पाठ्यपुस्तकमा पुरानै नक्सा, सरकार भन्छ- अनुगमन गर्दैछौं

काठमाडौं । गत वर्षको जेठ ७ गते सरकारले नेपालको नयाँ नक्सा जारी गर्‍यो । कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर नयाँ नक्सा जारी गरेको एक वर्ष बितेपनि सरकारले नै छपाइ गर्ने पाठ्यपुस्तकमा भने पुरानै नक्सा छापेर वितरण गरिरहेको छ । सरकारी संस्थान जनक शिक्षा सामग्री केन्द्र लिमिटेड र निजी प्रकाशकहरुले छापेको पाठ्यपुस्तकमा नेपालको पुरानै नक्सा छापिएको हो ।

असारमा नयाँ शैक्षिक सत्र सुरु हुनेबित्तिकै शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले पुरानै नक्सा छापेर किताब बिक्रीवितरण गरेमा कारबाही गर्न पाठ्यक्रम विकास केन्द्रलाई निर्देशन दिएका थिए । त्यस्ता पाठ्यपुस्तक जफत गर्ने मन्त्रीको भनाइ थियो । गएको जेठ २८ मा बसेको पाठ्यपुस्तक वितरण व्यवस्थापन अनुगमन केन्द्रीय समितिको बैठकले असार एक गतेदेखि लागू हुने नयाँ शैक्षिक सत्रका सबै पाठ्यपुस्तकमा अनिवार्य रुपमा नेपालको नयाँ नक्सा नै प्रयोग हुनुपर्ने निर्णय गरेको थियो । गतवर्ष नै छपाइ भएका पाठ्यपुस्तक तथा पाठ्यसामग्रीहरु यस वर्ष प्रयोगमा ल्याउनुपर्ने भए त्यस्ता पाठ्यपुस्तक र पाठ्यसामग्रीको सम्बन्धित पेजमा कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नेपालको नयाँ नक्सा समावेश गरी पुनः छपाइ गरी विद्यालयमा पुर्‍याई प्रतिस्थापन गर्ने र बिक्री हुन बाँकी रहेका सामग्रीका सम्बन्धित पेज प्रकाशक र वितरकहरुबाट प्रतिस्थापन गरेर मात्र बिक्री गर्ने व्यवस्था गर्न निर्देशन दिइएको थियो ।

तर, २०७८ असार १२ गते पाठ्यपुस्तक वितरण व्यवस्थापन अनुगमन केन्द्रीय समितिले गरेको अनुगमनमा बजारमा अझै पनि पुरानो नक्सा भएका पाठ्यपुस्तक तथा पाठ्यसामग्री नै बिक्री वितरण भइरहेको पाइएको पाठ्यक्रम विकास केन्द्रले जनाएको छ । निर्देशन अटेरी गरी बिक्री वितरण गर्ने प्रकाशक र वितरकलाई कारबाही गर्न स्पष्टीकरण सोधिएको केन्द्रले जानकारी दिएको छ ।

असार १ गतेको निर्देशनबमोजिम तत्काल नयाँ नक्सा प्रयोग हुनेगरी पाठ्यपुस्तक तथा पाठ्यसामग्री बिक्रीवितरण गराउन केन्द्रले पुनः निर्देशन दिएको छ । अब गरिने अनुगमनमा पनि पुरानै नक्सा भएका पाठ्यपुस्तक र सामग्री बिक्री भएको पाइए प्रकाशकको नाम सार्वजनिक गरी कारबाही प्रक्रिया अगाडि बढाउने केन्द्रले सूचना निकालेर जानकारी दिएको छ ।

अनुगमनको क्रममा कतिपय विद्यालयहरुले कक्षा दुई, तीन र छ मा स्वीकृत नयाँ पाठ्यक्रमअनुसारको पाठ्यपुस्तक र पाठ्यसामग्रीको सट्टामा पुरानो पाठ्यक्रमअनुसारकै सामग्री खरिदका निम्ति सूची उपलब्ध गराइएको र तोकिएको विषय अलावा सन्दर्भसामग्री भनी अनावश्यक संख्यामा पाठ्यपुस्तक र सामग्री खरिद गर्न अभिभावकलाई बाध्य पारेको पनि भेटिएको केन्द्रले जनाएको छ ।

त्यस्ता विद्यालयका प्रधानाध्यापकलाई समेत स्पष्टीकरण मागिएको पाठ्यक्रम विकास केन्द्रले जनाएको छ । अभिभावक तथा विद्यार्थीलाई केन्द्रले नेपाल सरकारको स्वीकृत पाठ्यक्रमभन्दा बाहिरका तथा पुराना पाठ्यक्रमअनुसारको पाठ्यपुस्तक प्रयोग नगर्नसमेत निर्देशन दिएको छ । त्यस्तै अझै पनि कतिपय पाठ्यपुस्तक तथा पाठ्यसामग्रीहरुमा मूल्य उल्लेख नभएको, पुरानो मूल्यसूचीमा कालो पोती, स्टिकर टाँस गरी नयाँ मूल्य तोकेको, नेपाल सरकारले निर्धारण गरेकोभन्दा अधिक मूल्य उल्लेख गरेको समेत अनुगमन समितिले भेट्टाएको छ । ती सबैलाई कारबाही गर्ने केन्द्रले जनाएको छ ।

विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६ बमोजिम स्वीकृत पाठ्यक्रमअनुसार सामाजिक अध्ययन, मानव मूल्य शिक्षालगायत नेपाली कला संस्कृति र मौलिक पहिचानमूलक विषयको पठनपाठनका लागि माध्यम भाषा नेपाली हुनुपर्ने व्यवस्थाअनुसार यस वर्ष कक्षा एक, दुई-तीन, छ, एघार र बाह्रमा यी विषयहरू नेपाली माधयमबाट पठनपाठन गर्नुपर्ने भनी पाठ्यक्रम विकास केन्द्रले असार १ गते सूचना प्रकाशन गरी जानकारी गराएको थियो ।

अनुगमनमा यी पाठ्यपुस्तकहरू समेत अङ्ग्रेजीमा जस्ताको त्यस्तै अनुवाद गरी पठनपाठन गराइएको समेत पाइएको अनुगमनमा संलग्न अभिभावक संघका अध्यक्ष सुप्रभात भण्डारीले जानकारी दिए । अनुगमनमा निजी तथा सरकारी विद्यालयले मनोमानी ढङ्गले पुस्तक वितरण गर्ने, एउटै कक्षामा १८ वटासम्म पुस्तक बिक्री गरेको पाइएको उनले बताए ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रकी निर्देशक सविता दंगालले निजी तथा सरकारी विद्यालयका पाठ्यसामग्रीमा नक्साको विषयमा कडा निगरानी गरिरहेको बताइन् । सविताले पुरानो नक्सालाई प्रतिस्थापन गरेको छ/छैन भन्नेबारे पनि अब छिटै अनुगमन गरिने जानकारी मकालुखबरलाई दिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *