अर्काइभ : सम्झनामा आदिकवि

भानुभक्तले नेपालीलाई जोडे : श्रवण मुकारुङ

नेपाली समाजमा प्रखर कविको छवि बनाएका श्रवण मुकारुङले विसं २०६३/६४ ताका ‘बिसे नगर्चीको बयान’ कविता संग्रहभित्र ‘भानुभक्त’ कवितालाई अटाएका छन् । आज आदिकवि भानुभक्त आचार्यको २०८औं जन्मजयन्ती मनाउँदै गर्दा भानुभक्तलाई कसरी सम्झिनुहुन्छ ? भनेर हामीले उहीँ कविता मुकारुङलाई सोधेका छौँ ।

आदिकवि ‘भानुभक्त’लाई कसरी सम्झिनुहुन्छ ?
म उहाँलाई राष्ट्रलाई नै जोड्ने एउटा प्रतीकका रुपमा सम्झिन्छु । उहाँले सांस्कृतिक, भाषिक तथा सामाजिक रुपमासमेत लेखनको विधाबाट नेपालीलाई जोड्ने काम गर्नुभएको छ । हामी सबैले सम्झिँदा ‘आदिकवि’ भनिसकेपछि सबैभन्दा पहिलो कवि, पुरानो कविकै रुपमा सम्झिनुपर्छ । उहाँलाई हामीले सम्मान गर्नुपर्छ । उहाँबाट सिक्न धेरै बाँकी छ, नेपाली समाजले । समकालीनमध्येको पनि उहाँ प्रखर हुनुहुन्थ्यो भनेर भनिन्थ्यो । उहाँलाई एउटा भाषिक तथा सांस्कृतिक अभियन्ता भन्दा पनि फरक पर्दैन ।

तपाईं आफैंले पनि ‘भानुभक्त’ कविता लेख्नुभयो, कुन ध्येयका साथ लेख्नुभएको थियो ?
त्यो कवितामा ‘डिकन्स्ट्रक्सन’ छ । कवितामा उहिलेको भानुभक्त र अहिलेको भानुभक्तलाई दाँजिएको छ । पहिले नेपालीको प्रतिनिधि शहरतिर लाग्थ्यो । अहिले त्यसको रुपान्तरिक रुप हो भन्नुपर्छ, नेपाली खाँडी मुलुकतिर जान्छ । जस्तो पूर्वीय दर्शनमा ८४ लाख वर्षपछि पुनः मानव चोला आउँछ भन्ने गरिन्छ, बुद्धिस्टहरुको कालचक्रको कुरा छ, डार्विनले पनि उही तरिकाले यसलाई व्याख्या गरेका छन् । यही हो, पहिलेको र अहिलेको भानुभक्तलाई दाँजिएको छ ।

तपाईं आफैं पनि कवि हुनुहुन्छ, भानुभक्तमा कति कवित्व देख्नुहुन्छ ?
कवित्वको कुरामा गर्नुपर्दा त उहाँ साँच्चै नै प्रखर हुनुहुन्थ्यो । ‘लामखुट्टे गाउने, उपियाँ नाँच्ने, आफू बसेर हेर्ने’ यसलाई हेर्नुस् त, तपाईं कति सोच्नु सक्नुहुन्छ ? यहाँ कति प्रखरता छ ? उहाँमा कवित्वको त कमी नै थिएन । अर्कोतिर वाल्मिकीको संस्कृत काव्यलाई नेपालीकरण गरेर उहाँले सम्पूर्ण नेपालीलाई भाषाको माध्यमबाट जोड्ने काम गर्नुभयो । नेपाली सौन्दर्यलाई उहाँले बचाइराख्नुभयो । यो कला जोकोहीमा हुँदै हुँदैन । उहाँको कवित्व साँच्चै नै कवित्व हो ।

तपाईंका ‘भानुभक्त’ कविता धेरैले रुचाउनुभयो नी, किन ?
यो एउटा मेरो ‘मास्टरपीस’ कविता हो । यद्यपि हरेक साल छापिन्छ । र यो कवितासँग म आफैं पनि सन्तुष्ट छु । मेरो यो कवितामा ‘डाइमेन्सन’हरु उत्तिकै प्रयोग भएका छन् । समाजलाई हेर्ने तहबाट, इतिहासलाई हेर्ने तहबाट सबै विम्वहरु मज्जाले प्रयोग भएका छन् । कला पक्षबाट पनि उत्तिकै मजबूद छ यो कविता । जस्तो पहिले भानुभक्तलाई बास नदिने काठमाडौंले आज दालभात दिन्छ । यो एउटा ‘डिकन्स्ट्रक्सन’ हो ।

अब नेपालमा पुनः भानुभक्त जन्मिन्छन् ?
सबै कुराको समयानुसार महत्व हुन्छ । श्रष्टाहरु पनि ठ्याक्कै त्यस्तै हुन् । कविहरु आइरहन्छन् । श्रष्टाहरु जन्मिरहन्छन् । तर, उहाँको योगदानलाई हामी सबैले कदर गर्नैपर्छ । उहाँले हामीलाई जोड्नमा ठूलो भूमिका निभाउनुभयो । रामायणको भाषिक पक्ष नै सबैभन्दा सवलताको विषय हो । यसैपनि श्रष्टाहरुको महत्व त भइ नै हाल्छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *