कन्दहारमा मारिए भारतका प्रतिष्ठित फोटो पत्रकार सिद्दिकी

काठमाडौं । प्रसिद्ध भारतीय फोटोपत्रकार अफगानिस्तानको कन्दहारमा मारिएका छन् । बेलायती समाचार संस्था रोयटर्सका फोटो पत्रकार सिद्दिकीलाई बिहीबार राति तालिवानले गोली हानेर मारेको भारतीय संचारमाध्यमहरूले लेखेका छन् ।
उनी पाकिस्तान सीमानजिकै अफगानी सैनिक र तालिवानको भिडन्त भएको क्षेत्रमा फोटोपत्रकारिता गर्ने क्रममा मारिएको भारतीय अनलाइन पोर्टल ‘दी वायर’ले उल्लेख गरेको छ ।
उनले २०७२ सालमा नेपालको भूकम्पको समेत रिपोर्ट गरेका थिए । उनी सन् २०१० मा प्रशिक्षार्थी पत्रकारको रुपमा रोयटर्समा छिरेका थिए । सन् २०१८ मा ‘फिचर फोटोग्राफी’ विधामा उनले पत्रकारिता क्षेत्रको नोबेल पुरस्कार मानिने पुलित्जर पुरस्कार पाएका थिए ।
उक्त विधामा पुलित्जर पाउने उनी प्रथम भारतीय हुन । उनले रोहिङ्ग्या शरणार्थीका बारेमा गरेको सामग्रीमा पुरस्कार पाएका थिए । उनी हाल भारतको प्रमुख फोटोपत्रकारको रुपको रोयटर्समा आबद्ध थिए । सिद्दिकी चालिस वर्षका थिए ।








