटीका अनुसार १९६० पछि ओलम्पिकको अनुमानित लागत १७२ प्रतिशतले बढेको छ ।

२०१४ मा रुसको सोचीमा भएको विन्टर ओलम्पिकमा २८९ प्रतिशत बढि खर्च भएको थियो । त्यतिबेला २१.९ बिलियन डलर खर्च गरिएको थियो।  यो पटकको अन्तिम खर्च विवरणहरु आउन बाँकी छ । तर विभिन्न अध्ययनले ओलम्पिकको महत्व बढेसँगै आयोजनाको खर्च उल्लेख्य बृद्धि हुँदै जानु चिन्ताको विषय भएको जनाइएको छ ।

तस्बिर सौजन्य : टोक्यो ओलम्पिक २०२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *