कस्तो बन्ला देउवाको मन्त्रिमण्डल ?

काठमाडौँ । प्रतिनिधि सभाबाट विश्वासको मत लिएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले अब मन्त्रिमण्डल विस्तारको तयारी थालेका छन् । आइतबार संसद्बाटै राष्ट्रिय सरकारको आह्वान गरेका देउवाले सरकारमा आउन चाहने सबैलाई मिलाएर अघि बढ्न चाहेको आकलन गर्न सकिन्छ । त्यस्तो नभए पनि उनले नेतृत्व गरेको पाँच दलीय सत्तारुढ गठबन्धनलाई सरकारमा सहभागी गराएर अघि बढ्ने देउवाको तयारी छ । देउवाले नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहलाई पनि सरकारमा सहभागी हुन आग्रह गरिसकेका छन् ।

गठबन्धनको अर्को मुख्य घटक नेकपा माओवादी केन्द्र पहिले नै सरकारमा सहभागी भइसकेको छ । जनता समाजवादी पार्टीले पनि सरकारमा सहभागी हुने निर्णय गरिसकेको छ । यस्तै, राष्ट्रिय जनमोर्चाले विश्वासको मत दिएपनि सरकारमा सहभागी नहुने निर्णय गरिसकेको छ ।

प्रतिनिधि सभामा विश्वासको मत लिएपछि अब डेढ वर्षका लागि देउवा सरकार सुरक्षित रहेको विश्लेषकहरु बताउँछन् । संविधानको धारा १०० ले नयाँ सरकार बनेपछि दुई वर्षसम्म अविश्वासको प्रस्ताव ल्याउन नपाइने उल्लेख छ । त्यहीअनुसार देउवा सरकारले प्रतिनिधि सभाको पूर्ण कार्यकाल पूरा गरी आवधिक निर्वाचन गराउनेछ ।

विगतमा सरकारमा हुँदा र पछिल्ला तीन वर्ष संसद्मा प्रतिपक्षी भूमिकामा हुँदा जनपक्षीय काम नगरेको आरोप लागेका देउवाले अबको सरकारबाट त्यसलाई चिर्न चाहेको उनीनिकट नेताहरु बताउँछन् ।

प्रधानमन्त्री देउवाले पार्टी र गठबन्धनभित्र डेलिभेरी गर्न सक्ने मान्छेलाई मन्त्रीका रुपमा अघि सार्न आग्रह गरेका छन् । अफ्ठ्यारो अवस्थामा सरकारको नेतृत्व गर्नुपरेकाले सक्षमलाई मात्र सिफारिस गर्न देउवाले यस्तो आग्रह गरेको नेताहरुको बुझाइ छ ।

हाल देउवाले कांग्रेसबाट गृहमन्त्री बालकृष्ण खाँण र कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई नियुक्त गरेका छन् । माओवादी केन्द्रका तर्फबाट अर्थमन्त्री जनार्दन शर्मा र ऊर्जामन्त्री पम्फा भुसाल छन् । कांग्रेसबाट मन्त्री बनेका खाँण र कार्की देउवाका विश्वासपात्र हुन् ।

आइतबार एमालेको ओली समूहका सांसदहरुले समेत विश्वासको मत दिएका छन् भने एमालेको माधव नेपाल समूह पनि सरकारमा आउने आशा देउवाले राखेका छन् । यद्यपि गठबन्धनभित्र शक्ति बाँडफाँडमा कुरा मिलिनसकेको एक नेता बताउँछन् । ‘गठबन्धनमा सामान्य छलफल भएको हो । फेरि छलफल होला । तर, समग्रमा डेलिभेरी गर्न सक्ने मान्छेहरुलाई मात्रै मन्त्री बनाउनुपर्छ भन्ने कुरा छ,’ देउवानिकट ती नेताले भनेका छन् ।

कांग्रेसभित्र मन्त्रीका लागि आकांक्षीहरुको लर्को छ । तर, गठबन्धनको सरकार भएकाले कांग्रेसले बढीमा ८/१० वटाभन्दा मन्त्रालय पाउने सम्भावना नरहेको नेताहरु बताउँछन् । त्यसमध्ये प्रधानमन्त्रीसहित तीन मन्त्रालयले कांग्रेसले लिइसकेको छ । पहिलो चरणमा दुवै मन्त्री आफूनिकटलाई बनाएका देउवाले अबको मन्त्रीमण्डल विस्तारमा वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला समूहलाई समेट्ने वचन दिएका छन् । उनले सक्षम मान्छेहरुलाई मात्रै सिफारिस गर्न भनेका छन् । कांग्रेसको १४औं महाधिवेशन नजिकिएका कारण पनि देउवाले महाधिवेशनको समीकरण समेतलाई प्रभावित पार्ने गरी मन्त्रिमण्डल विस्तार गर्न चाहेका छन् ।

कांग्रेसभित्र मन्त्रीका लागि आकांक्षीहरुको लर्को छ । तर, गठबन्धनको सरकार भएकाले कांग्रेसले बढीमा ८/१० वटाभन्दा मन्त्रालय पाउने सम्भावना नरहेको नेताहरु बताउँछन् ।

देउवाले आफ्नो समूहबाट पुष्पा भुसाल, मीन विश्वकर्मा र डा.नारायण खड्कालाई मन्त्री बनाउन सक्ने नेताहरु बताउँछन् । खड्काले परराष्ट्रमन्त्री दाबी गर्दै आएका छन् । श्रोतकाअनुसार पौडेल समूहले उपप्रधानसहित चार वटा मन्त्रालय दाबी गरेको छ । महामन्त्री डा. शशाङ्क कोइराला आफैंले उपप्रधानसहित स्वास्थ्यमन्त्री बन्न आकांक्षा देखाएका छन् । यस्तै, उपप्रधानमन्त्रीकै रुपमा प्रकाशमान सिंहलाई अघि सार्ने विषयमा पौडेल समूहको भेला नै बसेको थियो । आगामी महाधिवेशनको समीकरण समेतलाई ध्यानमा राख्दै सिंहलाई उपप्रधानमन्त्री बनाउन केन्द्रीय सदस्य डा.शेखर कोइराला सक्रिय रहेको श्रोतको दाबी छ । त्यस्तै, नेतृ सुजाता कोइरालाले पनि उपप्रधानमन्त्री बन्ने आकांक्षा व्यक्त गरेकी छिन् । डा. शशाङ्क कोइरालाले आफूले नपाए मिनेन्द्र रिजाललाई अघि सार्ने चर्चासमेत छ । यस्तै, पौडेल समूहबाटै दिलेन्द्रप्रसाद बडु र सिटौला समूहबाट उमाकान्त चौधरी वा भीमसेनदास प्रधानलाई मन्त्री बनाउन कसरत भइरहेको बुझिएको छ।

पूर्वस्वास्थ्यमन्त्री गगन थापालाई पुनः मन्त्री बनाउनुपर्ने विषयमा समेत कांग्रेसभित्र छलफल चलेको छ । देउवालाई उनीनिकट नेताहरुले नै पनि थापालाई स्वास्थ्यमन्त्री बनाउँदा अहिलेको महामारीलाई नियन्त्रणमा सहज हुनसक्ने र सरकार लोकप्रिय बन्ने दबाबसमेत दिइरहेका छन् । तर, थापा देउवा समूहमा नभएका, र सिटौलाले पनि उनको सट्टा चौधरी वा प्रधानलाई सिफारिस गर्नसक्ने भएकाले थापाको मन्त्री बन्ने सम्भावना कम रहेको कांग्रेस नेताको टिप्पणी छ ।

देउवाले यसपटक लोकप्रिय काम गर्ने र आगामी चुनावमा बहुमतको प्रधानमन्त्री बन्ने चाह राखेको सांसद दिव्यमणि राजभण्डारीले बताए । देउवा प्रधानमन्त्री भइसकेपछि आइतबार बसेको पहिलो संसदीय दलको बैठकमा सम्बोधन गर्दै देउवाले सरकारका अघि थुप्रै चुनौतीहरु भएको र चुनावी सरकार भएकाले संवेदनशील भएर अघि बढ्नुपर्ने अवस्था रहेको बताएका थिए । ‘उहाँले लोकप्रिय मान्छेहरुलाई मन्त्री बनाउने र सरकारको डेलिभेरी पनि पहिलेका भन्दा फरक गर्ने प्रयत्न गर्न खोजेको जस्तो लागेको छ,’ राजभण्डारीले भनेका छन् ।

देउवानिकट केन्द्रीय सदस्य मीन विश्वकर्माले भने आफूले मन्त्रीकै लागि आशक्ति व्यक्त नगरेको बताए । ‘पार्टीको अधिवेशन नजिकिएको छ, मैले मन्त्रीभन्दा पार्टीको अधिवेशनका लागि ध्यान दिने सोचेको छु, सभापतिज्यूलाई त्यही जानकारी गराएको छु,’ उनले भनेका छन् ।

देउवाले सरकार र पार्टी दुवैतर्फ राम्रो टिम बनाएर अघि बढ्न चाहेको उनको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *