‘सर्वोच्चले अप्रत्यक्ष रुपमा संविधान संशोधन गर्‍यो’

काठमाडौं । गत असार २८ गते सरकारबाट बाहिरिएको नेकपा एमालेले सर्वोच्च अदालतको फैसलाले संविधानलाई नै अप्रत्यक्ष रुपमा संशोधन गरेको निष्कर्ष निकालेको छ । एमालेको शुक्रबार (आज) बसेको संसदीय दलको बैठकपछि पत्रकारहरुसँग कुराकानी गर्दै प्रवक्ता प्रदीपकुमार ज्ञवालीले भने— ‘पार्टीले सर्वोच्च अदालतले फैसलामार्फत मूलतः संविधान नै संशोधन गरेको ठहर गरेको छ ।’ यसअघि गत २८ गते सर्वोच्चले संसद् पुनःस्थापित भएकोसँगै प्रधानमन्त्री कांग्रेसका संसदीय दलका नेता शेरबहादुर देउवालाई बनाउन परमादेश दिएको थियो ।

यस्तै एमालेले राज्यका तीन अंग व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाबीचको सन्तुलन खल्बलाएको समेत उल्लेख गरेको छ । एमालेले पहिलो निर्णयमा भनेको छ— ‘लोकतन्त्रको स्तम्भका रुपमा रहेका राज्यका तीन अंगबीच पनि सर्वोच्च अदालतलेको फैसलाले असन्तुलन बनाइदिएको छ । यसले दलीय व्यवस्थामाथि नै प्रहार गरेको एमालेले ठहर गरेको छ ।’

बैठकले गत असार २७ गते एमाले कार्यदलले तयार पारेको १० बुँदे प्रस्ताव अनुमोदनसमेत गरेको छ । उसोभए अब एमाले एक हुन्छ ? भन्ने प्रश्नमा प्रवक्ता ज्ञवालीले भने— ‘प्रस्तावलाई पार्टीले अनुमोदन गरेको छ । अबको स्थितिले बताउला यो बारे । हेर्दै जाऔं । एक बनाउने कोसिस त छँदैछ ।’

यस्तै प्रवक्ता ज्ञवालीले एमाले लोकतान्त्रिक व्यवस्थालाई मान्ने पार्टी भएकोले सर्वोच्चको फैसलालाई अंगीकार गरेको बताए । ‘सर्वोच्चको फैसलाले धेरै प्रश्नहरु उब्जाएको छ । तै पनि एमाले पार्टीले लोकतान्त्रिक व्यवस्थालाई मान्ने भएकोले सर्वोच्चको फैसला मानेको हो र कार्यान्वयन पनि भएको हो ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *