प्रचण्ड–विप्लवबीच भेटवार्ता

काठमाडौं । सरकार परिवर्तनलगत्तै नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेका छन् । अध्यक्ष प्रचण्डलाई भेट्न महासचिव चन्द्रसँगै पार्टीका स्थायी कमिटी सदस्य धमेन्द्र बाँस्तोला ‘कञ्चन’ प्रचण्ड निवास खुमलटार पुगेका हुन् ।

केपी शर्मा ओली नेतृत्वको सरकारले ०७५ फागुन २८ गते प्रतिबन्ध लगाएको विप्लव समूहलाई ओली सरकारले नै ०७७ फागुन २१ गते मूलधारको राजनीतिमा समाहित गराएको थियो । विप्लव समूह मूलधारमा आएसँगै ओली सरकारले विप्लव समूहसँग तीनबुँदे सहमति भएको थियो । सहमति बुँदाकाअनुसार विप्लव समूहका सबै बन्दी नेताहरुलाई बिनासर्त रिहा गर्नुपर्ने वचनबद्धता गरिएको छ ।

सहमतिको ४ महिनापछि पनि बन्दी नेताहरु नछुटेपनि विप्लव समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लगायतका नेताहरु गत असार २० गते बालुवाटार पुगेर आफ्नो नेताहरु ‘चाँडै छुटून्’ भन्ने सन्देश छाडेका थिए । जवाफमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘तपाईंहरुको मागप्रति ध्यानाकर्षण भएको छ’ भनेका थिए । यसपछि ओली पदबाट बाहिरिएसँगै विप्लवले प्रचण्डलाई भेटेका हुन् ।

कांग्रेस सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाको नेतृत्वमा बनेको सरकारमा माओवादी केन्द्र दोस्रो ठूलो दल हो । सरकारसँग भएको सहमतिको कुरा लिएर विप्लव–कञ्चन प्रचण्डकहाँ पुगेका हुन् । उनीहरुबीच समसामयिक राजनीतिक विषयमा समेत कुराकानी भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *