इटालीको वेगमा कुन टिमले लगाउला ब्रेक ?

काठमाडौं । युरो २०२० मा सेमिफाइनल समीकरण पूरा भएको छ । जहाँ अब फाइनल प्रवेशका लागि इटालीले स्पेन तथा इंग्ल्यान्डले डेनमार्कसँग खेल्दैछन् । इटालीले यूरोको दाबेदार बेल्जियमलाई पाखा लगाएकाले पनि इटालीको टीम बढी चर्चामा रहेको छ ।

सन् २०१८ को विश्‍वकपमा छनोट हुन नसकेर आलोचित बनेको इटाली आफ्नो पुरानो साख फर्काउन निरन्तर प्रयासमा छ । चार पटकको विश्‍वकप विजेता भएर पनि छनोटमै असफल भएपछि तत्कालीन प्रशिक्षक जियान पिएरो भेन्टुरा पदमुक्त भए । त्यसपछि खस्किएको र गलेको इटालीको जिम्मा लिए पूर्वम्यानचेस्टर सिटीका प्रशिक्षक रोबर्टो मान्सिनीले ।

मान्सिनीको प्रशिक्षणमा इटालीले लडेको धुलोमात्रै टक्टक्याएन आफूलाई ३२ खेलसम्म अपराजित राख्दै आफ्नै कीर्तिमान तोड्दै अघि बढिरहेको छ । इटालीको यो वेगमा कुन टीमले ब्रेक लगाउला भन्ने प्रश्न सतहमा छ ।

मे २८, २०१८ यता इटालीले जम्मा दुई खेलमा मात्रै हार व्यहोर्नुपरेको छ । मान्सिनीको परीक्षाका रुपमा मानिएको युरो २०२० ले एकपछि अर्को जवाफ दिएको छ । समूह चरणसम्म पनि इटालीलाई… कमजोर टीमलाई हराएर सान देखाएको आरोप लाग्ने गरेको थियो । तर क्वाटरफाइनलमा बेल्जियमलाई पाखा लगाउँदै इटालीले त्यसो भन्नेहरुलाई गतिलो जवाफ दिइरहेकै छ ।

 

युरो छनौटमा शतप्रतिशत जित, छनोटका १० खेलमा ३४ गोलपछि अब पछिल्ला ३२ खेलमा अपराजित छ इटाली । सन् १९३० को दशकमा भिट्टारियो पोज्जोले इटालीलाई ३० खेलमा अपराजित राखेको कीर्तिमान तोडेर मानसिनि अघि बढेका छन् ।

त्यसो त उनी फुटबलका प्रतिभावान डिजाइनरसमेत हुन् । मान्सिनीले अहिले युवा र अनुभवी टीमलाई दौडाइरहेका छन् । २२ वर्षीय जिजियो डोनारुमादेखि ३८ वर्षीय चिलिनीसम्म एउटै टीममा उत्साहका साथ अटाएका छन् ।

बलियो रक्षापंक्ति इटालीको विशेषता हो । मानसिनीप्रति विश्‍वास बढेरै इटालीयन फुटबल संघले उनलाई सन् २०२६ सम्मका लागि प्रशिक्षकमा बनाउने निर्णय गरेको छ । खेलाडी जीवनमा राष्ट्रिय टिमबाट महत्वपूर्ण उपाधि नजितेका मानसिनी अब प्रशिक्षकको रुपमा त्यो खडेरीबाट केवल दुई जित मात्रा टाढा छन् । सन् १९६८ पछि युरोकप उपाधि जित्नु एउटा ठुलो सपना पूरा हुनु पनि हो ।

यो सपना पूरा गर्न अघि बढिरहेको इटालीले सेमिफाइनलमा स्पेनसँग खेल्दैछ । तीनपटकको युरो विजेता स्पेन पनि यसपटक आफूलाई उपाधि दाबेदारका रुपमा अघि बढाइरहेको टीम हो । क्रोएसियालाई ५-३ ले पाखा लगाएको स्पेन क्वाटरफाइनलमा स्विजरल्यान्डलाई पेनाल्टीमा हराउँदै सेमिफाइनल पुगेको हो ।

फ्रान्सलाई हराएर सनसनीपूर्ण रुपमा क्वाटरफाइनल पुगेको स्विट्जरल्यान्डको यात्रामा ब्रेक लगाएको स्पेनले अपराजित खेलको कीर्तिमानका साथ उपाधि उचाल्ने धुनमा रहेको इटालीको यात्रामा ब्रेक लगाउला वा आफैं पराजित भएर घर फर्केला त्यसका लागि भने युरे २०२० को पहिलो सेमिफाइनलसम्म कुर्नैपर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *