कांग्रेसका तीन कोइरालाको लन्च मिटिङ्ग, को बन्ला सभापतिको साझा उम्मेदवार ?

काठमाडौं । १४औं महाधिवेशन नजिकिँदै गर्दा नेपाली कांग्रेसको सभापतिमा आकांक्षी देखिएका कोइराला परिवारका तीन नेताले ‘लञ्च मिटिङ्ग’ गरेका छन् । महाराजगञ्जस्थित महामन्त्री डा. शशाङ्क कोइरालाको निवासमा डा. शेखर कोइराला र नेतृ सुजाता कोइराला पुगेका हुन् ।
कोइराला परिवारका तीन नेता एकै ठाउँमा जम्मा हुनुलाई कांग्रेस वृत्तमा महत्वका साथ हेरिएको छ । ‘खास केही योजना होइन, पारिवारिक भेटघाट हो । नियमित लन्च मिटिङ्गजस्तो मात्रै हो,’ डा. शसांक कोइरालाको सचिवालयले भन्यो ।

हाल महामन्त्री रहेको डा. शशाङ्क कांग्रेसका संस्थापक नेता बीपीका छोरा हुन् । डा. शेखर नोना कोइरालाका सुपुत्र हुन् भने सुजाता पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाकी छोरी हुन् । ‘आजै खास निर्णय हुने त कुरा होइन । तर, तीन नेता भेट हुँदा महाधिवेशनबारे छलफल हुने कुरा त सामान्य नै भयो,’ डा.शेखर कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले भनेका छन् । संस्थापनइत्तर समूहबाट महाधिवेशन एकैजना उम्मेदवार बनाउने विषयमा छलफल भइरहेका बेला कोइराला परिवारका तीन आकांक्षी एकै ठाउँमा बसेर छलफल गर्न लागेका हुन् ।

महामन्त्री कोइराला आफूले मात्रै सभापति देउवालाई पराजित गर्न सक्ने बताउँदै आएका छन् भने केन्द्रीय सदस्य डा. शेखर कांग्रेसको रुपान्तरण र भविष्यका लागि आफू सक्षम रहेको दाबी गरिरहेका छन् । उनी १३ औँ महाधिवेशन लगत्तैदेखि नै सभापतिको तयारीमा जुटेका छन् । उनले एक कार्यकाल मात्र पार्टी हाँक्ने र प्रधानमन्त्री आफू नबन्ने घोषणा नै गरेका छन् ।

नेतृ कोइरालाले पनि अहिलेसम्म कांग्रेसको सभापतिमा महिला नचुनिएको भन्दै आफू सभापतिका लागि सक्षम रहेको दाबी गरिरहेकी छिन् । एकले अर्काको साथ खोजिरहेका बेला तीन नेता एकै ठाउँमा भेला भएका बखत कांग्रेसको नेतृत्वमा कोइराला विरासत उभ्याउने विषयमा छलफल हुने र एक जनामात्रै उम्मेदवार बन्नेबारे योजना बन्न सक्ने नेताहरुको भनाइ छ । एकै उम्मेदवार चयन गर्नै भनिएपनि कसले कसलाई सभापतिमा छोड्ने वा सघाउने भन्ने विषयमा सहमति गर्न भने सजिलो नभएको स्वयम् नेताहरुले नै स्वीकार्ने गरेका छन् ।

यस्तै, हालै कांग्रेसको नेतृत्वमा बनेको सरकारमा आफ्नो समूहबाट कसलाई मन्त्री बनाउने भन्ने विषयमा समेत छलफल हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *