कपोलकल्पित आरोपबाट विचलित हुने छैन : पारस खड्का

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले कपोलकल्पित र भ्रामक आरोपबाट विचलित नहुने बताएका छन् । एभरेष्ट प्रिमियर लिग (इपिएल)का संस्थापक आमिर अख्तरले गैर नाफामुलक अभियान बलियो नेपाल अभियानको कार्यक्रममा सदस्यसँगै कप्तान र खेलाडी आबद्ध भएपछि क्रिकेट संघ नेपाल (क्यान)ले यसबारे अनुसन्धान गर्नुपर्ने माग गरेको समाचार केही सञ्चारमा माध्यममा प्रकाशित भएको थियो ।

समाचारमा उल्लेख भएअनुसार अख्तरले क्यानका सदस्य र खेलाडी एकसाथ अघि बढ्नुले ‘कन्फ्लिक्ट अफ इन्ट्रेस्ट’ को अवस्था आएर आगामी दिनमा भ्रष्टाचारको सम्भावना बढाउने बताउँदै क्यानलाई छानबिनको लागि आग्रह गरेका थिए । यो समाचारप्रति पूर्व कप्तान खड्कासहित कप्तान ज्ञानेन्द्र मल्ल र नेपाल क्रिकेट संघ (क्यान)का सदस्य छुम्बी लामाले संयुक्त विज्ञप्तिमार्फत ध्यानाकर्षण भएको बताइसकेका छन् ।

पूर्व कप्तान खड्काले बिहान सामाजिक सञ्जालमार्फत यस्ता कपोलकल्पित र भ्रामक आरोपबाट आफू कति पनि विचलित नहुने दोहोर्‍याएका हुन् । ‘आगामी दिनमा अझ नेपाली क्रिकेटको विकास र विस्तारको लागि जस्तो सुकै मूल्य चुकाउन पनि तयार छु,’ उनले भनेका छन् ।

राष्ट्रिय क्रिकेट टिमको दशकौंको कडा मेहनत र अथक प्रयासले नेपाली क्रिकेट आज यो अवस्थामा आइपुगेको उनले बताए । ‘राष्ट्रलाई प्रतिनिधित्व गर्ने क्रममा मेरो प्रदर्शनमाथि प्रश्न उठे होलान्, जुन स्वभाविक हो । मैले सरल र सहज रूपमा ती प्रश्नलाई ह्रदयबाट आत्मसाथ गरेको छु,’ उनले अगाडि भनेका छन्, ‘आजसम्म मेरो नियत र इमानदारीतामाथि कसैले प्रश्न गरेको थिएन । नेपाली क्रिकेटबाट वर्षौदेखि लाभ लिइरहेका एक व्यक्तिले कपोलकल्पित र नियोजित ढंगबाट गलत भएको हुनसक्ने भन्दै मेरो, राष्ट्रिय टिमका कप्तान ज्ञानेन्द्र मल्ल र क्यानका बोर्ड सदस्य छुम्बी लामाको नियत र इमानदारीतामा प्रश्न गरी प्रकाशित गरेको समाचारले मलाई अत्यन्तै दुःखी बनाएको छ ।’

उनले प्रकाशित समाचारको खण्डन समेत गरेका छन् । ‘यो समाचारको म खण्डन गर्दछु र कुनै प्रमाणविना लगाएको यो गलत आरोप केवल बदनाम गराउने प्रयत्न मात्र हो । यसलाई यही अर्थमा बुझिदिनु हुन सम्पूर्ण क्रिकेट प्रेमी नेपालीमा आग्रह गर्दछु,’ पूर्व कप्तान खड्काले भनेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *