टोक्यो ओलम्पिक्स २०२० :नेपाली खेलाडी भोलिदेखि खेल्ने‚ कुन खेल कहिले ?

काठमाडौं । विश्व खेलकुदको कुम्भमेला ३२औं गृष्मकालीन ओलम्पिक खेलकुद आजबाट जापानमा सुरु हुँदैछ । राजधानी टोकियोमा आयोजना हुने एक विशेष कार्यक्रमका बीच ‘टोकियो ओलम्पिक’ औपचारिक रुपमा सुरु हुने भएको हो ।

केही खेलको प्रतिस्पर्धा भने बुधबारबाट सुरु भइसकेको छ । ओलम्पिक स्टेडियममा हुने उद्घाटन समारोह नेपाली समयअनुसार अपराह्न ४:४५ बजे सुरु हुनेछ । उद्घाटन समारोहमा खेलाडीको मार्च पाससहित विभिन्न कार्यक्रमहरु हुनेछन् ।

ओलम्पिकमा नयाँ–नयाँ कीर्तिमान राख्ने अपेक्षासहित संसारभरका ११ हजार खेलाडी टोकियो पुगेका छन् तर कोभिड संक्रमणले उत्साह भने देखिँदैन । विश्व खेलकुदको महाकुम्भमा सामान्यतया ठूलै तडकभडक हुने गर्थ्यो । प्रत्येक चार वर्षमा आयोजना गरिने ओलम्पिकले आयोजक सहरलाई नै रंगीन बनाउने गर्छ । यसपालि भने कोभिड महामारीले नराम्ररी असर गरेको छ । महामारीकै कारण एक वर्ष ढिला सारिएको ओलम्पिकका केही झन्डा, मस्कट र लोगो मात्र विमानस्थलमा देखिन्छन् ।

कोभिडकैबीच सुरु भएको ओलम्पिकमा सहभागिता जनाउन विश्वभरका खेलाडी, प्रशिक्षक र अफिसियलहरु जापान पुगिसकेका छन् । नेपालबाट खेलाडीसहित २३ सदस्सीय टोली टोकियो पुगिसकेको छ । टोकियो ओलम्पिकको उद्घाटन सत्रको मार्च पासमा नेपालको झण्डा पौडी खेलाडी गौरिका सिंह र एलेक्जेन्डर शाह (एलेक्स)ले बोक्ने छन् । नेपाली टोलीको सेफ द मिसनमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य सचिव रमेश कुमार सिलवाल रहेका छन् ।

नेपालका खेलाडीले भोलिदेखि नै खेल्ने‚ कुन खेल कहिले ?
नेपालबाट ४ खेलका ५ खेलाडीले चुनौती पेश गर्नेछन् । नेपाललले एथ्लेटिक्स, सुटिङ, जुडो र पाौडी खेलमा सहभागिता जनाउने भएको हो । एथ्लेटिक्समा सरस्वती चौधरी, सुटिङमा कल्पना परियार, जुडोमा सोनिया भट्ट र पौडीमा गौरिका सिंह र एलेक्स शाहले नेपालको चुनौती प्रस्तुत गर्नेछन् ।

नेपालका तर्फबाट खेलमा सहभागी हुन जापान पुगेका पौडी खेलाडी सिंह र शाहले उद्घाटन समारोहमा संयुक्त रूपमा नेपालको झन्डा बोक्नेछन् ।

भोलि (शनिबार) सुटिङकी परियारले १०० मिटर एयर राइफलमा प्रतिस्पर्धा गर्नेछिन् । उनी वाइल्ड कार्ड प्राप्त गरेर टोकियो ओलम्पिकमा भाग लिन लागेकी हुन् । उनले छनोट चरण पार गरे अन्तिम चरणको खेल पनि साउन ९ गते साँझ नै हुनेछ ।

भोलि नै जुडोकी सोनिया भट्टले ४८ किलोमुनिको तौल समूहमा खेल्नेछिन् । उनी पनि वाइल्ड कार्डको माध्यमबाट ओलम्पिकमा भाग लिन लागेकी हुन् । अन्तर्राष्ट्रिय जुडो महासङ्घले वरियताका आधारमा सोनियालाई ओलम्पिकमा सहभागिता जनाउन लागेको हो । १९ वर्षीय सोनियाले पहिलो चरण पार गरे अन्य चरणको खेल पनि सोही दिन हुनेछ ।

पौडीमा नेपालबाट एलेक्स शाहले र गौरिका सिंहले सहभागिता जनाउँदैछन् । दुवै खेलाडी युनिभर्सालिटी कोटा (विश्वव्यापी सहभागिता) बाट ओलम्पिक पुगेका हुन् । नेपाली पौडी खेलाडी एलेक्सले पुरुष सय मिटर फ्रिस्टाइलमा नेपालको प्रतिनिधित्व गर्नेछन् । उनले साउन १२ गते पुरुष एक सय मिटर फ्रिस्टाइलको हिट चरणमा प्रतिस्पर्धा गर्नेछन् । एलेक्सले हिट चरण पार गर्न सकेमा साउन १३ गते अर्को खेल तथा त्यसमा पनि सफल भएको अवस्थामा फाइनल चरण साउन १४ गते प्रतिस्पर्धा गर्नेछन् ।

त्यस्तै जलपरी गौरिकाले महिला एक सय मिटर फ्रिस्टाइलमा चुनौती प्रस्तुत गर्नेछिन् । उनले अघिल्लो संस्करणको ओलम्पिक खेलमा सबैभन्दा कम उमेरकी खेलाडी बनेर चर्चा कमाएकी थिइन् । गौरीकाले यही साउन १३ गते महिला १०० मिटर फ्रिस्टाइलको हिट चरणमा प्रतिस्पर्धा गर्नेछिन् ।

एथ्लेटिक्सतर्फ नेपालकी सरस्वती चौधरीले प्रतिस्पर्धा गर्दैछिन् । उनले एक सय मिटर दौडमा नेपालको चुनौती प्रस्तुत गर्न लागेकी हुन् । छोटो दूरीका धाविका चौधरी युनिभर्सालिटी कोटामा ओलम्पिक खेल्न लागेकी हुन् । उनी साउन १५ गते मैदानमा उत्रनेछिन् ।

समग्रमा हेर्ने हो भने नेपालले ओलम्पिक खेलमा खासै उल्लेखनीय प्रदर्शन गर्न सकेको छैन । नेपालको प्रतिस्पर्धा भनेको सहभागितामा मात्र सीमित बनेको छ । ओलम्पिकमा नेपालले खेलेको १४ संस्करणसम्मको खेलको इतिहासलाई हेर्दा कुनै उपलब्धि हासिल गर्न सकेको छैन ।

नेपालले सन् १९६४ मा जापानको टोकियोमै भएको १८औँ संस्करणको खेलबाट ओलम्पिक यात्रा शुरु गरेको थियो । हालसम्म नेपालका ८५ खेलाडीले ओलम्पिकमा सहभागिता जनाइसकेका छन् । तर कुनै पनि खेलाडीले आधिकारिक पदक हात पार्न सकेका छैनन् ।

यद्यपि नेपालका तेक्वान्दो खेलाडी दीपक विष्ट र सङ्गीना वैद्यले भने ओलम्पिक खेलको छनोट प्रतियोगिता पार गरेका छन् । ओलम्पिकमा नेपालबाट हालसम्म आठ खेलमा प्रतिनिधित्व भएको छ । एथ्लेटिक्स, बक्सिङ, पौडी, तेक्वान्दो, भारोत्तोलन, सुटिङ, जुडो र आर्चरी खेलबाट नेपालले प्रतिनिधित्व गरेको हो । त्यसमध्ये ओलम्पिक यात्रा शुरु गरेयता एथ्लेटिक्स खेलको सहभागिता भने हालसम्म टुटेको छैन ।

यसपटकको ओलम्पिकमा पनि नेपाली टोलीको लक्ष्य भनेको पदकभन्दा पनि आफ्नो व्यक्तिगत प्रदर्शन सुधार गर्नु नै हुनेछ । ओलम्पिक खेलका लागि पौडी, सुटिङ र जुडोका खेलाडी जापानको टोकियो पुगिसकेका छन् भने एथ्लेटिक्स टोली यही साउन ९ गते जापान प्रस्थान गर्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *