हार्न बिर्सिएका दुई दाबेदार : वेम्बलीमा कसको चल्ला जादु ?

काठमाडौं । युरो २०२० मा मंगलबार मध्यराति १२:४५ मा स्पेन र इटाली खेल्दैछन् । इंग्ल्यान्डको वेम्बली मैदानमा हुने यो खेल यसकारण पनि बहुप्रतिक्षित छ कि यी दुवै टीमले पछिल्लो समय हार्न बिर्सिएका छन् । स्पेन पछिल्ला २९ खेलमा एकपटक मात्र पराजित भएको छ । अझ अक्टोबरयता त ‘ला रोजा’ १३ खेलमा अपराजित छ ।

त्यसो त रोबर्टो मान्सिनीको टिम इटालीको कथा पनि कम सनसनीपूर्ण छैन । इटाली सन् २०१८ को सेप्टेम्बरयता पराजित भएको छैन । एकपछि अर्को कीर्तिमानको पहाड उक्लँदै आज इंग्ल्यान्डको वेम्बली मैदानमा उत्रँदै गर्दा ‘अजुरी’ ३२ खेलको अपराजित यात्रालाई अझ अघि बढाउने सोचमा हुनेछ ।

इटालीको खेलसँगै शुरु भएको युरो २०२० को समापन पनि आफ्नै खेलबाट गर्न इटाली आतुर छ । त्यसका लागि उसले सेमिफाइनलमा पहिले स्पेनको बाधा पन्छाउनुपर्ने हुन्छ ।

अहिलेसम्म इटालीको प्रदर्शन वास्तवमै लोभलाग्दो छ । त्यसैले आज स्पेन र इटालीको खेललाई धेरैले फाइनल सरह हुने लख काटिरहेका छन् ।

सन् २०१८ को मे महिनामा रोबर्टो मान्सिनीले इटालीको टिम सम्हालेयता इटालीको ‘वेग’ थामिएको छैन ।

अन्तिम १६ मा अस्ट्रियाले दिएको चुनौती संघर्षपूर्ण रहेपनि इटालीले बाँकी खेलमा आफ्नो रवाफिलो प्रदर्शन जारी राख्यो । अझ क्वाटरफाइनलमा फिफा वरीयताको शीर्षस्थानमा रहेको टिम बेल्जियमलाई हराएर ‘अजुरी’ले आत्मविश्वासलाई झनै माथि पुर्‍याएको छ ।

स्पेनिस प्रशिक्षक लुइस एनरिकेले केहि समयअघि यो पटकको युरोमा स्पेनमात्र राम्रो भएको दाबी गरेका थिए । हुन त एक प्रशिक्षकलाई आफ्नो टीमप्रति धेरै नै विश्वास हुनु स्वभाविक हो । अब एनरिकेसामु त्यो भनाइलाई खेल मैदानमा प्रमाणित गर्नुपर्ने चुनौती छ । सम्भवतः उनका अघि जारी युरोकै सर्वाधिक ‘कम्प्याक्ट’ टीम मैदानमा हुनेछ । र अर्को कुरा के पनि हो भने इटालीलाई हराउन सके युवा खेलाडीले भरिएको स्पेन साँच्चै बलियो टिम हो भनेर उनले मात्र होइन‚ सबैले भन्नेछन् ।

सन् २०१८ को मे महिनामा रोबर्टो मान्सिनीले इटालीको टिम सम्हालेयता इटालीको ‘वेग’ थामिएको छैन । उनले टिममा यति धेरै परिवर्तन ल्याए कि अचेल इटाली लगातार तीव्र गतिमा फुटबल खेल्न सक्ने भएको छ । लगातार आक्रमण र विपक्षीमाथि निरन्तर दबाबलाई मान्सिनीको विशेषताका रुपमा अर्थ्याउन थालिएको छ । र इटालीको वेगमा ब्रेक लगाउने टिम कुन होला भनेर चासो पनि भइरहेको छ ।

यो पनि
इटालीको वेगमा कुन टिमले लगाउला ब्रेक ?

इटालीको रक्षापंक्ति सधैँ बलियो मानिएको छ । दुई अनुभवी सेन्टर ब्याक लियोनार्डो बोनुची र जर्जियो चिलिनी ‘बुढ्यौली’मा पनि उत्तिकै फर्ममा छन् । एक दशकदेखि निरन्तर उही गतिमा फुटबलसँग दौडिनु चानचुने उपलब्धि होइन‚ त्यसैले त ‘अजुरी’ युरो उपाधिको हकदार मानिएको छ ।

जारी युरोमा इटालीले दुई गोलमात्र खाएको छ । त्यसविपरीत स्पेनको रक्षापंक्ति भने सम्हालिँदैछ । फ्रान्स छाडेर स्पेनी भएका आयमेरिक लोपार्टे टिमको सेन्टर ब्याकको खम्बाका रुपमा रहेका छन् ।

Euro 2020 Semifinal Preview: Italy Vs Spain, Predictions, Lineups & More

यद्यपि स्पेनको फर्वार्ड लाइनअपमा भने निरन्तर प्रश्न उठिररहेका छन् । आक्रमणको जिम्मेवारीमा रहेका अल्भारो मोराटा अहिलेसम्म मैदानमा जम्न सकेका छैनन् । त्यसैले आज स्पेनलाई कुनै पनि गल्तीको छुट हुने छैन । क्वाटरफाइनलमा पनि स्वीट्जरल्यान्डसँग लगातारजसो पोस्ट चार्ज गरे पनि गोल गर्न नसक्दा स्पेनको फर्वार्ड लाइनअपमा युरो २०२० जित्न चाहिनेजस्तो परिपक्वता देखिइनसकेको हो कि भन्ने प्रश्न उठेका छन् । त्यसैले पनि स्पेनले मैदानमा बल नियन्त्रणमा लिने खेल देखाउने तर गोल गर्न भने हच्किने गरेको अभियोगको जवाफ मैदानमा दिनुपर्नेछ । त्यसो त स्पेनले क्रोएशिया जस्तो टिमसँग ५ गोल गरेर गोल गर्ने क्षमता रहेको जनाउ भने दिइसकेको छ ।

तथ्य तथ्याङ्क
• समग्रमा ३३ पटक एकअर्कासँग खेलेका यी दुई टीममा स्पेनले १२ पटक जित निकाल्दा इटालीले ९ पटक जितेको छ । बाँकी १२ खेल बराबरी भएका छन् ।
• युरोपियन च्याम्पियनसिपमा इटाली र स्पेनबीच आज सातौं भेट हुन लागेको हो । यसअघि २०१२ मा भएको युरोपियन च्याम्पियनसिपको फाइनलमा स्पेनले इटालीमाथि ४-० को सानदार जित निकालेको थियो ।
• तर, २०१६ को युरोपियन च्याम्पियनसिपको प्रि क्वाटरफाइनलमा भने स्पेन २-० ले पराजित भएको थियो ।
• सन् २०१२ पछि दुवै टीम कुनैपनि मुख्य प्रतियोगितामा पहिलो पटक सेमिफाइनलमा पुग्न सफल भएका छन् ।
• यी दुई टीमले समग्रमा एक-अर्कामा गरी नौ पटक मुख्य प्रतियोगिता (विश्वकप/युरो) को उपाधि जितेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *