कक्षा एक, किताब एघार ?

नानी बाबुलाई सानै उमेरमा विद्यालय पठाउने चलन बढेको छ ।

अभिभावक कामकाजी भएका कारण होस वा शहरी क्षेत्रमा बग्रेल्ती खुलेका निजी विद्यालयहरुका कारण होस् ताते ताते गर्ने बेलैमा विद्यालय भर्ना गरिदिने चलन बढ्दो छ । च्याउसरी खुलेका ‘मन्टेश्वरी’, ‘चाइल्ड केयर’ ‘प्रि स्कुल’ लगायत मा भर्ना गर्नुपर्ने कतिपयलाई बाध्यता छ त भने कतिपयलाई देखासिखी र फेसनजस्तै बनेको छ ।

कतिपय अभिभावक दुवैजना कामकाजी हुनाले नभ्याउने छन् भने कतपय बच्चाले दिक्क लगाउँछ भनेर ‘ढुक्क हुन’ पनि सानैमा विद्यालय पठाउने गरेका छन् । जसले गर्दा धेरै अभिभावकलाई विद्यालयले आफ्ना छोराछोरीमाथि कस्ता गतिविधि गरिरहेको हुन्छ भन्ने कुराको समेत वास्ता नहुने गरेको छ ।

विद्यालय पठाएपछि मेरो दायित्व पूरा भइहाल्यो नि भन्ने ठान्न नहुने शिक्षक अभिभावक संघका अध्यक्ष सुप्रभात भण्डारी बताउँछन् । विद्यालयले पढाउने नाममा अनावश्यक भार बालबालिकालाई बोकाउने गरेको पाइएको उनी बताउँछन् । केही समय अघि गरिएको अनुगमनका क्रममा कक्षा एकका विद्यार्थीलाई ११ वटासम्म किताब पढाइएको भेटिएको भण्डारीले जानकारी दिए । सातदोबाटोको ब्राइट फ्युचर इङ्ग्लिस स्कुलमा एक कक्षामा ११ वटा र बुद्धनगरको रोजबड स्कुलमा पनि कक्षा एकमा १० वटा किताब पढाइएको पाइएको उनले जानकारी दिए । १ कक्षामा कम्प्युटर म्याजिक बुक, सामान्यज्ञान, सामाजिक शिक्षा, विज्ञान, इङ्ग्लिस स्टुडेन्ट बुक, इङ्ग्लिस वर्क बुक, ग्रामर, नेपाली व्याकरण, नेपाली माला, भ्यालु एजुकेसन वेदान्त म्याथ जस्ता विषयको भारी बोकाउने गरिएको उनले बताए ।

‘एक कक्षामा पढ्ने बच्चाको उमेर सामान्यतया पाँच, छ वर्षको हुन्छ । पाँच छ वर्षको बच्चालाई कुन नैतिकताका आधारमा ११ वटा किताब पढाएको होला?’ भण्डारी भन्छन्- अभिभावकको बेवास्ता र पाठ्यक्रम विकास केन्द्रले अनुगमन नगर्नाले यस्तो स्थिति सिर्जना भएको हो, नियमअनुसार नै जाने हो भने कक्षा ४ सम्म ५ वटाभन्दा बढी किताब पढाउन पाइँदैन ।’

यसले विद्यार्थीको सिकाइ र मानसिक स्वास्थ्यमा समेत गम्भीर समस्या पुर्‍याउने जानकारहरु बताउँछन् । सानै उमेरमा विद्यार्थीलाई किताबको भारी बोकाउँदा उनीहरुको दिमाग बोधो हुँदै जाने उनीहरुको भनाइ छ । ‘उनीहरूको मुख्य मेहेनत गरेर सिक्ने समयमा सिकाइप्रति अत्यन्तै कम रुची हुने समस्या देखापर्छ‚’ भण्डारी थप्छन्, ‘त्योसँगै विद्यार्थी स्कुल जान नमान्ने, विद्यालयबाट घर फर्किएपछि खुसी नहुने, गृहकार्य गर्न मन नगर्ने, पढाइको मात्र दबाबले अरु कामप्रति रुचि नदेखाउने, कतै पनि नरमाउने समस्या देखापर्छ ।

वालवालिकाको शिक्षा तथा अभिभावकको भूमिकाबारे सुझाब दिइरहने शिक्षक मेदिन लामिछाने यसमा एकैपक्षको मात्र दोष भन्दा पनि हाम्रो सिकाइ र शिक्षण पद्धति अनि अभिभावकको भूमिका सबैका कारण यस्तो भएको बताउँछन् ।‘हाम्रो शिक्षा कहिले पनि पाठ्यक्रममुखी हुन सकेन । सधैँ किताबमुखी भयो । यो नै सबैभन्दा ठूलो गल्ति हो । यदि पाठ्यक्रमलाई पछ्याएर पठनपाठन सञ्चालन गर्ने हो भने विद्यालयले राखेको थप पाठ्यपुस्तक आवश्यक नै छैन’ उनी भन्छन्’, ‘पाठ्यक्रम केन्द्रित शिक्षा हुन्थ्यो भने कस्ता खालका सामग्री पढाउनेभन्ने थाहा हुन्थ्यो पाठ्यपुस्तक केन्द्रित भएपछि किताब विद्यार्थीलाई भिडायो, पाठ घोकायो यस्तै हुन थाल्यो‚ जुन गलत हो । सरकारले थप पाठ्यपुस्तक लागू गर्न पाउने नियम बनायो त्यतिबेला नै त्रुटी भएको हो । ‘

सरोकारवाला निकायले पाठ्यपुस्तक हुबहु पाठ्यक्रममा आधारित छ/छैन भनेर जाँच नगर्ने गरेको सरोकारवालाको गुनासो छ । पाठ्यक्रम विकास केन्द्रले नै यस्ता विद्यालयलाई खोजेर कारबाहीको दायरामा ल्याउनुपर्ने शिक्षक अभिभावक संघका अध्यक्ष भण्डारीको भनाइ छ ।

उनले भने,’ पाठ्यक्रम विकास केन्द्रले नै यस्ता विद्यालयलाई खोजेर कारबाहीको दायरामा ल्याउनुपर्छ । अभिभावकहरूले पनि आफ्ना बच्चाहरुमाथि विद्यालयले के थोपरिरहेको छ भन्ने बुझ्नुपर्छ । यो गम्भीर त्रुटी हो । यसले हाम्रो सन्तानको भविष्य नै धरापमा पार्छ । अधिकांश विद्यालयको हालत त्यस्तै छ । न अनुगमन हुन्छ‚ न कारबाही नै ।’

अभिभावकको भूमिका के हुनुपर्छ ?
हाम्रा अभिभावकले काँध तल झर्नेगरी पुस्तक बोकाएर आफ्ना बच्चालाई विद्यालय पठाउँदै गर्दा उनीहरुले सिकेका ती कुरा कति व्यवहारिक छन् त भन्नेबारे थोरै पनि सोच्दैनन् ।

अभिभावकहरूले पनि आफ्ना बच्चाहरुमाथि विद्यालयले के थोपरिरहेको छ भन्ने बुझ्नुपर्छ । हाम्रा अभिभावकले काँध तल झर्नेगरी पुस्तक बोकाएर आफ्ना बच्चालाई विद्यालय पठाउँदै गर्दा उनीहरुले सिकेका ती कुरा कति व्यवहारिक छन् त भन्नेबारे थोरै पनि सोच्दैनन् । यो गम्भीर त्रुटी हो । यसले हाम्रो सन्तानको भविष्य नै धरापमा पार्छ । अधिकांश विद्यालयको हालत त्यस्तै छ । न अनुगमन हुन्छ‚ न कारबाही नै । ‘यो समस्याको समाधान भनेकै पाठ्यपुस्तकमुखी नभएर पाठ्यक्रममुखी शिक्षा बनाउने हो‚’ यूलेन्स स्कुलका प्रधानाध्यापक मेदिन लामिछाने भन्छन्, ‘यसो भएमा शिक्षकले पनि पुस्तक होइन‚ पाठ्यक्रम खोज्न थाल्छन् । १ कक्षामा पढ्ने विद्यार्थीलाई पाठ्यपुस्तककै नाममा ११, १२ वटा किताब बोकाउनु र पढाउनु भनेको उनीहरुलाई अन्याय गर्नु हो । कक्षा १ देखि ४ सम्मका विद्यार्थीहरुका लागि सरकारले एकिकृत पाठ्यक्रम ल्याएको छ । त्यसलाई मात्रै कभर गर्ने हो भने थप केही पढाउनै पर्दैन । त्यहाँ भएका कुरा अरु कुनै पाठ्यपुस्तकमा पनि पाइँदैन ।’

त्यति राम्रा पुस्तक हुँदाहुँदै विद्यार्थीलाई अनावश्यक पुस्तक भिडाउनु नै नपर्ने बताए । अधिकांश स्कुलले पाठ्यक्रममा नभएका थप पुस्तक पढाएको भन्दै उनले यसरी विद्यार्थीलाई अनावश्यक भारी बोकाउन नपाइने उल्लेख गरे । ‘कहिलेकाही पढ्ने संस्कृति विकासका लागि थप एउटा रोचक अथवा सामान्य ज्ञानका किताब पढाउन सकिन्छ तर यसरी एउटै विषयका ३ वटासम्म किताब छापेर विद्यार्थीलाई भिडाउने काम धेरै गलत हो‚’ लामिछानेले भने‚ ‘यसले कहिल्यै सकारात्मक परिणाम ल्याउँदैन । स्कुलमा शिक्षकलाई कुन र कस्ता पुस्तक पढाउने भनेर छान्ने अधिकारमात्र दिएपनि केही हदसम्म समस्या समाधान हुनसक्छ ।’

के भन्छ विद्यालय ?
ब्राइट फ्युचर स्कुलका प्रधानाध्यापक बासुदेव कोइरालाले आफूहरुले कक्षा एकमा ११ वटा पुस्तक पढाएको कुरा स्वीकार गरेका छन् । बासुदेव भन्छन्, ‘हामीले एक दिनमा जम्मा ४ वटा कक्षा राखेका छौँ । पालोपालो गरी ११ ओटा विषय पढाउँछौँ । यसमा हाम्रो बाध्यता पनि लुकेको छ । अभिभावकहरू आफैँ पनि किताब र पढाइ कम भयो भन्दै आउनुहुन्छ ।’

पाठ्यक्रम विकास केन्द्रको पाठ्यक्रमले मात्र नपुगेकाले यी विषय राखिएको भन्दै उनले अब पनि पाठ्यक्रम विकास केन्द्रले यी विषय हटाउन निर्देशन दिन्छ भने  आफूहरू हटाउन तयार भएको उनले बताए । ‘अभिभावकले चाहिँ हाम्रो बच्चालाई किन यति धेरै पुस्तक भनेर गुनासो गर्नु भएको छैन । जुन पुस्तक पाठ्यक्रम विकास केन्द्रले कक्षा एकका लागि तोकेको छ‚ त्यो किताब हामीले विद्यार्थीलाई एलकेजीमा नै सिकाइसकेका हुन्छौँ‚’ उनले भने‚ ‘अब यसमा हामीले सुधार गर्नुपर्ने र हटाउनुपर्ने केही छ भने हामी हटाउँछौँ । विद्यार्थीको स्वास्थ्य र भविष्यप्रति गम्भीर असर पर्ने काम हामी पनि गर्दैनौँ ।’

के भन्छ पाठ्यक्रम विकास केन्द्र ?
पाठ्यक्रम विकास केन्द्रले भने यस विषयमा अनुगमन गरिरहेको जानकारी दिएको छ । केन्द्रका सूचना अधिकारी गणेशप्रसाद भट्टराईले भने, ‘पाठ्यक्रम विकास केन्द्रले नै तोकेको पाठ्यक्रमको किताब बाहेक अरु किताब पढाउन पाइँदैन । अहिले हामी उपत्यकाका त्यस्ता विद्यालयहरू खोजिरहेका छौँ । जति विद्यालयमा पाठ्यक्रम बाहिरको अनावश्यक किताबहरू पढाइरहेका छन् त्यसलाई हटाउन निर्देशन दिएका छौँ ।’

उपत्यका बाहिर र विकट क्षेत्रमा यसको जिम्मा पालिकाहरूलाई दिइएको भन्दै भट्टराईले त्यताबाट पनि फेला भएका र निर्देशन पालना नगर्नेलाई कारबाही हुने दाबी गरेका छन् । उपत्यका बाहिर नयाँ नक्सा छापिएको किताब पठाउने काम जनक शिक्षा सामग्री केन्द्रले सुरु गरिसकेको भन्दै काम पूरा हुनलाई अझै केही समय लाग्ने उनले बताए ।

भट्टराईले विद्यार्थीलाई मानसिक भारी र अभिभावकलाई आर्थिक भारी बोकाउने काम अन्त्य गर्न नै पाठ्यक्रम विकास केन्द्र अहिले सक्रिय भएर लागेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.