सम्झनामा बीएस थापा

काठमाडौँ । आज असार १९ गते, कलाकर्मी बीएस थापाको ९४औं जन्मजयन्ती । भारतको देहरादुनमा जन्मिएका थापाले पहिलो पटक नेपालमा २०२१ सालमा निजी लगानीमा बनेको चलचित्र ‘माइतीघर’ निर्देशन गरेका थिए । यस चलचित्रको रेकर्डिङ्ग उनले भारतको मुम्बईमा गराएका थिए ।

माइतीघर चलचित्रमार्फत उनले भारतीय कलाकार माला सिन्हा, सुनिल दत्त र राजेन्द्र नाथलाई नेपाली चलचित्रमा भित्र्याए । त्यसपछि उनी पुनः भारत फर्किए । भारतमा सफलता प्राप्त गरेपश्चात् उनी नेपाली चलचित्र क्षेत्रमा जोडिएका हुन् ।

तर, जब नेपाली चलचित्र क्षेत्र सङ्कटमा पर्यो, चलचित्र निर्माण कम हुन थाल्यो र चलचित्रकर्मी पलायन हुन थाले । उनै बीएस आएर चलचित्र ‘कान्छी’ निर्माण गरे । चलचित्र कान्छीमार्फत उनले शर्मिला शाह (मल्ल) लाई नेपाली चलचित्रमा ब्रेक दिएका थिए । सुस्ताएको चलचित्र जगमा उनको यो चलचित्रले दर्शकलाई हलसम्म आउने अवस्था सिर्जना गर्यो । त्यसपछि उनले अर्को चलचित्र ‘माया प्रीति’ निर्माण गरे । जसमा उनले रवीन्द्र खड्का र कृष्ण मल्ललाई अवसर दिए ।

मुम्बईमा प्रसिद्ध सङ्गीतकारका रूपमा रहेका उनले भारतीय तथा भोजपुरी चलचित्रसमेत निर्माण गरेका थिए । उनले प्रसिद्ध निर्देशक विनोद खन्नसँग धेरै पटक सहकार्य गरेको चलचित्र निर्देशक तथा समीक्षक प्रकाश सायमी बताउँछन् ।

सायमीकाअनुसार भारतीय गायिका लता मंगेशकरलाई नेपाली गीत गाउन लगाउने श्रेय पनि उनलाई नै जान्छ । प्रेमध्वज प्रधान, अरुणा लामालगायतलाई चलचित्रको सङ्गीतमा उनले नै ल्याएका हुन् । गोपाल योञ्जन, किरण प्रधान, अरुणा लामा, चेतन कार्कीलगायतसँग सहकार्य गरी नेपाली सङ्गीतको क्षेत्रमा महत्त्वपूर्ण योगदान गरेका छन् ।

आफ्नो जीवनकालमा अत्यधिक पटकथा र संवाद लेखेका थापाले अधिकांश चलचित्रमा अदालतको दृश्य समावेश गरेका छन् । उनी स्वयम्ले पनि कानुन पढेको भएर उनले गरेका अदालतका दृश्यहरूलाई अब्बल मान्ने गरिएको पनि सायमी बताउँछन् ।

*यसअघि भुलवश अर्कै तस्बिर पर्न गएकोमा सच्याएका छौँ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *