संक्रान्ति बजारको वास्तुकला र बसोबास पद्धति

हिजोआज एकीकृत बस्ती विकासको बहस बाक्लो सुनिन थालेको छ । २०७२ सालको भूकम्पपछि यो बहस बाक्लो हुन थालेको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले एकीकृत बस्ती विकासका बाधाअड्काउ फुकाउन २०७५ सालमा कार्यविधि पनि जारी गरिसकेको छ । प्राधिकरणको पछिल्लो तथ्यांकअनुसार (भूकम्पपछिका ६ वर्ष पुस्तकमा उल्लेख गरिएअनुसार) ६४ वटा एकीकृत बस्ती विकासको कामले स्वीकृति पाएकोमा २० वटा बस्तीको निर्माण सम्पन्न भएको छ भने ४४ वटा बस्ती निर्माणाधीन छन् । ३३ वटा बस्तीलाई सुधार गर्नुपर्ने बस्तीको सूचीमा राखिएकोमा २७ वटा बस्तीको सुधार भइसकेको छ ।

एकीकृत बस्तीको प्रसंग चल्नासाथ मलाई नेपालका पुराना र ऐतिहासिक बस्तीहरुको याद आउँछ । व्यापारिक वा सामरिक महत्वका पुराना बजारहरू । तनहुँको बन्दीपुरदेखि तेह्रथुमको संक्रान्ति बजारसम्म । आजचाहिँ संक्रान्ति बजारको वास्तुकला र बसोबास पद्धतिबारे चर्चा गर्दैछु । म २०७४ असोजमा तेह्रथुमको संक्रान्ति बजारमा पुगेको थिएँ । साथमा साथी किरणमान जोशी हुनुहुन्थ्यो । एकहप्ते बसाइमा हामीले त्यहाँको बसोबास पद्धति र वास्तुकला पढ्ने मौका पायौं ।

सक्रान्ति बजार आठराई गाउँपालिकाको वडा नम्बर १ र ४ मा पर्दछ । यो गाउँपालिकाको कुल क्षेत्रफल १६७.०७ वर्ग किलोमिटर रहेको छ । यसको पूर्वमा तमोर नदी, पश्चिममा कोयाखोला, उत्तरमा ताप्लेजुङ, दक्षिणमा तमोर नदी पर्दछ । आठराई गाउँपालिकामा लिम्बु, ब्राह्मण, क्षेत्री, तामाङ, राई, मगर, नेवार, कामी, दमाई, गुरुङ, शेर्पा आदि विविध जातजातीको मिश्रित बसोबास छ । २०६८ सालको जनगणनाअनुसार यो गाउँपालिकाको कुल जनसंख्या २६८७८ रहेको छ । आठराई गाउँपालिकाभित्र हाल हवाकु, ईवा, छातेढुङ्गा, थोक्लुङ, चुहानडाँडा, सक्रान्ति बजार र खाम्लालुङ गाविसहरु गाभिएका छन् ।

जिल्लाभरिमै महिनामा एकपटक मात्रै लाग्ने हाट सक्रान्ति बजारमै लाग्दछ, त्यसबाहेक हरेक शनिबार पनि हाट लाग्दछ । ग्रामीण बस्तीहरु– हवाकु, ईवा, आठराई त्रिवेणी (ताप्लेजुङ), सम्दु, छातेढुंगा, थोक्लुङ, ईशुवु, चुहानडाँडाका लागि सक्रान्ति बजार प्रशासनीय, व्यवसायिक र शैक्षिक गतिविधिको केन्द्र नै हो ।

प्रशासनिक कामका लागि, हाट भर्नका लागि, गाडी चढ्नका लागि, शैक्षिक कामका लागि दैनिक उपभोग्य सामान खरिदका लागि वरिपरिका बासिन्दाहरु यहाँ आउने गर्दछन् । गाउँपालिकाको कार्यालय पनि यही खुलेकाले यसको प्रशासनिक महत्व थप बढ्न गएको छ ।

सक्रान्ति बजार क्षेत्र पूर्व-पश्चिम भएर फैलिएको छ । समग्र भुखण्डको शीरमा बजार बसेको छ । बजारलाई मध्यपहाडी लोकमार्गले छोएको छ । उत्तर र दक्षिणी भाग भिरालो परेको छ भने पूर्वी भागमा सामुदायिक बन र वनभित्रै स्थानीय पाथिभरा मन्दिर (ताप्लेजुङको पाथीभरा मन्दिरको प्रतिमूर्ति) र याकुम्बा गढी रहेको छ । पश्चिमी भागमा पनि सामुदायिक वन रहेको छ । उत्तर-दक्षिणको भाग भिरालो भएपनि धेरै ठाडो भिरालोचाहिँ छैन । भौगोलिक दुरीको हिसाबले बजार क्षेत्र सबै वडाहरुको केन्द्रमै रहेको छ ।

करिब ४-५ मिटर चौडा सडकको दायाँबायाँ पंक्तिबद्ध रुपमा बजारमा घरहरू बनेका छन् । बजारको पूर्वी भागमा किरात धर्मगुरु फाल्गुनन्दको प्रतीमा बनाइएको छ, त्यहीँबाट बजार क्षेत्र शुरु हुन्छ । अधिकांश घरको भुइँतल्ला पसल-होटेल वा अन्य व्यवसायिक प्रयोजनका लागी छुट्याइएको छ भने माथिल्लो तल्लामा घरायसी प्रयोजनका लागि छुट्याइएको छ ।

सक्रान्ति बजार क्षेत्रमा परम्परागत वास्तुशैली अपनाइएर बनाइएका घरहरू थोरै मात्र बाँकी रहेका छन् । ढलान गरेर घर बनाउने चलन यहाँ शुरु भइसकेको छ । केही घरहरु बनिसकेका छन् भने केही घरहरु निर्माण हुने क्रममा छन् । ढलान घरहरुमा भूकम्प प्रतिरोधी मापदण्ड अपनाइएको वा त्योबारे चेतना जगाउने काम भएको खासै पाइँदैन । बजारका अधिकांश घरहरूचाहिँ जस्तापाताले बारेर बनाइएको (छानामात्र किन, भित्ता नै जस्तापाताको) हुँदा बस्ती विरुप देखिएको छ । बरण्डाको रेलिङको रुपमा रक्सीको बोतललाई सजाइएको पनि हामीले देख्यौं । बजारको मध्यभाग २०६९ साल फाल्गुनमा आगलागीको चपेटामा परी ध्वस्त भएको थियो । करिब ३९ घरहरु जलेर नष्ट भएका थिए ।

बजारको पूर्वीभाग सबैभन्दा पुरानो बस्ती हो, जसलाई पुरानो बजार पनि भनिन्छ । पुरानो बजारका केही घरहरुमा पुरानो वास्तुकला बाँचेको छ । यो बजार खण्डका अधिकांश घर दुईतले छन् । कुँदिएका ढुंगाको गारो, टिनको छानो र अगाडिको मोहोडामा मिहिन तरिकाले बुट्टा कुँदिएका बार्दली । घरका भुइँ तल्लामै छन् मालपोत कार्यालय, प्रहरी कार्यालय, ईलाका प्रशासन कार्यालय र सशस्त्र प्रहरी क्याम्प । ईलाका प्रशसन कार्यालय भवनको वास्तुकला लोभलाग्दो छ । अगाडिपट्टि लामो बार्दली ।

र भ-याङ । उस्तै लोभलाग्दो छ त्रिमोहन माध्यमिक विद्यालयको ‘सी’ आकारको दुईतले भवन । सो भवनमा पनि लामो बार्दलीले शोभा थपेको छ । पुरानो बजारको सडकमा पहिला ढुंगा छापिएको थियो । अझै पनि ती ढुंगाहरू आशिंक रुपमा छँदैछन् । हामी संक्रान्ति बजार पुग्दा ट्याक्टर गुड्ने हुनाले बजारभित्रको सडकमा ठूल्ठूला खाल्डाखुल्डीहरू थिए । सडक हिलाम्य भएकाले आवागमनमा समेत अवरोध पुगेको महसुस भएको थियो । ढल निकासको अभाव, असरल्ल परेका खानेपानीका पाइप, उचाइको एकरुपता नभएका घर आदि कारणले यो ऐतिहासिक बस्तीले आफ्नो सुन्दरता, मौलिकता र प्राचीन वास्तुकला गुमाउँदै गएको महसुस भएको थियो ।

बजारभन्दा केही तल एकाध पुराना घरहरू छन् । ती घरहरूमा रैथाने वास्तुकलाको प्रतिबिम्ब अझ राम्ररी देख्न पाइन्छ । ढुंगे गारोको दुईतले घर । डेढ फिट मोटो गारोमा हालिएका कुँदेका ढुंगा । गारोमा नस हालिएको । बार्दली नभएको तर बार्दलीकै चौडाइ हुनेगरी काठ‚ धरनहरू बाहिर निस्केका । सर्लक्कै रातोमाटो पोतिएका भित्ता र स-साना आँखीझ्याल । चुली गारोमा पनि उस्तै कलात्मक आँखीझ्याल । टुँडालसहित पाखायुक्त छाना भएका हेर्दै असाध्यै बलियो महसुस हुने घर । यस्ता घरहरु संक्रान्तिमा पातलिएका छन् ।

सक्रान्ति बजारमा मदन पुरस्कार गुठीकी संरक्षक रानी जगम्दबा राज्यलक्ष्मी राणाको पहलमा २०१५ सालमै खानेपानीको व्यवस्था गरिएको थियो, जसलाई मदनधारा पनि भन्ने गरिन्छ । त्यतिबेला खानेपानी आएको उपलक्ष्यमा सक्रान्ति बजारमा ३ दिनसम्म विभिन्न कार्यक्रम गरी उत्सव मनाइएको थियो, जुन आजपर्यन्त मदन मेलाका नामले चर्चित छ । हरेक वर्ष यहाँ मदन मेलालाई निरन्तरता दिइएको छ । साहित्यकार स्व.कमलमणि दीक्षितले रानी जगदम्बाको प्रतिनिधिको रुपमा बजारमा आएर खानेपानीको उद्घाटन गरी मदन मेलाको सुरुवात गराएका थिए ।

संक्रान्ति बजारमा बेस्सरी हावा चल्छ । त्यही हावाले उचाल्छ घरका छाना । त्यही हावाले आगो फैलँदा संक्रान्तिको पुरानो वैभव खरानी भयो । मैले ४ वर्षअघि देख्दा टिनैटिनले बारेको संक्रान्ति फैलँदो र पुरानो वैभव खुम्चँदो थियो । ढलान पनि फैलँदो थियो । प्रकोप प्रतिरोधी बन्ने कुरामा पटक्कै सम्झौता नगरी त्यहाँको बस्ती सभ्यताले मौलिकता नगुमाओस् ।

संक्रान्ति बजारको जय होस् 

तस्बिर : मिलन बगाले/किरण जोशी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *