विप्लवको व्यस्तता : महन्थ ठाकुरलाई पनि भेटे

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’को राजनीतिक भेटघाट बाक्लिएको छ । विप्लवले पछिल्लो पटक भएको सरकार परिवर्तनपछि सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुलाई भेटिरहेका छन् । यसबीच शनिबार (आज) विप्लव र प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासका मत दिएका जनता समाजवादी पार्टी (जसपा), नेपालका अध्यक्ष महन्थ ठाकुरलाई पनि भेटेका छन् । प्रधानमन्त्री देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, विपक्षी एमाले नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा), नेपालका अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलगायतका नेताहरुलाई भेटिसकेका विप्लवले आज अध्यक्ष ठाकुरलाई पनि भेटेका हुन् ।

शुक्रबार (हिजो) मात्रै विप्लवले पूर्वपञ्च र राजावादीहरु आवद्ध राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापालाई भेटेका थिए । उक्त भेटमा दुई नेताबीच देशलाई जनमत संग्रहतिर लैजान एकमत भएको बताइएको छ । आज पनि भेटघाट जारी राख्दै विप्लवले ठाकुरलाई भेटेका हुन् ।

विप्लव–ठाकुरबीच समसामयिक विषयमा कुराकानी भएको भनिएपनि विप्लवले जनमत संग्रहको कुरा लिएर ठाकुर निवास पुगेको स्रोतले बताएको छ । ‘संसदीय व्यवस्था कि वैज्ञानिक समाजवाद’ विषयक जनमत संग्रह गर्नुपर्ने माग गरिरहेको विप्लव समूहले सत्तारुढ राजनीतिक दलका नेतालाई भेटेर वर्तमान राष्ट्रिय राजनीतिलाई नजिकबाट नियालिरहेको छ । यसअघि हिजो मात्रै विप्लव समूहका स्थायी कमिटी सदस्य धमेन्द्र बाँस्तोला ‘कञ्चन’ले संसदीय व्यवस्था भ्रष्ट व्यवस्था भएको र यसलाई त्याग्नुपर्ने बताएका थिए । चीन, रुसलगायतका देशहरुको उदाहरण दिँदै कञ्चनले भनेका थिए— ‘यी देशहरुमा व्यवस्था राम्रो छ । भ्रष्टाचार नै भएपनि कारबाही हुन्छ । हाम्रो हेर्नुस् त भ्रष्ट छ कि छैन व्यवस्था आफैँ ?’

तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकार र विप्लव समूहबीच गत वर्षको फागुन २१ गते तीनबुँदे समझदारी पत्र बनेको थियो । उक्त समझदारी पूरा नगरी सरकारबाट ओली बाहिरिएपछि विप्लवको व्यस्तता बढेको हो । तत्कालीन सरकारसँग भएको तीनबुँदे सहमति यो सरकारले पूरा गर्नुपर्ने विप्लवको माग छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *