ग्रेट वाल मोटर्सका तीन गाडी सार्वजनिक, मूल्य कति ?

काठमाडौं । ग्रेट वाल मोटर्सका तीन नयाँ मोडलका गाडी सार्वजनिक भएका छन् । कम्पनीले सोमबार एक कार्यक्रम आयोजना गर्दै जिडब्ल्युएमको थर्ड जेन हाभल एच-६, हाभल जोलिओन र पोइर गाडी सार्वजनिक गरेको हो । योसँगै कम्पनीले नेपाली बजारमा आधिकारिक रूपमा प्रवेश गरेको छ।

थर्ड जेन हभाल एच ६
बढी पावर र थुप्रै लक्जरी विशेषता भएको थर्ड जेन हभाल एच-६ एसयुभी हो । यसमा २.० लिटर पेट्रोल टर्बो इन्जिन जडान छ । यसले १५० किलोवाटको पावर र ३२० एनएमको टर्क जेनेरेट गर्छ । ७२ प्रतिशत उच्च गुणस्तरीय स्टिलले बनेको यो गाडीको बनावट निकै मजबुत र स्थिरता प्रदान गर्ने खालको रहेको कम्पनीको भनाइ छ ।

यसको बाहिरी र भित्री आवरण आकर्षक छ । यसमा भएको पानोरामिक सनरुफ, अटोमेटिक वाइपर, मल्टी फङ्सनल स्टेरिङ, आठ तरिकाले मिलाउन मिल्ने ड्राइभर सिट, ताररहित चार्जिङले गाडीलाई नयाँ स्वरुप दिन्छ ।

गाडीमा आठवटा एअर ब्याग, ३६० डिग्री हेर्न मिल्ने क्यामरा, एचएचसी (हिल होल्ड कन्ट्रोल), एबिएस प्लस इबिडी सुविधा र एन्टी-कोलिजन संयन्त्र, जस्तै एससिएम (सेकेन्ड कोलिजन संयन्त्र) र एफएम (फर्वार्ड कोलिजन संयन्त्र) ले दुर्घटनाको सम्भावना कम गर्ने कम्पनीले दाबी गरेको छ।

यसमा भएको इन ब्युल्ट इन्टेलिजेन्ट मोबिलिटीले अधिकतम स्पीडमा एल-२ स्तरको अटोमेटिक एसिसी ड्राइभको आनन्द प्रदान गर्छ । ट्राफिक सिग्नल चिन्ने र लेनमा रही रहने व्यवस्थाले गाडी गुडाउने चालकलाई सुरक्षा र गाडीमाथि आफ्नो पूर्ण नियन्त्रणमा भएको अनुभूति दिने कम्पनीले दाबी गरेको छ । त्यस्तै गाडीको भित्री बनावट, लेदर सिट र खुला रूपमा खुट्टा राख्न मिल्ने ठाउँले चालक र गाडी चढ्ने हरेकलाई सहज अनुभूति दिन्छ ।

थर्ड जेन हभाल एच-६ तीन रङमा उपलब्ध छ- हेमिल्टन ह्वाइट, अयर्स ग्रे र अट्लान्टिक ब्लू । कम्पनीले यसको सुरूवाती मूल्य ९६ लाख ९९ हजार ९ सय ९९ रूपैयाँ तोकेको छ ।

हभाल जोलिओन
हभाल जोलिओनको मोडल पनि तीन संस्करणमा बजार प्रवेश गरेको छ । गाडीमा भएको १.५ लिटरको टर्बो पेट्रोल इन्जिनले ११० किलोवाट पावर र २२० एनएमको टर्क जेनेरेट गर्छ ।

यसमा भएको १३३ एमएमको ग्राउन्ड क्लियरेन्सले गाडी नेपालको जस्तोसुकै सडकमा सजिलै चलाउन सकिने कम्पनीको दाबी छ । गाडीमा चार किसिमको ड्राइभ मोड र विद्युतीय पार्किङ ब्रेकिङ प्रविधि छ ।

त्यस्तै गाडीको ७३ प्रतिशत भाग उच्च गुणस्तरीय स्टीलले बनेकाले यसमा भिन्न र मजबुत स्थिरता तथा सुरक्षा प्रदान गर्ने कम्पनीले जानकारी दिएको छ ।

हभाल जोलिओनमा पानोरामिक सनरुफ, अटोमेटिक वाइपर, मल्टी फंसनल स्टेरिङ र पेडल सिफ्टर, ६ तरिकाले मिलाउन मिल्ने ड्राइभर सिट, आठवटा एअर ब्याग, आरामदायी लेदर सिट एबिएस, हिल होल्ड कन्ट्रोल, हिल डिसेन्ट कन्ट्रोल, इभेन्ट डाटा रेकर्डर, टच स्क्रिन र एन्टी–कोलिजन संयन्त्रजस्ता विशेषता छन् ।

त्यस्तै गाडीको अगाडी भागमा, एलइडी लाइट र पछाडि फग लाइट छ । हभाल जोलिओन पाँच रङमा उपलब्ध हुनेछ- ब्लु (निलो), ब्ल्याक (कालो), ग्रे (खरानी रंग), हेमिल्टन ह्वाइट (सेतो) र मार्स रेड (रातो) ।

कम्पनीले यो गाडीको सुरूवाती मूल्य ५५ लाख ४९ हजार ९सय ९९ रूपैयाँ तोकेको छ।

पोइर पिक-अप:

कम्पनीले दुइटा एसयूभीसँगै एउटा पिक-अप सेक्सनको गाडी सार्वजनिक गरेको हो । पोइर पिक-अप मोडल दुईवटा संस्करण- एलिट र पाइलटमा सार्वजनिक भएको हो ।

यो गाडीमा भएको २.० लिटरको डिजल इन्जिनले अधिकतम १२० किलोवाटको पावर र ४०० एनएमको टर्क जेनेरेट गर्छ । गाडीको ८४ प्रतिशत आवरण उच्च गुणस्तरको स्टिलले बनेको कम्पनीको भनाइ छ ।

पिक-अप सेग्मेन्टमध्ये यो पोइरमा सनरुफ छ । गाडीलाई चाबीबिना स्टार्ट गर्न सकिन्छ । गाडीमा ६ तरिकाले मिलाउन मिल्ने ड्राइभर सिट, आठवटा एअर ब्याग, लेदर सिट, हिल होल्ड कन्ट्रोल र हिल डिसेन्ट कन्ट्रोल, भेइकल स्टेबिलिटी कन्ट्रोल, ९ इन्चको टच स्क्रिन र एन्ड्रोइड सपोर्ट जस्ता विशेषता छन्। गाडीको अगाडि भागमा एलइडी लाइट र पछाडि भागमा फग लाइट पनि छ ।

कम्पनीले पोइर पिक-अपको मूल्य ६४ लाख ९९ हजार ९ सय ९९ रूपैयाँ तोकेको छ ।

ग्रेट वाल मोटर्स (जिडब्ल्युएम) चिनियाँ अटोमोबाइल्स उत्पादन कम्पनी हो । यसले सन् १९९८ देखि विभिन्न देशमा गाडी निर्यात सुरू गरेको हो । कम्पनीले ६० भन्दा बढी देशमा ५ सयभन्दा बढी वितरकहरूको अन्तर्राष्ट्रिय नेटवर्कमार्फत आफ्नो गाडी निर्यात गर्दै आइरहेको छ ।

नेपालका लागि विशाल ग्रुपको सहायक संस्था भी. जी. इम्पेक्स प्रालि.ग्रेट वाल मोटर्सको आधिकारिक बिक्रेता हो । कम्पनीले भविष्यमा ओरा विद्युतीय गाडी पनि नेपाली बजारमा सार्वजनिक गर्ने योजना बनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *