अन्तरजातीय विवाह : प्रहरी भन्छ- जंगलमा बसेको कुरा झुटो

धनगढी । कैलालीको भजनीमा अन्तरजातीय विवाह गरेर जंगललमा बस्न बाध्य पारिएको भनिएका एक जोडीलाई युवती पक्षले अलग्याएका छन् । जिल्लाको भजनी नगरपालिका- ४ का प्रकाश विश्वकर्मा र भजनी नगरपालिकाकी मालती रावललाई युवती पक्षका व्यक्तिहरू आएर अलग्याएका हुन् । उनीहरूले अन्तरजातीय विवाह गरेपछि परिवारले स्वीकार नगर्दा २१ दिनदेखि जंगलमै बस्न बाध्य भएको भन्दै भिडिओ सार्वजनिक गरेका थिए ।

यही असार ४ गते भागेर गएका उनीहरुलाई शुक्रबार केटी पक्षका मानिसहरु केटाको घरमै पुगेर अलग गरे । उनीहरुले युवतीलाई लिएर गएका छन् । केटाकेटीको भिडिओ सार्वजनिक भएर समाचारहरू आएको र केटीका अभिभावकले केटीलाई लिएर गएपछि नै प्रहरीले यस विषयमा सोधीखोजी गरेको हो । प्रहरीले यस विषयमा केटा पक्षसँग सोधपुछसमेत गरेको छ । केटासँगको सोधपुछमा उनीहरू जंगलमा अलपत्र परेको भन्ने विषय भने झुटो भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले उनीहरु असार ४ भागेर बुटवल गएर बसेका र बिहीबारमात्रै भजनी आएर केटाकै घरमा बसेको बताए । उनका अनुसार केटाकेटीले बुटवलबाट कैलाली आउने क्रममा कैलाली र बर्दिया जोड्ने कर्णालीको सत्तीपुल पारि जंगलमा भिडिओ बनाएर फेसबुकमा अपलोड गरेका थिए । भिडिओमा उनीहरूले अन्तरजातीय विवाह गरेका कारण केटी पक्षले धम्की दिएकाले २१ दिनदेखि आफूहरू जंगलमै बस्न बाध्य भएको भनेका छन् ।

यो पनि
प्रकाश विश्वकर्माको दुखेसो : ‘मालतीलाई मबाट बलजफती खोसियो’

‘अन्तरजातीय विवाह गरेर जंगलमा बस्न बाध्य भएको भन्ने खबर प्राप्त भएपछि प्रहरीले सोधीखोजी गरेको थियो,’ प्रवक्ता विष्टले भने, ‘केटाको घर पुग्दासम्म केटीलाई केटी पक्षका व्यक्तिहरू आएर लगिसकेका थिए । यस विषयमा केटासँग बुझ्दा कुरा अर्के आएको हो ।’ उनले २१ दिनदेखि जंगलमै बसेको भन्ने विषयचाहिँ गलत भएको बताए ।

केटा-केटीको उमेर कम
भागेर विवाह गरेको भनेका केटा-केटीको बिहे गर्ने उमेरसमेत पुगेको छैन । प्रवक्ता विष्टका अनुसार केटाको उमेर १९ वर्ष हो भने केटीको त्योभन्दा पनि कम छ । ‘उमेर नै नपुगेको अवस्थामा गरिएको भनिएको विवाह मान्य पनि हुँदैन, हामी त्यसलाई बिहे गरेको पनि भन्दैनौं,’ उनले भने, ‘उजुरी आएको खण्डमा केटाकेटीलाई आ-आफ्नो अभिभावकको जिम्मा लगाइदिन्थ्यौं । केटीलाई उनका आफन्त आएर आफैँ लिएर गइसकेको हुँदा अब यस विषयमा केही गरिराख्नु परेन ।’

यदि यसै घटनालाई जोडेर अन्य कुनै उजुरी आएको खण्डमा सोहीअनुसार घटनाबारे अनुसन्धान गरिने प्रवक्ता विष्टले बताए । उनले घटनाबारे सोधपुछका लागि केटाकेटीलाई नबोलाइएको पनि प्रष्ट पारे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *