प्रकाश विश्वकर्माको दुखेसो

‘मालतीलाई मबाट बलजफती खोसियो’

काठमाडौं । कैलालीमा अन्तरजातीय विवाह गरेका प्रकाश विश्वकर्मा र मालती रावलले आफूहरुलाई परिवारले ‘रुकुम घटना दोहोरिन सक्छ’ भन्दै धम्की दिएको भिडिओमार्फत सार्वजनिक गरे । प्रकाश–मालतीले भिडिओमा भनेका छन्— ‘परिवारबाट रुकुम घटना दोहोरिन सक्छ भन्दै धम्की आइरहेको छ । हामीलाई बचाउनुहोस् ।’

कैलालीको भजनी नगरपालिका ४ झलझलियाका उनीहरुले अन्तरजातीय विवाह गरेकै कारण जंगलमा लुकेर बस्न बाध्य भएको सुनाएका छन् । यही घटनाको पृष्ठभूमिबारे मकालुखबरले प्रकाशलाई सोधेको थियो ।

मकालुखबरको जिज्ञासामा प्रकाशले यसो भनेका छन्ः—

हामी एकअर्कालाई पहिल्यैदेखि मन पराउँछौं । केही दिनअगाडि म मालतीलाई लिएर घर (कैलालीको भजनी गाउँपालिका—४) बाट बुटवल गएँ । बुटवलमा मेरो साथीकहाँ बस्यौँ । त्यहाँ हुँदा हामीलाई धेरै फोन र एसएमएसहरु आए, जहाँ हामीलाई धम्की दिइएको छ । जवाफमा हामीले कोही कसैलाई केही पनि भनेका छैनौँ ।

मेरो घरबाट पटक–पटक फोन आएपछि हामी पुनः घर फर्किने निर्णय गर्यौँ र फर्क्यौँ पनि । फर्किँदै गर्दा पनि त्यसैगरी नै धम्कीपूर्ण फोन र एसएमएसहरु आइरहे । त्यहाँ पनि खासगरी मालतीका दाइले धेरै धम्कीपूर्ण फोन र एसएमएसहरु गर्नुभएको छ । एसएमएस स्क्रीनसट गरेर पनि राखेका छौँ । उहाँले मलाई ‘रुकुम घटना याद छ कि छैन ?’ भन्दै धेरै एसएमएसहरु गर्नुभएको छ ।

घरमा बुबा मुटुको बिरामी हुनुहुन्छ । बुबा बिरामी भएकै कारण पनि हामी घर आउन बाध्य भयौँ । अर्कातिर घरका मान्छेले ‘तँ घर नआउने भए हामीलाई मार्छन्, घरमा आगो लगाउँछन्’ भनेपछि हामी आज शुक्रबार घर आइपुगेका थियौँ ।

हामी बाटोमा आउँदा जंगल–जंगल लुक्दै आउनुपरेको थियो । बाटोमा धेरै सास्ती भयो । हामी राति आएको भए जे पनि हुन सक्थ्यो होला । तर, हामी दिउँसो आयौँ ।

हामी घर पुगेको एकैछिनमा मालतीको माइती पक्षका धेरैजना आए । २० वटा बाइक र गाडीमा आएका उनीहरुले मालतीलाई गाडीमा हालेर लगे । मलाई पनि कुटेका छन् । हामीलाई गालीगलौज गरे, डुम, कामी अनेक भन्नु/नभन्नु भनेका छन् ।

तर, मालतीलाई मेरो साथबाट खोसेर लगे । मालतीले ‘म जान्नँ’ भन्दै थिइन् । तर, सुन्दै नसुनी हानकुट गर्दै गाडीमा लगे । शुरुमा मालतीकी आमा आउनुभयो र ‘एकछिन छोरीसँग कुरा गर्छु’ भन्दै उता लानुभयो र गाडीको छेऊमा पुगेपछि गाडीभित्र हुत्याइदिएर बलजफ्ती रुपमा मालतीलाई लानुभयो । मालतीले ‘म जान्नँ’ भनेर रोइकराइ गरेपनि लगिछाडे ।

मैले डरले प्रहरीलाई खबरसम्म गर्न सकेको छैन । हाम्रो पक्षबाट बोलिदिने कोही पनि छैन । हामी दुईजना एक वर्षदेखि प्रेममा थियौँ । ऊ गर्भवती भएको पनि एक महिना भयो । अब मलाई झन् डर लागेको छ । उसलाई पनि कुटेरै मार्छन् होला, मलाई त झन् के बाँकी राख्थे र ?
हामीलाई मार्छौं भनेर धम्की त दिइसकेका छन् । हामीले हाम्रो इच्छाले विवाह गरेका हौँ । म हामीलाई बचाउने मानिस खोजिरहेको छु ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *