नुवाकोटको पहिरो प्रभावित क्षेत्रमा राहत र पुनःस्थापनाका लागि पहल

काठमाडौँ । अविरल वर्षाका कारण नुवाकोटका विभिन्न क्षेत्रमा पहिरो तथा वर्षाजन्य विपद्का घटना बढ्दै गएपछि नुवाकोट-१ का प्रतिनिधिसभा सदस्य एवं सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत तथा पुनःस्थापनाका लागि सम्बन्धित निकायसँग तीव्र समन्वय र पहल अघि बढाएका छन् ।

जिल्लाको दुप्चेश्वर गाउँपालिका, सूर्यगढी गाउँपालिका, तादी गाउँपालिका, पञ्चकन्या गाउँपालिकालगायत क्षेत्रमा पहिरो र वर्षाजन्य विपद्का घटना भएका जानकारी प्राप्त भएपछि मन्त्री तिमिल्सिनाले प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख तथा सम्बन्धित सरकारी निकायका प्रतिनिधिहरूसँग तत्काल समन्वय गरी प्रभावित क्षेत्रको अवस्थाबारे जानकारी लिएका हुन् ।

उनले घटनास्थलको स्थलगत अनुगमन, नागरिकको सुरक्षा सुनिश्चितता, आवश्यक उद्धार तथा राहत कार्यलाई प्रभावकारी रूपमा सञ्चालन गर्न र क्षतिको यथार्थ विवरण सङ्कलन गर्न सम्बन्धित निकायलाई आग्रह गरे । सञ्चारमन्त्री डा तिमिल्सिनाले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय तथा अन्य सम्बन्धित निकायसँग निरन्तर सम्पर्क र समन्वय गरिरहेको उनको सचिवालयले जनाएको छ ।

त्यसैगरी दुप्चेश्वर, सूर्यगढी तथा पञ्चकन्या गाउँपालिकाका अध्यक्ष एवं स्थानीय जनप्रतिनिधिसँग प्रत्यक्ष संवाद गरी घटनास्थलको वस्तुस्थिति बुझ्ने, तत्काल आवश्यक सहयोगको व्यवस्थापन गर्ने तथा राहत, पुनस्र्थापना र पुनर्निर्माणका कार्यलाई प्रभावकारी रूपमा अघि बढाउने विषयमा आवश्यक समन्वय भइरहेको सचिवालयले जनाएको छ ।

यसैबीच, डा तिमिल्सिनाले सडक डिभिजन कार्यालय, नुवाकोटका प्रमुख इञ्जिनियर बद्री शर्मासँग मन्त्रालयमा भेट गरी अविरल वर्षाका कारण सडक, यातायात तथा अन्य पूर्वाधारमा पुगेको क्षतिबारे जानकारी लिएका छन् । भेटका क्रममा उनले अवरुद्ध सडक यथाशीघ्र सञ्चालनमा ल्याउन, प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यमा सहज पहुँच सुनिश्चित गर्न र आवश्यक मर्मत तथा पुनःस्थापनाका कामलाई प्राथमिकताका साथ तीव्र गतिमा अघि बढाउन निर्देशन दिएको सचिवालयले जनाएको छ ।

सञ्चारमन्त्रीले प्रमुख जिल्ला अधिकारीसँग पनि प्रत्यक्ष सम्पर्क गरी प्रभावित क्षेत्रको पछिल्लो अवस्थाबारे जानकारी लिँदै उद्धार, राहत, सडक सञ्चालन तथा अन्य अत्यावश्यक सेवाहरूलाई शीघ्र नियमित सञ्चालन गराउन आवश्यक समन्वय भइरहेको बताए । आवश्यकता अनुसार थप हस्तक्षेप तथा सहयोगका उपायबारे सम्बन्धित निकायसँग निरन्तर छलफल गरिने मन्त्रालयले जनाएको छ ।

हाल सम्बन्धित निकायहरू प्रभावित क्षेत्रमा परिचालित भई उद्धार, राहत वितरण, क्षतिको विवरण सङ्कलन तथा अन्य आवश्यक कार्यमा सक्रिय रूपमा खटिएका जनाइएको छ । प्राप्त विवरणका आधारमा प्रभावित क्षेत्रका समस्याको दीर्घकालीन तथा दिगो समाधानका लागि आवश्यक अध्ययन, समन्वय तथा पहलसमेत अघि बढाइने सञ्चारमन्त्री डा तिमिल्सिनाको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − 5 =