नागरिकता विधेयकबारे सांसदले तताए संसद

काठमाडौं । संसदमा अड्किएर रहेको नागरिकता विधेयकलाई लिएर सांसदहरुले संसद तताएका छन् ।

मंगलबार प्रतिनिधिसभाको शून्य र विशेष समयमा बोल्दै सांसदहरुले लामो समयदेखि नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक संसदमै अड्किएर रहेकोमा संसद र सरकारको ध्यानाकर्षण गराएका हुन् ।

२०७५ सालको साउन ४ मा प्रतिनिधिसभामा पेश भएको नागरिकता ऐन संशोधन विधेयक अझैसम्म पारित हुन सकेको छैन । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले विधेयकमाथि दफावार छलफल सकेर विधेयकको प्रतिवेदन हाउसमा पेश गरिसकेको छ । तर, विधेयकको प्रतिवेदनमाथि दलहरुले असहमति राखेका कारण अगाडि बढ्न सकिरहेको छैन । यहिबेला सांसदहरुले संसद र सरकारको ध्यानाकर्षण गराएका हुन् ।

मंगलबारको बैठकको विशेष समयमा बोल्दै जनता समाजवादी पार्टी (जसपा)का सांसद प्रमोद साहले नागरिकता विधेयक सर्वसम्मतिबाट पास गरिनुपर्ने र त्यो वातावरण बनेको आफूले पाएको दाबी गरे ।

‘एमालेका साथीहरू संसदीय समितिमा जतिखेर (दफावार छलफल हुँदा) घोर विरोध गरिराख्नुभएको थियो । उहाँहरुकै दलको सरकारले अध्यादेशै ल्याएर पास गर्न खोजेको थियो‚’ साहले भने, ‘जसले नागरिकता पाइसकेको छ । उसका सन्तानलाई नागरिकता दिन एमालेले पनि चाहेको देखिन्छ । त्यसकारण अब नागरिकता विधेयक सर्वसम्मतिबाट पास गरौं ।’

राज्य व्यवस्था समितिले पास गरेको नागरिकता विधेयकको प्रतिवेदनमा वैवाहिक अंगीकृत नागरिकता ७ वर्षपछि मात्रै पाउनसक्ने प्रावधान छ । विदेशी बुहारीले ७ वर्षपछि मात्रै नेपाली नागरिकता प्राप्त गर्न सक्ने र त्यस अवधिसम्मको लागि आवासीय अनुमतिपत्र दिने व्यवस्था छ ।
सांसद साहले ७ वर्षे प्रावधानको भने विरोध गरे ।

‘प्रतिवेदनमा वैवाहिक अंगीकृतका लागि ७ वर्षको प्रावधान छ । भारतमा ७ वर्षको प्रावधान भएर यहाँ पनि राखिएको भन्ने तर्क सुनिन्छ । भारतमा आधार कार्ड भए पुग्छ । त्यहाँ नागरिकता नै छैन भन्दा पनि हुन्छ‚’ उनले भने, ‘७ वर्ष पछाडि शुद्ध कसरी हुन्छ ? राष्ट्रवादी कसरी हुन्छ ?’

नागरिकता विधेयक संसदमा अड्किँदा जन्मको आधारमा नागरिकता लिएका सन्तानहरू अनागरिक भएर रहन बाध्य भएको भन्दै उनले सरकार र सदनको ध्यानाकर्षण गरे । ‘जन्मको आधारमा नागरिकता पाएकाहरूको सन्तान कहिले यो देशको नागरिक हुने ?’ उनले प्रश्न गरे ।

जन्मको आधारमा नागरिकता लिएका परिवारको अर्को सदस्यले ३१ वर्ष पुग्दा समेत नागरिकता नपाएको जान्दा पनि नागरिकता विधेयक पास गर्न नसकिएको उल्लेख गर्दै उनले थपे, ‘एउटा भाइ र अर्को भाइले नागरिकता पाएको छ‚ अर्को बहिनी र भाइले पाएको छैन । के जन्मको आधारमा नागरिकता दिएका सन्तानलाई नागरिकता नदिने ? गैरनागरिक बनाएर राख्ने ?’

प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसद लालबाबु पण्डितले नागरिकता विधेयक जतिसक्दो छिटो पास गर्नुपर्ने बताए । ‘संसदमा अड्किएको धेरै भयो, अब नागरिकता विधेयक सहज रुपले छिटो पास गरौं‚’ पण्डितले भने ।

नेकपा माओवादी केन्द्रकी सांसद इन्दु शर्माले पनि नागरिकता विधेयक संसदबाट पास नहुँदा धेरै नागरिकहरु अनागरिक भएर रहनुपरेको भन्दै जतिसक्दो छिटो विधेयक पास गरिनुपर्ने बताइन् । ‘यो सदनमा पेश भएको नागरिकता ऐन संशोधन विधेयकको प्रतिवेदन छिटोभन्दा छिटो सर्वसम्मतिले पास गरियोस्‚’ उनले भनिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *