जहाँ प्रहरी परिचालन गरेर पानी निकास गरियो (तस्बिरहरु)

धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मा वर्षाको जमेको पानी प्रहरी परिचालन गरेर निकास गरिएको छ । वडा नम्बर ३ को हाटबजार, विद्युत कार्यालयलगायत बस्तीनै डुबानमा परेपछि रोकिएको पानीको बहाव प्रहरी परिचालन गरेर निकास गरिएको हो ।

मोहना अत्तरिया ६ लेन सडकको कल्भर्टबाटै बग्ने पानीको बहावलाई वडा नम्बर २ का बासिन्दाले यसअघिनै तारजाली र त्यसैमाथि ग्राभेल हालेर बन्द गरेका थिए । वडा नम्बर ३ को बस्ती वर्षाको पानीले डुबानमा परेपछि सो पानी निकास गर्ने विषयमा वडा नम्बर २ का बासिन्दासंग विवाद बढेको थियो ।

वडा नम्बर ३ का बासिन्दाले कल्भर्ट हुँदै बग्ने पानीको बहाव खोल्न खोजेपछि दुई वडाका बासिन्दाबीच विवाद सुरु भएको थियो । दुई वडाका बासिन्दाबीच विवाद हुँदा स्थानीय प्रशासनको पहलमा आइतबार नै पानी निकास गर्ने प्रयास भएको थियो । तर वडा नम्बर २ का बासिन्दाले अवरोध सृजना गरेपछि आइतबार पानी निकास गर्ने काम सफल हुन सकेन ।

पानी निकास गर्ने विषयमा धनगढी उपमहागनरपालिकाका नगरप्रमुख नृपबहादुर वड, वडा नम्बर २ र ३ का वडाध्यक्ष र अगुवाहरुको उपस्थितिमा पानी निकास गर्ने विषयमा सहमति भएको थियो । सोही सहमती अनुसार सोमबार स्थानीय प्रशासनले नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरेर पानी निकास गरेको छ । यद्यपि, सोमबार पनि वडा नम्बर २ का बासिन्दाले पानी निकास गर्दा बस्तीनै डुब्ने भन्दै उक्त कार्यमा अवरोध गरेका थिए । त्यसक्रममा उनीहरुले प्रहरीमाथि ढुंगामुडा प्रहार गरेका थिए ।

याे पनि : धनगढीका मेयरको पहिलो निर्णय कागजमै सीमित

शनिबार रातिदेखि भइरहेको वर्षापछि जम्मा भएको पानी वडा नम्बर ३ बाट वडा नम्बर २ तर्फ बगिरहेकोमा डुुबान हुन थालेको भन्दै बहाव रोकेपछि विवाद सिर्जना भएको र अहिले निकास गरिएको कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बताए ।

बर्सेनि तनाव
वर्षाको पानीले बस्ती डुबान पर्दा धनगढी उपमहानगरपालिकाको वडा नम्बर २, ३ र ४ का बासिन्दाबीच विवाद हुँदै आएको छ । अघिल्ला वर्षहरुमा प्रायः वडा नम्बर ३ र ४ का बासिन्दाबीच पानी निकासीका विषयमा विवाद हुँदै आएको थियो । यो समस्या वडा नम्बर २ र ३ बिच पनि हुने गथ्र्यो । गत वर्ष पनि वडा नम्बर ३ का बासिन्दाले निर्माणधीन ६ लेन सडक नै भत्काएर पानी निकास गरेका थिए । जसले गर्दा सो पानी वडा नम्बर ४ मा आउँदा त्यहाँको बस्ती डुबानमा परेको थियो ।

यस पटक वडा नम्बर ३ को मिलनचोक क्षेत्रमा बढी पानी जमेको थियो । त्यहाँबाट वडा नम्बर २ हुँदै बग्ने पानीको बहाव रोकिएपछि विद्युत कार्यालय, तरकारी हाटबजारलगायत सो क्षेत्रको बस्ती डुबानमा परेको थियो ।

वडा नम्बर २ का बासिन्दाले वडा नम्बर ३ को पानी निकासी गरेपछि बस्ती डुबानमा पर्नेमा चिन्ता व्यक्त गरेका छन् । धनगढी उपमहागनरपालिकाका प्रमुख नृपबहादुर वडले वडा नम्बर २ मा रोकिने पानी पनि निकास गरिने बताएका छन् । धनगढीमा खोलानाला अधिक्रमण गरेर संरचना बनाउँदा बस्ती डुबानको समस्या झन बढ्दै गइरहेको छ । उपमहाहानगरपालिकाले अतिक्रमण हटाउने भनेर अध्ययन गर्दै प्रतिवदेन तयार पारेको भएपनि कार्यान्वयन गर्न सकेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *