पल शाह ‘रियल हिरो अफ द इयर’

काठमाडौं । रजतपट कोसेली अभियानको समापन समारोहमा अभिनेता पल शाहलाई ‘रियल हिरो अफ द इयर’बाट सम्मानित गरिएको छ ।

‘रजतपट कोसेली अभियान’का संयोजक प्रकाश सुवेदीले कोरोना भाइरसका कारण पीडितको उद्धार र सहयोगमा लागिपरेका पल शाहलाई सोही सामाजिक कामको लागि सम्मान गरिएको जनाए ।

लकडाउनले गर्दा बेरोजगार बनेका चलचित्रकर्मी तथा अन्यलाई राहत सहयोग गर्न सुरु भएको ‘रजतपट कोसेली अभियान’ले समस्यामा परेर आफ्नो सम्पर्कमा जो कोहीलाई पनि काखा र पाखा नगरी आफू र आफ्नो टिमले सहयोग गर्ने कोशिस गरेको सुनाए ।

राहत वितरणकै लागि काठमाडौं बाहिर रहेको कारण सोमबार काठमाडौंमा आयोजित सहयोग तथा सम्मान हस्तान्तरण कार्यक्रममा पल अनुपस्थित थिए । मङ्गलबार उनी काठमाडौं आएर रजतपट कोसेली अभियानको सम्मान ग्रहण गरेका छन् ।

यही टिमले तीन वर्षअघि भारतमा दुर्घटनामा परेर हाल नर्भिक अस्पतालमा उपचाररत मोडल निशा घिमिरेलाई ११ लाख सात हजार आठ सय रुपैयाँ सहयोगसमेत गरेको छ । उक्त सहयोग नेपाल र नेपाल बाहिर रहेका विभिन्न चलचित्रकर्मीको पहलमा जुटेको थियो ।

कार्यक्रममा निशालाई निःशुल्क उपचारको प्रबन्ध गरेकी मेघा चौधरीलाई पनि सम्मानित गरिएको छ । मेघाको सम्मान पत्र नवजीवन परोपकार समाज नेपालका दुर्गानाथ दाहालले बुझेका थिए । दाहालले नै निशाको अवस्था मेघासम्म पुर्‍याई उपचारको लागि पहल गरेका थिए । ‘रजतपट कोसेली अभियान’को अन्तिम दिन सोमबार पनि १८ जना चलचित्रकर्मीलाई सहयोग गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *