टर्दैछ कांग्रेसको १४ औँ महाधिवेशन !

काठमाडौँ । मुलुकको सबैभन्दा पूरानो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेस यतिबेला आफ्नो महाधिवेशन कहिले र किन गर्ने ? भन्ने सन्दर्भको बहसमा छ । छ महिना अघि नै घोषणा गरिएको कार्यतालिकाअनुसार तल्ला तहमा महाधिवेशन भइसक्नुपर्ने हो । यसबीचमा पटक-पटक कार्यतालिका फेरबदल भयो । तैपनि महाधिवेशन सुरु हुनु त टाढाको कुरा, कांग्रेसले आफ्नो सदस्यताको सूचीसमेत टुंगो लगाउन सकेको छैन ।

बरु उल्टै नेताहरु क्रियाशील सदस्यतामाथि बखेडा झिकेर महाधिवेशन टार्ने खेलमा लागेका छन् । नेताहरुलाई महाधिवेशन समयमा गर्ने भन्दा पनि महाधिवेशन आफ्नो फाइदामा छ कि छैन ? भन्ने चिन्ताले सताएको प्रष्ट हुन्छ । त्यही चिन्ताका कारण चार वर्षमै हुनुपर्ने महाधिवेशन साढे पाँच वर्षमा पनि नगरेर आफु अनुकुल हुने गरी थप लम्ब्याउने चाहना नेताहरुमा देखिएको छ ।

केन्द्रीय क्रियाशील सदस्यता छानविन समितिले क्रियाशील सदस्यता सम्बन्धी प्रतिवेदन मंगलबारै सभापति शेरबहादुर देउवालाई बुझायो । पार्टीका सबै गुटका प्रतिनिधि सम्मिलित प्रतिवेदन पढेपछि बुधबार बसेको बैठकमा नेताहरुलाई लाग्यो, त्यो प्रतिवेदनमाथि अझै छलफल र सहमति जुटाउन आवश्यक छ । त्यसैले विहीबार दिउँसो २ बजेसम्मको समय दिएर प्रतिवेदनमा पुनः संशोधन गर्नुपर्ने विषयहरु समेटेर ल्याउन समितिलाई जिम्मा दिइएको छ ।

बैठकमा प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलसहित शीर्ष नेताहरु कसैले पनि महाधिवेशन तोकिएकै मितिमा गर्न नसकिने, सार्नुपर्ने वा विकल्प खोज्नुपर्ने विषयमा बोलेनन् । नेताहरुले महाधिवेशन तोकिएकै समयमा गर्नुपर्ने रटान लगाए । तर, तोकिएको समयमा महाधिवेशन गर्नका लागि गर्नैपर्ने काममा देखिएका विवादहरुमा नेताहरुको न स्पष्टता छ, न त लचकता नै । छानविन समितिले सहमति जुटाइसकेको क्रियाशील सदस्यताको विषय पदाधिकारी र पूर्वपदाधिकारी तहमा पुगेर झन् पेचिलो किन बन्यो ? छानविन समितिकै एक सदस्य भन्छन्, ‘नेताहरुले दिएको मापदण्डअनुसार हामीले काम गर्‍याैँ । अहिले त्यही विषयमा फेरि छलफल गर्नुको के अर्थ ? यहाँ त कसरी बखेडा बढाउन सकिन्छ भनेर लागिपरेको देखिन्छ ।’

ती नेताका अनुसार सभापति र वरिष्ठ नेता दुवैलाई थाहा छ, अब भदौमा महाधिवेशन सम्भव छैन । तर, दुवै नेता महाधिवेशन गर्न सकिएन भन्दा पर्न सक्ने क्षति बेहोर्न तयार छैनन् । बुधबारको बैठकमा सभापति देउवाले १४ औँ महाधिवेशनको मिति हेरफेर गर्न नमिल्ने बताए । ‘तल्ला तहको अधिवेशन हेरफेर गर्नुस् । तलमाथि पार्नुस् । जे गर्नुस् । मिलाउनुस् । तर, भदौको १६ लाई १७ मात्रै पनि बनाउन मिल्दैन । त्यो मितिमा केन्द्रीय महाधिवेशन गर्नैपर्छ,’ देउवाले भने, ‘महाधिवेशन भदौको १६ देखिनै हुन्छ, हुन्छ, हुन्छ ।’ देउवाको बोलीमा सधैँ अड्को थाप्ने देउवा बुधबार उनको समर्थनमा देखिए । पौडेलले भने, ‘महाधिवेशनको विषयमा सभापतिजी प्रतिवद्ध हुनुहुन्छ । त्यसैगरि तयारीका विषयमा पनि प्रतिवद्ध हुनुपर्‍याे । समयमै महाधिवेशन गर्नुपर्‍याे ।’

बुधबारको बैठकमा देउवाले क्रियाशील छानविन समितिले पारित गरेको प्रतिवेदन स्वीकार गरेर अब अघि बढ्नुपर्ने भनेका थिए । तर, पौडेलले प्रतिवेदनमाथि थुप्रै कुराहरु छलफल गर्नुपर्ने बाँकी रहेको भन्दै अड्को थापे । ‘क्रियाशील सदस्यताको विषयमा समितिका सदस्यहरुले प्रतिवेदनमाथिको राय बाझिएको छ । क्रियाशीलमै अनियमितता भएको छ । मिलेको छैन । तथानाम तरिकाले क्रियाशील बाडिएको छ । जसलाई पायो, त्यसलाई क्रियाशील सदस्यता दिइएको छ,’ उनले भनेका थिए, ‘फेरि एकपटक प्रतिवेदनमाथि छलफल गर्नुपर्छ ।’ पौडेलका कुरा सुनेपछि देउवा रिसाएका थिए । ‘तपाईहरु सिरियस देखिनुभएन । छानविन समितिले मिलाएर ल्याएको कुरामा हामीले के मिलाउने ?,’ बैठकमा देउवाले रिसाउदै भनेका थिए ।

कांग्रेसको महाधिवेशनअन्तर्गत वडा, पालिका, प्रदेशसभा क्षेत्रीय कार्यसमिति, प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति, जिल्ला कार्यसमिति, प्रदेश कार्यसमिति र केन्द्रीय कार्यसमिति गरी सात तहको अधिवेशन गर्नुपर्छ । यी सबै सात तहको अधिवेशनका लागि निर्वाचन समितिले ५३ दिनको समयावधि मागेको छ । जबकि केन्द्रीय महाधिवेशन हुनका लागि अब ३५ दिनमात्रै बाँकी छ ।

कांग्रेसले भदौको १६ देखि १९ गतेसम्म काठमाडौँमा केन्द्रीय महाधिवेशन गर्ने गरी १२ साउनदेखि तल्ला तहको अधिवेशन गर्ने कार्यतालिका बनाएको थियो । तर, क्रियाशील सदस्यताको टुंगो नलाग्दा वडा तहको अधिवेशन रोकिसकेको छ । त्यहीकारण अब पालिका, प्रदेश र प्रतिनिधिसभा क्षेत्रको अधिवेशन समेत प्रभावित भइसकेको छ । समयमै अधिवेशन गर्न नसक्ने परिस्थितिमा शीर्ष नेताहरुको महाधिवेशन गर्नैपर्ने अडानकै कारण नियमित महाधिवेशन टर्दै गएको नेताहरु बताउँछन् ।

केन्द्रीय सदस्य गुरुराज घिमिरेको बुझाईमा अब नियमित महाधिवेशन टर्दैछ । ‘नेताहरुको बुझाइ हेर्दा तत्काल नियमित महाधिवेशन हुने जस्तो देखिदैन । बाहिर भन्ने र गर्ने कुरा फरक छन् । यस्तो बेला समयमै महाधिवेशन हुन्छ ? भनेर कसरी पत्याउने ?’

अर्का एक केन्द्रीय सदस्यले नेताहरु बोलीमा महाधिवेशनका लागि तयार भएपनि प्रवृत्तिगत रुपमा महाधिवेशनका लागि तयारी नभएको गुनासो गर्छन् । ‘दुवै नेताहरुको एउटै कुरा छ, तोकिएकै मितिमा महाधिवेशन गर्नुपर्छ भनिरहनुभएको छ । तर, क्रियाशील सदस्यतामा देखिएको विवादमा दुवै पक्ष लचिलो छैन । कार्यतालिका प्रभावित भइसकेको छ, यस्तो बेला महाधिवेशन तोकिएकै मितिमा हुन्छ भनेर कसरी पत्याउने ?,’ ती नेताले भने ।

बुधबारको बैठकमा देउवाले जसरी पनि महाधिवेशन भदौमै हुने बताएपछि एक नेताले अब कसरी महाधिवेशन हुन्छ ? भनेर प्रश्न गरेका थिए । ‘निर्वाचन समितिले ५३ दिन चाहिन्छ भनेको छ । तर, अब ३५ दिनमात्रै छ । क्रियाशीलको टुंगो लागेको छैन । अब कसरी महाधिवेशन हुन्छ ? कार्यक्रम दिनुहोस्,’ ती नेताको प्रश्न थियो । तर, जवाफमा देउवा रिसाएमात्रै ।

देउवानिकट एक नेताका अनुसार अहिले देउवा साँच्चिकै महाधिवेशन गर्नैपर्छ भन्ने अडानमै छन् । देउवाले भदामै महाधिवेशन भए वैधानिकता बचाउन सहज हुने विश्वास र पार्टीमा आफुलाई सभापति बन्न कसैले पनि रोक्न नसक्ने आकलन गरेको ती नेताको दाबी छ ।

‘हामी त जसरी पनि महाधिवेशन गर्नुपर्छ भन्ने पक्षमा छौँ । क्रियाशील टुंगिएको १० देखि १५ दिन भए वडाको अधिवेशन गराउन सकिन्छ भनेर निर्वाचन समितिले भनेको छ । यस्तो बेला २० गतेसम्म क्रियाशीलको टुंगो लागेपनि भदौको ५ गतेभित्र वडा अधिवेशन गराउन सकिन्छ,’ ती नेताले भने, ‘त्यसपछि निरन्तर गर्दा भदौको मसान्तसम्म केन्द्रीय महाधिवेशन गर्न सकिन्छ ।’

क्रियाशील सदस्यता र महाधिवेशनको तयारीका विषयमा विहीबार पुनः पदाधिकारी तथा पूर्वपदाधिकारीहरुको बैठक बस्दैछ । बैठकमा क्रियाशील सदस्यता छानविन समितिले प्रतिवेदनमा मिलाउनुपर्ने कुरा थपेर त्यो बुझाउनेछ ।

प्रतिवेदनमाथि देखिएका थप विवाद समाधानका लागि नेता कृष्णप्रसाद सिटौला, डा.मिनेन्द्र रिजाल र रमेश लेखक सदस्य रहेको छुट्टै कार्यदल बनाइएको छ । सिटौलाले सभापति र वरिष्ठ नेतासहित बसेर आफुहरुले समस्या समाधान गर्न सक्ने बताएका छन् । ‘हामी अध्ययन गरेर एउटा निष्कर्षमा पुग्छौँ । त्यसमा सभापति र वरिष्ठ नेताजी पनि बसेर टुंगोमा पुगौँला,’ सिटौलाले भनेका थिए ।

क्रियाशील सदस्यताको विवादले महाधिवेशन अन्योलमा पर्दै गर्दा प्रवक्ता विश्वप्रकाश शर्माले पनि अहिल्य महाधिवेशन नहुने संकेत प्रष्ट गरिसकेका छन् । बुधबारको बैठकपछि शर्माको अभिव्यक्ति थियो, ‘देशव्यापी रुपमा कोरोनाको संक्रमणको बास्तविक ग्राफ के छ ? जिल्लाका साथीहरुको भनाइ के छ ? भन्ने लगायत सबै कुरालाई मध्यनजर गरेर महाधिवेशनका बारेमा टुंगोमा पुग्छौँ ।’ प्रवक्ता शर्माले अहिले भदौ १६ को विकल्पमा छलफल नभएको समेत दाबी गरेका थिए ।

तर, नेताहरुको भनाइ र गराईमा एकरुपता नहुँदा महाधिवेशन टर्दै गएको छ । आसन्न महाधिवेशनका लागि केन्द्रीय क्रियाशील सदस्यता छानविन समितिले मंगलबार करिब डेढ महिनासम्म गौशालाको धर्मशालामा बसेर देशभरका आठ लाख ५२ हजार ७११ जना क्रियाशील सदस्यको नामावलीसहित समितिले गरेको कामको प्रगति प्रतिवेदन बुझाएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *