आयरल्यान्ड पराजित हुँदा नेपालको टी-२० वरीयतामा सुधार

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टीमको टी-२० वरीयता सुधार भएको छ । टेस्ट टोली आयरल्यान्ड दक्षिण अफ्रिकाविरुद्धको सिरिजमा क्लीन स्वीप भोग्न बाध्य भएपछि नेपालले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) को टी-२० वरीयतामा सुधार गरेको हो । आइसीसीले गरेको नयाँ वरीयता अपडेटमा नेपाल एक स्थान सुधार गर्दै १२ औं स्थानमा उक्लिएको छ ।

नेपालको १९ खेलबाट १ सय ८७ रेटिङ अंक प्राप्त गरेको छ । दक्षिण अफ्रिकासँग तीन टी-२० सिरिजमा क्लीनस्वीपको शिकार भएपछि आयरल्यान्ड १३औं स्थानमा झरेको हो । १३ औं स्थानमा रहेको आयरल्यान्डको २१ खेलमा १ सय ७८ रेटिङ अंक भए पनि नेपालभन्दा पछि छ ।

नेपाल एसोसियटतर्फ सर्वाधिक उच्च स्थानमा छ । नेपालभन्दा अघि ११ औं स्थानमा जिम्बावे र १० औं स्थानमा बंगलादेश रहेका छन् । इंग्ल्यान्ड शीर्ष स्थानमा रहँदा, भारत दोस्रो, न्युजिल्यान्ड तेस्रो र पाकिस्तान चौथो स्थानमा रहेको छ । अस्ट्रेलिया पाँचौं, दक्षिण अफ्रिका छैटौं, अफगानिस्तान सातौं, वेस्टइन्डिज आठौं र श्रीलंका नवौं स्थानमा छन् ।

नेपाल एकदिवसीयमा भने १६ औं स्थानमा यथावत छ । नेपालले पछिल्लो पटक गत वैशाखमा घरेलु मैदानमा नेदरल्यान्ड र मलेसियासँग त्रिकोणात्मक सिरिज खेल्दै उपाधि जितेको थियो । पछिल्लो चार महिना कुनै टी-२० आई खेल नखेलेपनि नेपाल आयरल्यान्डको हारको कारण बरियता सुधार्न सफल रह्यो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *