दोस्रो अध्यक्षको ‘कार्ड’को अर्थ के ?

नेपाल बन्लान् दोस्रो अध्यक्ष ?

काठमाडौं । पार्टीको १०औं केन्द्रीय कमिटी बैठकमा ब्रिफिङ गर्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भने— ‘माधव नेपालले मिल्ने हो र दोस्रो अध्यक्ष मागे, मैले भनेको छु- एकताका लागि आए दोस्रो अध्यक्ष दिन तयार छु‚’ एमाले एकतालाई कायम राख्नको लागि हदैसम्मको प्रयास गरिरहेका ओलीले थपे‚ ‘मिलेरै गएको राम्रो हो ।’

उसो त खासगरी पुस ५ यता पार्टीमा समानान्तर गतिविधि गर्दै अगाडि बढिरहेका नेपालले समान हैसियतको अध्यक्ष चाहेका हुन् । यसअघि नै नेपालले प्रस्ताव गरिसकेका छन्‚ ‘दुवै अध्यक्षको हस्ताक्षरबाट मात्रै काम गर्ने गरौँ ।’ नेपाल समूहका नेताहरूले अध्यक्ष ओलीको दोस्रो अध्यक्षको प्रस्तावलाई पार्टी एकताको रुपमा नभएर पार्टी विशृङ्खलताको रुपमा बुझेका छन् । नेपालनिकट एक नेताले मकालुखबरसँग भने‚ ‘उहाँले भनेको दोस्रो अध्यक्ष होइन, समान हैसियतको अध्यक्ष हो । दोस्रो अध्यक्षमा खुम्चिनका लागि र केही दिनका लागि एकता गर्नुभन्दा नजानु नै बेस हो भन्ने कुरामा उहाँ अडिग हुनुहुन्छ ।’

बालुवाटार छाड्नुपरेपछि नेपालसँग चित्त दुखाएका ओली प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएपछि नेपालसँग थप चिढिएका छन् । असार २८ गतेको सर्वोच्चको फैसलापछि ३० गते बालुवाटार छाडेर निजी निवास बालकोट पुगेका ओलीले भनेका थिए— ‘माधव नेपाल कम्युनिष्ट आन्दोलनकै गद्दार हुन् । अब उनलाई पार्टीमा कुनै ठाउँ दिन सकिन्न ।’

हाम्रो जोड सधैं पार्टी एकताकै निम्ति हुन्छ । हामी हिजो पनि पार्टी एकता नै चाहन्थ्यौँ र भोलि पनि यही चाहनेछौँ ।

तर, त्यसपछि विकसित राजनीतिक परिदृश्यबाट ओली पनि एकता कायम रहनुपर्नेमै देखिएका छन् । एकता कायम राख्नका लागि लचकतासमेत अपनाइरहेका ओलीलाई खासगरी दोस्रो तहका नेताहरुले घच्घच्याइरहेका छन् । ‘अबको समस्याचाहिँ उहाँहरु (ओली–नेपाल) बीचमै छ,’ ओलीनिकट एक नेताले मकालुखबरसँग भने‚ ‘हामी दोस्रो तहका नेताहरुले उहाँलाई सँगै राखेर पटक–पटक भनेका छौँ कि तपाईंहरु मिले हामी ठिक छौँ भनेर । उहाँहरू आफैं मिल्न सक्नुभएको छैन ।’

उसो त ओली–नेपालबीचको व्यक्तिगत तिक्तताका कारण पार्टी भाँडभैलो भएको विश्लेषण कतिपयको छ । एमाले संसदीय दलका उपनेता तथा एमाले विवाद समाधानका लागि संस्थापन पक्षबाट गठित वार्ता टोलीका संयोजक सुवासचन्द्र नेम्वाङ्ग नेतृत्वलाई अझै सम्झाएरै भएपनि मिलाउने नै बताउँछन् । नेम्वाङ्गले भने— ‘हिजो पनि हाम्रो जोड पार्टी एकता कायम नै थियो, आज पनि यही नै छ र भोलि पनि यही हुनेछ । पार्टी फुटाएर अगाडि जाने पक्षमा हामी छैनौँ । त्यसअनुरूप नै नेतृत्वलाई पनि भनिरहेका छौँ । उहाँहरुले यो कुरालाई मननसमेत गर्नुभएको छ ।’

नेम्वाङ्गसँगै प्रदीपकुमार ज्ञवाली, शंकर पोखरेल, पृथ्वीसुब्बा गुरुङलगायतका नेताहरु एमाले एकताले निरन्तरता पाउनैपर्ने पक्षमा छन् । यसपछि यी नेताहरुले ओलीलाई ‘कन्भिन्स्’ गराउँदै एमाले एकताको पक्षमा उभिन बारम्बार आग्रह गरिरहेका छन् ।

दोस्रो अध्यक्षको ‘कार्ड’ केका लागि ?
ओलीको मान्यता छ– कथम् नेपाल नफर्किएपनि अन्य सबै नेताहरु फर्किदिऊन् । ओली समूहका दोस्रो तहका नेताहरुको बुझाइ पनि उस्तै छ । ओलीनिकट एक नेता नेपालसँगै उपाध्यक्ष तथा तत्कालीन प्रतिनिधि सभा सदस्य भीम रावल पनि नफर्किने ठान्छन् । एमाले एकताबारे ओलीनिकट एक नेता भन्छन्‚ ‘खासमा एकताकै लागि भनेर अध्यक्षज्यूले दोस्रो अध्यक्षको प्रस्ताव गर्नुभएको हो । सबै कमरेडहरुलाई एकैठाउँ उभ्याउने र नेपालको कम्युनिष्ट आन्दोलनलाई बलियोगरी उठाउने प्रयासस्वरुप अध्यक्षज्यूले प्रस्ताव गर्नुभएको हो । लाग्छ, सबै कमरेडहरू गोलबद्ध हुनुहुनेछ ।’ यसको सम्भावना तपाईं देख्नुहुन्छ ? भन्ने प्रश्नको जवाफमा ती नेता भन्छन्‚ ‘एक दुईजना नेताबाहेक एकताबद्ध हुनुहुन्छ कमरेडहरू । वरिष्ठ नेता कमरेड र उपाध्यक्ष कमरेडको चाहिँ भर लाग्दैन । पछिल्लो सिनारियोलाई हेर्ने हो भने उहाँहरू जतिको हार्डलाइनर कोही देखिनुभएको छैन ।’

नेपाल समूहका नेताहरुले भने ओलीले दोस्रो अध्यक्षको प्रस्ताव गर्नुलाई ‘पार्टी वार कि पार’ को रुपमा बुझ्छन् । नेपालले बन्न नमानेको र पार्टी विभाजनकर्ताको आरोप लगाउनेगरी ‘दोस्रो अध्यक्ष’ को प्रस्ताव गरिएको नेपालनिकट एक नेता बताउँछन् । नाम नखुलाउने शर्तमा नेपालनिकट एक नेताले मकालुखबरसँग भने‚ ‘यो प्रस्तावले चाहिँ पार्टी एकतालाई प्रोत्साहित गर्दैन । अहिले खाली एमाले विभाजनको विभाजनकर्ता को हो र कसलाई बनाउने भन्नेबारे नै अध्यक्ष कमरेड खेलिरहनुभएको छ । यसले पार्टीलाई एकतालाई होइन, विभाजनलाई प्रश्रय गर्छ ।’

नेपालको माग दोस्रो अध्यक्ष नभएको बताउँदै ती नेताले भने‚ ‘९औं महाधिवेशनले अनुमोदन गरेको पार्टीका नीति, विधान तथा अनुशासनलाई सही ढङ्गले लाने भनेरै उहाँ (नेपाल)ले समान हैसियतको अध्यक्ष माग्नुभएको हो ।’

उसो त यसअघि नै पनि नेपालबिनाको एमालेको परिकल्पना भइसकेको छ । जेठ १९ गते ओलीपक्षीय नेताहरुबीच बालुवाटारमा ‘माधव नेपालबिनाको एमाले’को परिकल्पना भएको थियो । जहाँ नेताहरुको निष्कर्ष थियो, अन्तिमसम्म प्रयास गर्ने र नभएमा नेपाल समूहका नेताहरुलाई एकीकृत गरेर पार्टी अघि बढाउने ।

यसको संकेत ओलीले केन्द्रीय कमिटीमा समेत गरिसकेका छन् । ‘पार्टी एकता बचाउन माधव नेपाल आउँछन् भने दोस्रो अध्यक्ष दिन तयार छु । मैले यति भन्दा पनि एकताप्रति इच्छा देखाइएको छैन,’ ओलीले भनेका छन् ।

के छ नेपाल समूहको बुझाइ ?
‘पार्टी सही रुपमा अगाडि बढ्छ, सुध्रिन्छ, रुपान्तरण हुन्छ, ठीक छ । आफूले बनाएको घरबाट त्यत्तिकै बाहिर निस्कन को चाहन्छ ? तर अपमान सहेर कोही पनि बस्दैन । अरुको अपमान गर्ने मान्छेहरुले समाजको अपमान गर्छ, त्यसलाई कुसन्तान भनिन्छ, त्यसलाई निरुत्साहित गर्नुपर्छ,’ नेपालले बिहीबार (आज) परेको पुष्पलाल स्मृति समारोहमा भनेका छन् ।

अर्थात् नेपालको चाहँदैनन् कि, दोस्रो अध्यक्ष बनेर अपमानित हुन । पार्टीमा अनुशान नभएको, पार्टी एकलौटी तरिकाबाट हाँकेको, आफूखुसी पार्टी कमिटीहरु बनाएको भन्दै ओलीप्रति असन्तुष्टि रहँदै आएका नेपालले सर्वप्रथमः ओलीको राजीनामा चाहेका छन् । आफूलाई एमाले विभाजनकर्ताको रुपमा देखाउनको लागि दोस्रो अध्यक्षको प्रस्ताव गरिएको ब्रिफिङ्ग गरिरहेका नेपालले गरिरहेका छन् ।

नेपालनिकट नेता विरोध खतिवडा नेपाल दोस्रो अध्यक्षमा नखुम्चिने ठोकुवा गर्छन् । उनी भन्छन्‚ ‘यो असम्भव कुरा हो । उहाँलाई अध्यक्ष बनाउनको लागि यो प्रस्ताव अगाडि बढाइएकै होइन । यसमा अरु नै रणनीति बनाइएको छ । यो राम्रो नियतले बनाइएको प्रस्ताव नै होइन ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *