एमाले विवाद

संस्थापन पक्षका ३ नेता नेपाल निवासमा

काठमाडौं । विपक्षी एमाले नेता माधवकुमार नेपाललाई भेट्न संस्थापन पक्षका नेताहरु निवासमै पुगेका छन् । एकताको अन्तिम प्रयासस्वरुप संस्थापन पक्षका ३ नेताहरु नेपालनिवास कोटेश्वर पुगेका हुन् । नेता सुवासचन्द्र नेम्वाङ्गले भने— ‘एकताकै प्रयास्वरुप हामी आएको हौँ । कुराकानी हुँदैछ । यहाँ यसै हुन्छ भन्नेबारे निश्चित छैन ।कुरा मिल्न पनि सक्छ । नमिल्न पनि सक्छ ।’

संस्थापन पक्षको केन्द्रीय कमिटी बैठकले दुई दिनभित्र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनेलगायतका विषयमा विपक्षी एमालेले गरेको हस्ताक्षर फिर्ता गर्न निर्देशन दिएपछि ३ नेताहरु नेपालनिवास पुगेका हुन् । एमालेको आन्तरिक समस्या समाधान गर्नेगरी यसअघि नै गठन भएको कार्यदलमा रहेका नेताहरु लगातार सम्वादमा छन् । विगत एक महिनायता संस्थापन पक्षले जसरी भएपनि एमाले एकता अपरिहार्य मान्दै आएकोमा इतर पक्षले आफ्नो मागअनुसार पार्टी नचलेको बताउँदै आएको छ । एक नेताले भने— ‘हामी लगातार वार्तामा छौँ । तर, इतर पक्षले नमान्दा समस्या भएको छ । अझै मान्ने छाटकाँट देखिँदैन ।’

यसअघि शनिबार (हिजो) दुई पक्षका ६ जना नेताबीच ललितपुरको समिट होटलमा वार्ता भएको थियो । सो वार्तामा सर्वोच्च अदालतमा बुझाइएको हस्ताक्षरलाई सहमतिको पूर्वसर्त बनाउने सहमति भएको थियो । यसबारेमा प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग कुरा राख्ने भन्दै पोखरेल, नेम्वाङ र पौडेल बालुवाटार फर्केका थिए ।

तर, बालुवाटारमा बसेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले हस्ताक्षर फिर्ता नभएसम्म कुनै कुरा नगर्ने भन्दै नेपाल पक्षलाई कारबाही गरिने ब्रिफिङ्ग गरेका थिए । यही सन्दर्भमा ३ नेताहरु नेपाल निवास पुगेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *