पुत्ला दहन (कविता)

पुत्ला दहन

प्रिय नेताज्यू, दाक्सु ।
नजिकैको चोकमा
हजुरको पुत्ला ह्वारह्वार जलिरहेछ
मुर्दावादको कर्कश नारा घन्किरहेछ ।
मैले देखिरहेछु छर्लङ्ग
हजुरको पुत्लामा आगो दन्किरहेछ ।
अझ घोरिएर हेर्छु,
हजुरको पुत्लामा स्वयम् हजुर नै जलिरहनुभएको छ ।

सहस्र प्रश्नको लहरहरु मनको समुद्रमा
हमेशा उठिरहन्छन्,
हजुरलाई यस्ता कुराले किन छुदैन ?
हजुरलाई विरोध प्रतिरोध किन मन पर्छ ?
हजुरको शासनकालमा यस्तो किन भएको ?
धुलोहरु सडकमा निर्लज्ज किन घुमेका ?
हजुरलाई चकमन्न अन्धकार किन मन पर्छ ?
बलात्कृत चेलीको चीत्कार
हजुरलाई किन मन्त्रमुग्ध सङ्गीत लाग्छ ?
भ्रष्टाचारको खेती भन्नु त ‘मुतको न्यानो’ हो,
तै पनि त्यै न्यानो हजुरलाई किन प्रिय लाग्छ ?
न्यानो हराएपछि किन घिन लाग्दैन ?
मूल्यबृद्धिको मनोमालिन्यले आफ्नै जनहरु पुरिँदा,
हजुर कसरी अग्लिनुभएको ?
हजुरकै अगाडि, हजुरकै माताजीलाई वेश्यालय पठाइँदा,
हजुरको टोपी किन ठाडै बसेको ?
हजुरकै छेउमा, हजुरकै छोरी बलात्कृत हुँदा,
हजुरका आँखाहरु किन नरसाएका ?
मनमा किन सुनामी उठ्न नसकेको ?
तन किन बारुद हुन नसकेको ?
हजुरकै अगाडि, हजुरकै मित्रहरूलाई अछुत घोषित गरिँदा,
हजुरको मन किन नकुँडिएको ?
मेरो समाजमा त असली नाम उच्चारण गरिँदा पनि
अपमानबोध हुन्छ,
र, बोलाउनकै लागि छद्मनाम राखिन्छ ।
हजुरको नाममा मुर्दावादको आशीर्वाद दिँदै
हजुरकै शरीरको बान्कीधारी पुत्ला जलाउँदा,
हजुरलाई किन अलिकति पनि नपोलेको ?

ढल्केरै सोच्छु,
हजुर साँच्चिकै पुत्ला हुनुहुन्छ,
जोसँग साँच्चिकै प्राण छैन
साँच्चिकै संवेदना छैन
साँच्चिकै चेतना छैन ।
शून्य चेतना र संवेग भएकाहरु
साँच्चिकै पुत्ला हुन्
नितान्त निर्जीव/निष्प्राण ।
यही कुरा बुझेभने तिनीहरुले
सम्झेर हजुरको शरीरलाई पुत्ला,
कुनैदिन हजुरलाई नै जलाउनेछन्,
त्यो बेला यही चोकमा बसेर हेर्न सकिनेछ
साँच्चिकै हजुरलाई दुख्छ कि दुख्दैन ?
पोल्छ कि पोल्दैन ?
हजुर चिच्याउनुहुन्छ कि चुपचाप डढ्नुहुन्छ?
कृपया म संवेदनशील प्राणीलाई
यस्तो अपशकुन दृश्य देख्नबाट बचाइदिनुहोस्,
थाहा छ, हजुरलाई त आफैं डढ्दा पनि पोल्दैन
तर, डढिरहेको मानिस देखेर मलाई पोल्नेछ ।
कृपया, मलाई यो सम्भावित कुदृश्यबाट बचाइदिनुहोस् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.