म विशेष धातुले बनेको हुँ, तर्सिँदिनँ : नेपाल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफू विशेष धातुले बनेको बताएका छन् । शुक्रबार (आज) पुष्पलाल मित्रता केन्द्रले आयोजना गरेको ‘नेपाली कम्युनिष्ट आन्दोलनको वर्तमान संकट र आगामी बाटो’ विषय प्रवचन कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले यस्तो बताएका हुन् । ‘बाँदर प्रदर्शनले माधव नेपाल तर्सिँदैन,’ नेपालले भने— ‘माधव नेपाल विशेष धातुले बनेको मान्छे हो । स्टालिनले भनेका छन्, कम्युनिष्टहरु विशेष धातुले बनेका हुन्छन् । माधव नेपाल पनि उस्तै हो । माधव नेपालको घर वरिपरि चक्रपथमा मोटरसाइकलमा एक दुईजना देखिँदैनमा माधव नेपाल डराउँदैन ।’

यस्तै नेता नेपालले क्रान्तिकारी भाषणले मात्रै जनताको विश्वास जित्न नसकिने बताएका छन् । ‘नेपाली कम्युनिष्टहरुले क्रान्तिकारी भाषण मात्रै गर्छन्,’ नेपालले भने— ‘तर, क्रान्तिकारी काम भने गर्दैन् । कुराले मात्रै हुँदैन, काम गर्नुपर्छ । कुराले चिउरा भिज्दैन, चिउरा भिज्नको लागि दूध नै चाहिन्छ ।’

राजनीति जनताबाट टाढा कहिल्यै नजाने नेता नेपालको भनाइ थियो । सिद्धान्तको रंग खैरो र व्यवहारको रंग हरियो भएको भन्दै नेता नेपालले भने— ‘यहाँ त जे पनि बोल्ने, जे पनि भन्ने शृङ्खला चल्यो । जसलाई जनताले मन पराउँदैनन् । अब नेपाली कम्युनिष्टहरुले आत्मसमीक्षा गर्नुपर्ने बेला आएको छ ।’

सत्तामा पुगेपछि सबै कम्युनिष्टहरु दम्भी बन्ने नेता नेपालको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *