विद्यार्थी आन्दोलन, छैन नयाँपन

टायर, पुल्ठो र इँट्टाढुँगा कै भरमा कहिलेसम्म ?

काठमाडौं । केही दिनयता सरकार विरोधी प्रदर्शन भइरहेका छन् । खासगरी विपक्षी गठबन्धनसम्बद्ध विद्यार्थी संगठनले प्रदर्शनको कर्मकाण्ड पूरा गरिरहेका छन् । कर्मकाण्ड यसअर्थमा कि उनीहरु निश्चित ठाउँमा हुरुरुरुरु पुग्छन् । हातमा पुल्ठा बोक्छन र गुडुङडुङ कुद्छन् । नारा लगाउँछन् ।

केही त भद्दा र सुन्दा कान बिझाउने खालका हुन्छन् । प्रहरीले पुल्ठा खोस्छ, भ्यानमा हाल्छ र केही समयपछि छोड्छ । यसपटककै कुरा गर्दा विद्यार्थीले शिक्षालयमा आगो लगाउने, कुर्सी जलाउनेदेखि प्राध्यापक र कर्मचारीलाई कालो मोसो लगाउने जस्ता अराजक र उदण्ड गतिविधि रोकेका छैनन् ।

यसपटकको विरोधमा टायर नै बालिएको नदेखिएपनि विरोध प्रदर्शन त्यही ‘टायर पुल्ठो’ को मानसिकताभन्दा माथि उठ्न सकेको छैन । राजनीतिक दलनिकट विद्यार्थीको विरोधको शैली दशकौँ अघिको हो । राजनीतिको ढाँचा ढर्रा नफेरिएको पुस्तान्तरण हुन नसकेकोलगायतका गुनासाहरु भइरहँदा विद्यार्थी र युवाले फेर्न नसकेको एउटा कुरा भनेको विरोधको शैली पनि हो ।

नेपालमा भएका सबै राजनीतिक अधिकार प्राप्तिका पछाडि विद्यार्थी आन्दोलनको महत्वपूर्ण भूमिका छ । तर, विद्यार्थीले आफ्ना कुरा स्थापित गराउन वा सरकार र सरोकारवालाको विरोध गर्दै आयोजना गर्ने विरोध प्रदर्शनमा रचनात्मकता भने फिटिक्कै नभेटिने गरेको गुनासो हुने गरेको छ ।

किन फेरिँदैन शैली
नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघका सभापति राजीव ढुङ्गाना विरोधको शैली परिवर्तन हुनुपर्ने भएपनि विभिन्न मुख्यत: सरकारकै कारण सम्भव नभएको बताउँछन् । भन्छन्- ‘विरोधको अहिलेको शैलीलाई परिवर्तन गर्नुपर्छ र अझै शान्तिपूर्ण विरोधलाई बढावा दिनुपर्छ भन्नेमा त हामी सधैं छलफलरत नै छौँ र गर्दै पनि आएका छौँ । हामी आफ्नो विरोधको शैलीलाई विस्तारै परिवर्तन गर्दै पनि छौँ ।’

राजनीतिको ढाँचा ढर्रा नफेरिएको पुस्तान्तरण हुन नसकेको लगायतका गुनासा भइरहँदा विद्यार्थी र युवाले फेर्न नसकेको एउटा कुरा भनेको विरोधको शैली पनि हो ।

सभापति ढुङ्गाना विद्यार्थी आन्दोलनको स्वरुप नफेरिनुमा राज्य नै दोषी भएको आरोप लगाउँछन् । मकालुखबरसँग उनले भने- ‘सरकारले यस्तो बनाइसक्यो कि, मानौँ विस्तारै गर्दा वा भन्दा अथवा रचनात्मक हुँदा सरकारले टेर्दै टेर्दैन । यसो हुँदा विद्यार्थी पनि आक्रोशित हुनै पर्ने बाध्यता छ । त्यसैले त्यसको प्याटर्न परिवर्तन नभएको हुनसक्छ ।’

‘सरकारी गतिविधि हेर्दा लाग्दैन कि रचनात्मक आन्दोलनमा जोड दिउँ भनेर । सरकारले नै यसरी प्रस्तुत हुन विद्यार्थीहरुलाई उद्दत गराएको छ’ उनी थप्छन् ।

माओवादी निकट अनेरास्ववियु (क्रान्तिक्रारी) का अध्यक्ष रञ्जित तामाङले आफूहरुले आन्दोलनको स्वरुप परिवर्तन गर्न खोजेको तर एकैचोटी सम्भव नभएको बताउँछन् । ‘हामीले पहिलेकाभन्दा अहिलेको आन्दोलनको स्वरुप फेर्न खोजेका छौँ र फेरिरहेका पनि छौँ ।’ एकैचोटी फेर्न त गाह्रो हुने भएकाले विस्तारै परिवर्तन गर्न खोजिरहेको उनको दाबी छ ।

उनी पनि सरकारले चर्को नाराबाजीसहित र उग्रता नदेखाइ सरकारले नसुन्ने दाबी गर्छन् । ‘अलिकति सरकार नै बढी भ्रष्ट भएको छ । यसैले पनि आन्दोलनकारीहरु बढी नै आक्रोशित हुने पनि गरेका छन् । तर, पनि यसको स्वरुप परिवर्तन हुनुपर्छ भन्नेमा हामी पनि छौँ । यसबारे बहसहरु गर्दैछौँ ।’

समीक्षा नहुँदा विरोधको स्वरुप फेरिएन
अहिले पनि दशकौँ अघिकै जस्तै विरोधको शैली रहनु तथा ढुँगामुडा, तोडफोड र आगजनी अनि होहल्लामा मात्र विश्वास गर्नुलाई धेरैले ‘युवा पुस्ताले सिर्जनशीलता गुमाएको’ रुपमा बुझ्दै आइएको छ ।

नेविसंघका सभापतिसमेत रहिसकेका कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्की राजनीतिक समीक्षा नहुँदा आन्दोलनको स्वरुप नफेरिएको ठान्छन् । ‘आन्दोलनको स्वरुप परिवतन हुनैपर्ने हो । तर, नेपालको सन्दर्भमा विचार/विमर्श र राजनीतिक समीक्षाको अभावले गर्दा यस्तो भएको हो भन्न सकिन्छ । अब नेपालका राजनीतिक दल यही दिशामा अगाडि बढ्नुपर्छ’ उनले भने ।

जर्मनीको उदाहरण दिँदै नेता कार्कीले भने- ‘नेपालमा विरोध गर्ने शैली पहिल्यैदेखि नै त्यति निको खालको छैन । मैले जर्मनीमा दशौं हजारको आन्दोलनमा उत्रिँदा पनि एउटा गमलासमेत नफुटेको देखेँ, तर हाम्रोमो बढी नै एग्रेसिभ भएर प्रस्तुत हुने गरिएको छ ।’ नेतृत्वमा नयाँ पुस्ता आएपनि आन्दोलनको शैलीमा नयाँपन नदेखिनु सुखद् नभएको नेता कार्कीको बुझाइ छ ।

नेपालमा भएका सबै राजनीतिक अधिकार प्राप्तिका पछाडि विद्यार्थी आन्दोलनको महत्वपूर्ण भूमिका छ । तर, विद्यार्थीले आफ्ना कुरा स्थापित गराउन वा सरकार र सरोकारवालाको विरोध गर्दै आयोजना गर्ने विरोध प्रदर्शनमा रचनात्मकता भने फिटिक्कै नभेटिने गरेको गुनासो हुने गरेको छ ।

अनेरास्ववियुको नेतृत्व सम्हाल्दै मूलधारको राजनीतिमा लागेका माओवादी केन्द्रका नेता लीलामणि पोखरेल भने राज्यले विपक्षी दल, नेता, समाज वा जनतालाई आक्रोशित बनाउने गरेको बताउँछन् । भन्छन्- ‘सरकारले नै बढी गरेपछि जनता, विपक्षी दल वा समूहरुले त्यसरी प्रस्तुत भइहाल्छन् नि ।’

राज्यले नै विद्यार्थीलगायतका नयाँ पुस्तालाई बढी ‘एग्रेसिभ’ बनाइरहेको नेता पोखरेलको भनाइ छ । ‘सायद आन्दोलनकारीहरुलाई लाग्दो हो कि रचनात्मक आन्दोलनले सरकारलाई छुनेवाला छैन । त्यसैले बढी एग्रेसिभ आन्दोलनमा जोड गरिएको हुन सक्छ ।’

त्यसो त पछिल्लो सरकारको कदमले रचनात्मक प्रदर्शनको माग नगर्ने नेता पोखरेलको भनाइ छ । ‘पछिल्लो समयको सरकारी उत्तरदायित्वलाई हेर्दा भने रचनात्मक प्रदर्शनको काम नै देखिँदैन । यसैले पनि विद्यार्थी नेताहरुमा त्यो आक्रोश देखिएको हुनसक्छ ।’ उनले भने ।

रचनात्मक आन्दोलनको अभ्यास
केही समय अघि सञ्चालन गरिएको ‘अकुपाइ बालुवाटार’, ‘बलात्कारबिरुद्ध रोष’ र कोरोनाको परीक्षण र खोपको माग गर्दै गरिएको आन्दोलन निकै रचनात्मक रहेको भन्दै चर्चा भए ।

ती आन्दोलनमा प्रयोग गरिएका नारा र पारा निकै प्रभावकारी पनि रहेको आयोजकको अनुभव छ । बलात्कार विरुद्धको रोष अभियानको आयोजकमध्येकी एक प्रकृत्ति भट्टराई बस्नेतले आफूहरुले त्यो बेलामा गरेका सडक गीति प्रदर्शनहरुको देश विदेशमा चर्चा भएको र त्यसले आफुहरुलाई हौसला मिलेको बताइन् ।

सायद आन्दोलनकारीहरुलाई लाग्दो हो कि रचनात्मक आन्दोलनले सरकारलाई छुनेवाला छैन । त्यसैले बढी एग्रेसिभ आन्दोलनमा जोड गरिएको हुन सक्छ ।

नेपालमा विवेकशील नेपाली दल खोलेका उज्वल थापाले विरोध प्रदर्शनमा नयाँपनको प्रयोग गरेका थिए । उनी महिलाविरुद्धका मुद्दामा राज्यको ध्यान आकर्षित गर्न महिलाकै पोशाकमा हातमा प्लेकार्ड बोकेर उभिन्थे । त्यस्तै नेपाल बन्द भइरहने बेलामा उनी ‘नेपाल खुला छ’ लेखेको प्लेकार्ड बोकेर माइती घरमा उभिँदा त्यसले धेरैलाई प्रभाव पारेको उनीसँगै सहयात्रा गरेका अभियन्ता शशिविक्रम कार्कीको अनुभव छ ।

थापासँग सहकार्य गरेका अर्का नेता तथा विवेकशील साझाका पार्टीका संयोजक मिलन पाण्डे भन्छन्- ‘सर्वप्रथमतः युवाहरुमा सिर्जनशीलता देखिँदैन । खासगरी विद्यार्थी संगठनकै कुरा गर्दाखेरि उहाँहरुमा सिर्जनशीलताको अभाव नै देखिन्छ । उहाँहरुको आन्दोलन र विरोधको शैली पुरानै हुनु भनेको दुखद् हो ।’

पुरानो पार्टीहरु विवेकशील साझाबाट पनि सिक्न नमानेको संयोजक पाण्डेको पुष्ट्याइँ छ । ‘विगतका नेताहरुले जसरी विरोध गर्नुहुन्थ्यो । त्यसैगरी अझै पनि विरोध हुनु वास्तवमै नयाँ पुस्तामा सिर्जनशीलता नहुनु हो,’ संयोजक पाण्डेले भने- ‘पूजा गर्दा बिरालो बाँध्नैपर्ने खालको संस्कार विकास भएको छ ।’

राजनीति र आन्दोलनको सम्बन्ध
राजनीतिशास्त्रका प्राध्यापक लोकराज बराल राजनीति र आन्दोलन सँगसँगै रहने बताउँछन् । ‘राजनीति बिग्र्यो भने आन्दोलन हुने हो । त्यहाँ आन्दोलन भएन भने राजनीतिको कुनै अर्थ नै रहँदैन । साधारणतयाः आन्दोलन (प्रदर्शन) हुने भनेकै राजनीतिक एजेण्डाहरुबारे मत नमिल्दा हुने हो । यो एउटा स्वाभाविक प्रक्रिया हो, चलिरहन्छ । त्यसो हुँदा जहाँ राजनीति त्यहाँ आन्दोलन र जहाँ आन्दोलन त्यहाँ राजनीति हुन्छ ।’

राजनीति र आन्दोलनलाई परिपूरकको रुपमा अर्थ्याएका बरालले थपे- ‘राजनीतिभित्र आन्दोलन हुनुलाई अस्वाभाविक रुपमा लिनुहुन्न । यो स्वाभाविक प्रक्रिया हो ।’

अहिलेको अवस्थामा भने सरकारविरोधी आन्दोलन चर्किनैपर्ने बरालको बुझाइ छ । ‘अहिलेको आन्दोलन हुन स्वाभाविक हो । प्रधानमन्त्रीको जुन कदम छ । त्यसलाई परास्त गर्नको लागि खासगरी विद्यार्थीहरु जुट्नु सही हो’ उनले भने तर विरोध र आन्दोलनको शैली नफेरिएकोमा भने मलाई पनि चित्त बुझेको छैन ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *