लुम्बिनी प्रदेश

रायमाझीको राजीनामापछि मुख्यमन्त्री पोखरेल सङ्कटमा

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा), नेपालका चारजना प्रदेश सभा सदस्यको समर्थनमा दोस्रो पटक लुम्बिनी प्रदेश सरकारको मुख्यमन्त्रीको जिम्मेवारी पाएका शंकर पोखरेल पुनः अल्पमतमा परेका छन् । भौतिक पूर्वाधार विकास राज्यमन्त्री सुमन शर्मा रायमाझीले पार्टीको निर्णयविपरीत सरकारलाई समर्थन गर्न नसक्ने भन्दै शुक्रबार (आज) राजीनामा दिएपछि मुख्यमन्त्री पोखरेल अल्पमतमा परेका हुन् ।

४२ जना सांसदको समर्थनमा मुख्यमन्त्री बनेका पोखरेल रायमाझीको राजीनामासँगै फेरि सङ्कटमा परेका हुन् । माओवादी केन्द्रले आफूविरुद्ध  गत बैशाख ६ गते अविश्वास प्रस्ताव दर्ता गराएपछि सोही दिन नै महन्थ ठाकुरपक्षीय जसपाका ४ प्रदेश सभा सदस्यलाई मन्त्री बनाएर सरकारमा सहभागी गराएका थिए । त्योसँगै केही महिना ढुक्क भएका मुख्यमन्त्री पोखरले पुनः सङ्कटमा परेका हुन् ।

आफूविरुद्ध प्रदेश सभा सचिवालयमा परेको अविश्वास प्रस्ताव छल्नको लागि बैशाख १९ गते राजीनामा दिएका पोखरेल सोही दिन नै दोस्रो पटक मुख्यमन्त्रीको शपथ लिँदै जसपाका चारै जनालाई फेरि मन्त्री नियुक्त गरेका थिए ।

जसपाका तीन जनालाई मन्त्री दिएर आफूलाई मात्र राज्यमन्त्री दिएको भन्दै रायमाझी असन्तुष्ट थिइन् । प्रदेश सभामा ६ जना सदस्य रहेको जसपाका सन्तोषकुमार पाण्डेयलाई भौतिक पूर्वाधार विकास मन्त्री, कल्पना पाण्डेयलाई उद्योग मन्त्री र विजय यादवलाई भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री दिएका मुख्यमन्त्री पोखरेलले र रायमाझीलाई भने भौतिक पूर्वाधार विकास राज्यमन्त्री बनाएका थिए ।

यसपछि रायमाझीले राजीनामा दिएकी हुन् । योसँगै पुनः मुख्यमन्त्री पोखरेलको पद धरापमा परेको हो ।

लुम्बिनी प्रदेश सभामा ८३ जना सांसद रहेकोमा सरकार बनाउन ४२ जनाको समर्थन चाहिन्छ । एमालेका ४१ जना सदस्य निर्वाचित रहेको लुम्बिनी प्रदेश सभामा अहिले ३८ सांसद छन् । दुईजनाको राजीनामा र दाङबाट निर्वाचित एमाले सांसद उत्तरकुमार वलीको दुर्घटनामा परी निधन भएपछि सोही क्षेत्रबाट निर्वाचित वलीकी पत्नी विमला वलीले समेत माओवादी पार्टी रोजेपछि एमाले ३८ सांसदमा खुम्चिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *