टोक्यो ओलम्पिक : चीनलाई पछि पार्दै आयोजक जापान शीर्ष स्थानमा

काठमाडौं । जापानको टोक्योमा जारी ३२औं संस्करणको ग्रीष्मकालीन ओलम्पिकमा आयोजक जापानले मेडल अंक तालिकामा चीनलाई पछि पारेको छ । जापान र चीनबीच पदक तालिकाको शीर्षस्थानका लागि कडा टक्कर जारी छ ।

दुवै टीमले अहिलेसम्म समान ३ स्वर्ण जितेका छन् । जापान ३ स्वर्ण र १ रजतसहित ४ पदकका साथ पहिलो स्थानमा रहँदा चीन ३ स्वर्ण र दुई काश्यसहित ५ पदकका साथ दोस्रो स्थानमा रहेको छ ।

जापान र चीनसहित अहिलेसम्म कुल १३ देशले स्वर्ण जितेका छन् । अमेरिकाले आज स्वर्णको खाता खोलेको छ । उसले अहिलेसम्म १ स्वर्ण‚ २ रजत र ४ काश्य जितेको छ। अमेरिका पदक तालिकाको तेस्रो नम्बरमा छ ।

ओलम्पिकमा अस्ट्रेलिया, रसिया ओलम्पिक कमिटी, इटाली, ट्युनिसिया, दक्षिण कोरिया, इक्वेडर, हंगेरी, इरान, कोसोभो र थाइल्यान्डले समान १-१ स्वर्ण जितेका छन् ।

टोकियो ओलम्पिकमा २०५ राष्ट्र र शरणार्थी टोली गरेर हालसम्म २८ देशले पदक जित्न सफल भएका छन् । नेपालबाट चार खेलमा पाँच खेलाडी टोक्यो ओलम्पिकमा सहभागी भएका छन् । तीमध्ये कल्पना परियारले आफ्नो विधा १० मिटर एयर राइफलमा आफ्नो प्रदर्शन सुधार गर्दै राष्ट्रिय कीर्तिमानमा सुधार गरेपनि दोस्रो चरणमा पुग्न सकिनन् ।

त्यस्तै ४८ केजीमुनि प्रतिस्पर्धा गरेकी जुडोकी सोनिया भट्ट पहिलो बाउटमै रसियन खेलाडी इरिना डोल्गोभासँग १ मिनेट १६ सेकेन्डमा नकआउट हुँदै प्रतियोगिताबाट बाहिरिएकी थिइन् ।

नेपालको टोकियो ओलम्पिकमा अब पौडीतर्फ गौरिका सिंह र एलेक्स शाह तथा एथलेटिक्सकी सरस्वती चौधरीको प्रतिस्पर्धा बाँकी छ ।

एलेक्सले पुरुष १०० मिटर फ्री स्टाइलमा मंगलबार तथा गौरिकाले महिला १०० मिटर फ्री स्टाइलमा बुधबार प्रतिस्पर्धा गर्नेछिन् । सरस्वती चौधरीले महिला १०० मिटर दौडमा शुक्रबार प्रतिस्पर्धा गर्नेछिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *