बाबुरामलाई पनि भेटे विप्लवले

काठमडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले पूर्वमाओवादी नेता डा. बाबुराम भट्टराईलाई पनि भेटेका छन् । भट्टराईका प्रेस सल्लाहकार विश्वदीप पाण्डेयकाअनुसार भट्टराई र विप्लवबीच शुक्रबार (आज) बिहान राजनीतिक भेटघाट भएको हो । पाण्डेयले भनेका छन्— ‘निकै लामो समयपछि आज राजनीतिक अन्तरंग भेट भयो ।’
महासचिव चन्दसँगै स्थायी कमिटी सदस्य धर्मेन्द्र बाँस्तोला ‘कञ्चन’ पनि बाबुरामलाई भेट्न भट्टराई निवास टोखा पुगेका छन् । सत्तारुढ गठबन्धनमा रहेको जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष भट्टराई र विप्लवबीच वर्तमान राजनीतिक दृश्यबारे छलफल भएको छ ।
तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारसँग भएको तीनबुँदे सहमति गठबन्धनको सरकारमार्फत पूरा गर्न विप्लवले पहल थालेका छन् । जसअनुसार विप्लवले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, विपक्षी एमाले नेता माधवकुमार नेपाललगायतका नेताहरुसँग भेटघाट गरिसकेका छन् ।
ओली नेतृत्वको सरकारसँग विप्लव समूहले गत फागुन २१ गते तीनबुँदे सहमति गरेको थियो । उक्त सहमति पूरा नगर्दै ओलीको प्रधानमन्त्रीत्वकाल समाप्त भएपछि विप्लवले सत्तारुढ गठबन्धनका नेताहरुसँग छलफल बढाएका छन् । तीनबुँदै सहमतिमा विप्लव समूहका नेताहरु बिनासर्त रिहा हुनुपर्नेलगायतका सहमति गरिएका छन् ।








