इंग्ल्यान्ड र डेनमार्कको ११० वर्ष पुरानो खेल‚ यस्तो छ अहिलेसम्मको गणित

काठमाडौं । आज राति १२:४५ मा हुने इंग्ल्यान्ड र डेनमार्कबीचको युरोपकको सेमिफाइनलमा धेरैको चासो छ । प्रायः निर्णयक खेलमा जर्मनीसँग हार्दै आएको इंग्ल्यान्ड २-० को क्वाटरफाइनल जितेपछि उत्साहित छ । समूहचरणमा फिनल्यान्ड र बेल्जियमसँग हारेको डेनमार्क पनि पछिल्ला तीन खेलमा रसियालाई ४-१, वेल्सलाई ४-० र चेक रिपब्लिकलाई २-१ ले पराजित गर्दै हौसिएको छ ।

यूनियन अफ युरोपियन फुटबल एसोसिएसन्सको आधिकारिक वेबसाइटका अनुसार सबैभन्दा पहिलो इंग्ल्यान्ड र डेनमार्कको फुटबल भिडन्त ११० वर्षअघि सन् १९११ मा लन्डनमा भएको थियो । त्यो अनौपचारिक मैत्रीपूर्ण खेल थियो । जसमा इंग्ल्यान्ड ३-० ले विजयी बन्यो । सन् १९१४ मा कोपनहेगनमा खेलिएको अर्को अनौपचारिक मैत्रीपूर्ण खेलमा सोही अन्तरले डेनमार्क विजयी भयो । आजको सेमिफाइनल अगाडिसम्म २१ पटक भेट भएका छन् यी दुई देश । जसमा पाँच खेल बराबरीमा रोकिएका छन् । इंग्ल्यान्ड १२ खेलमा र डेनमार्क चार खेलमा विजयी भएका छन् ।

युरोपकमा यी देश पाँच पटक भेट भएका छन् । जसमा २ खेल बराबरीमा रोकिएका छन् । इंग्ल्यान्ड दुई खेल र डेनमार्क एक खेलमा विजयी भएको इतिहास छ । गोल अन्तर पनि धेरै देखिँदैन । इंग्ल्यान्डले ७ र डेनमार्कले ६ गोल गरेको देखिन्छ ।

आजको खेलको अर्को रोचक पक्ष भनेको आज इंग्ल्यान्ड विजयी भएमा फाइनल पुगेको इतिहास बन्नेछ । युरोपकको ६ दशक लामो इतिहासमा इंग्ल्यान्ड अहिलेसम्म फाइनल पुगेको छैन । डेनमार्क भने सन् १९९२ को विजेता हो । जहाँ उसले फाइनलमा जर्मनीलाई २-० ले फाइनलमा पराजित गरेको थियो । डेनमार्क विजयी बनेर फाइनलमा पुगेमा यो उसको दोस्रो फाइनल यात्रा हुनेछ । फिफा वरीयतामा चौथो स्थानमा भएको इंग्ल्यान्ड र दसौँ वरीयताको डेनमार्कबीचको खेल लन्डनको वेम्बली रंगशालामै हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *