निलम्बित हुनसक्छन् घिमिरेमाथि हातपात गर्ने कांग्रेस क्षेत्रीय सभापति !

काठमाडौँ । कांग्रेसका क्रियाशील छानविनमा संलग्न केन्द्रीय सदस्य श्यामकुमार घिमिरेमाथि हातपात गर्ने सिन्धुपाल्चोक क्षेत्र नं. १ का सभापति बालकृष्ण बस्नेतसमेतलाई अनुशासन समितिले २४ घण्टे स्पष्टिकरण सोधेको छ । शनिबार बसेको पार्टीको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकको निर्देशनबमोजिम अनुशासन समितिले क्षेत्रीय सभापति बस्नेतलाई स्पष्टीकरण सोधेको हो ।

शुक्रबार घिमिरेमाथि हातपात भएपछि क्रियाशील सदस्यता छानविनको काम नै रोकिएको छ । घटनाका दोषीलाई कारवाहीको माग गर्दै छानविन समितिले त्यसपछि छानबिनका सबै काम ठप्प पारको हो । दोषीलाई कारवाही नभएसम्म क्रियाशील छानविनको कामै नगर्ने समितिको अडानपछि सभापति शेरबहादुर देउवाले शनिबार अपरान्ह आकस्मिक पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएका थिए । बैठकले घटनाको छानविन गरी दोषीलाई कारवाही गर्न अनुशासन समितिलाई निर्देशन दिएको थियो ।

पार्टीको अनुशासन समितिका संयोजक भीष्मराज आङ्देम्बेले हातपात गर्ने बस्नेत सहितलाई २४ घण्टे स्पष्टीकरण सोधिएको बताए । ‘हामीले स्पष्टीकरण सोधेका छौँ । उहाँले केन्द्रीय सदस्यमाथि किन हातपात गरेको हो ? त्यसको जवाफ मागेका छौँ । एउटा केन्द्रीय सदस्यमाथि हातपात भएको कुरा सामान्य होइन । छानविन समितिका सबै साथीहरुको त्यही गुनासो छ । सभापतिज्यू, वरिष्ठ नेता र अरु पदाधिकारी र पूर्वपदाधिकारीहरुले चासो देखाउनुभएको छ । यो गम्भीर कुरा हो । यसको वास्तविकता के हो ? स्पष्टीकरण आएपछि प्रष्ट होला,’ आङ्देम्बेले भने ।

कांग्रेसको विधानले अनुशासन उल्लंघन गर्नेलाई सदस्यताबाट निलम्बन गर्न सक्ने सम्मको व्यवस्था गरेको छ । विधानको दफा-३४ (१) को (च) मा कसैको पनि चरित्र हत्या हुने, व्यक्तिगत वा सामाजिक मर्यादा भंग हुने, सम्मानमा चोट पुग्ने वा वितृष्णा फैलिने, साम्प्रदायिक सद्भाव प्रतिकूल हुने कुनै पनि गतिविधि, व्यवहार, आचरण वा अभिव्यक्ति गरेमा अनुशासन उल्लंघन गरेको मानिने उल्लेख छ ।

निर्देशिकाको अनुशासन सम्बन्धी व्यवस्थामा कोही पनि अनुशासन उल्लंघन गर्ने व्यक्तिलाई स्पष्टीकरण माग्ने, आवश्यक देखिएमा छानविनका लागि सम्बन्धित व्यक्तिलाई झिकाउने वा स्थलगत जाँचबुझका लागि प्रतिनिधि खटाउने, अनुशासन समितिले विधान र नियमावली बमोजिम आवश्यक देखेमा जसका उपर उजुर परेको छ, त्यस्ता सदस्यलाई निर्णय नहुन्जेलसम्मका लागि निलम्बन गरी कारवाही चलाउन सक्नेछ । केन्द्रीय अनुशासन समितिले आफ्नो अधिकार, प्रदेश वा जिल्ला अनुशासन समितिलाई र प्रदेश अनुशासन समितिले आफ्नो केही अधिकारी जिल्ला अनुशासन समितिलाई प्रत्यायोजन गरी अनुशासन समितिको कुनै काम सम्पादन गर्न गराउन सक्ने वैधानिक व्यवस्था छ ।

अनुशासन समितिले बस्नेतलाई दोषी ठहर गरेमा उनको सदस्यता समेत निलम्बन हुन सक्ने एक नेताले बताए । तर, संयोगले हातपातको घटनामा संलग्न पीडक र पीडित सबै संस्थापनपक्षका हुन् । त्यसकारण उनीमाथि कडा कारवाही नहुन सक्ने आशंका पनि गरिएको छ । महाधिवेशनको मुखमा क्षेत्रीय सभापतिलाई सदस्यबाटै निलम्बन गर्दा आफैँलाई हानी हुने कुरा सभापति देउवाले प्रष्टसँग बुझेका छन् । ‘उहाँको जवाफ कस्तो आउँछ ? वास्तविक के भएको हो ? त्यो बुझेर कारवाहीको प्रक्रिया अघि बढाउँछौँ । मैले अहिल्यै उहाँको सदस्यता निलम्बन गर्छु भनेर हुने कुरा होइन,’ अनुशासन समितिका संयोजक आङ्देम्बेले भने ।

छानबिन समितिले भने मापदण्डबमोजिम छानविन गर्ने काम भइरहेकाले कार्यकर्ताले आक्रोसित हुनु जरुरी नभएको दाबी गरेको छ ।छानबिनकै विषयलाई लिएर हातपात भएको घटनाप्रति समितिको आपत्ति छ । ‘दोषीलाई कारवाही नभएसम्म हामी काम गर्दैनौँ । हामी रातदिन खटिएर पार्टीको काम गर्ने, अन्ततः हाम्रै जिऊज्यान नै जोखिममा पर्ने कुरा सामान्य हुनै सक्दैन,’ छानविन समितिका एक सदस्यले भने । ती सदस्यले छानविन समितिले पार्टीको विधान, निर्देशिका, निर्णयहरु र छानविन समितिले बनाएको मापदण्डमा आधारित भएर सदस्यता छानविनका काम गरिरहेकाले त्यसमा विवाद र झगडा गर्नुपर्ने कुनै कारण नभएको दाबी गरे ।

शुक्रबारको घटनापछि छानविन समितिले तत्कालै काम रोकेको, तर बाहिर हल्ला नगरेको ती नेताले बताए । छानबिन समितिले पार्टीको महाधिवेशन प्रभावित हुने सन्देश नजाओस् भनेर बाहिर हल्ला नगरेपनि पार्टीका नेताहरुलाई भने छानविन समितिमाथि भएको हातपातको घटनामा छानविन गरी दोषीलाई कारवाही नभएसम्म छानविनको काम अघि नबढाउने चेतावनी दिएको थियो । शुक्रबार बालुवाटारमा पदाधिकारी बैठक चलिरहेकै बेला यता गौशालास्थित नेपाल-भारतमैत्री धर्मशालामा केन्द्रीय सदस्य घिमिरेमाथि आक्रमण भएको थियो । त्यसबारे बैठकमा छलफल भएपनि बैठकले ठोस् निर्णय गरेको थिएन । प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गरेर निन्दा व्यक्त गर्दै त्यस्तो अनैतिक कार्य स्वीकार्य नहुने बताएका थिए ।

घटनामा कार्यकर्ताको दुव्र्यवहारबाट पीडित केन्द्रीय सदस्य घिमिरेले भने पार्टीमा अझैपनि तर्साएर, धाकधम्की देखाएर राजनीति गर्न चाहनेहरुको संख्या उत्तिकै रहेको बताए । ‘पार्टीमा अझैपनि धाकधम्की गर्ने, तर्साउने र त्यही आधारमा राजनीति गर्नेहरुको संख्या कम छैन । मलाई पनि उनीहरुले तर्साएर निर्णय गराउन सकिन्छ भन्ने सोचेका रहेछन्,’ घिमिरेले भने ।

शुक्रबार दिउँसो करिब ३० जनाको समूहमा केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतका कार्यकर्ता धर्मशाला पुगेका थिए । ‘करिब ३० जना साथीहरु हुनुहुन्थ्यो, त्यसमध्ये मैले चिनेको जिल्ला सभापतिको उम्मेदवार हरिसरण श्रेष्ठ, क्षेत्रीय सभापति बालकृष्ण बस्नेत र प्रेमध्वज लामा लगायतलाई मात्रै हो । अरुलाई चिन्दिनँ । सुरुमा गालीगलौज गर्नुभयो । अपशब्द बोल्नुभयो । होइन, त्यस्तो नबोल्नुस् भनेर सम्झाउन खोज्दा ममाथि हातपात भयो । लात्ती मुंड्की चलाउनुभयो,’ घिमिरेले भने । श्रोतका अनुसार सुरुवातमा उनीहरुले प्रदीप पौडेललाई खोजेका थिए । ‘उहाँहरुले प्रदिपजीलाई बोलाउन खोज्नुभएको रहेछ । त्यसपछि मलाई बोलाउनुभयो । म त पार्टीकै साथीहरु हुन् । भेटौँ, समस्या सुनाऔँ भनेर गेटबाहिर गएको थिएँ । तर, म निस्किनु नै ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 3 =