प्रदेश १ मा धान रोपाइँ (तस्बिरहरू)

विराटनगर । प्रदेश १ भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्री राम रानामगरले विभिन्न बास्नादार जातका धानलाई खेतीमा प्रयोग गर्नका लागि किसान लक्षित कार्यक्रम लागू गर्नुपर्ने बताएका छन् ।

उत्पादन गरेका धानहरू स्थानीय जातको भएकाले धानको आयात बढेको बताउँदै मन्त्री रानाले अब स्थानीय मोटा जातका भन्दा पनि बास्नादार मसिना जातका धान उत्पादनमा किसानलाई प्रोत्साहन गर्ने नीति प्रदेश सरकारले अँगालेको बताए ।

मोरङको बुढिगंगा गाउँपालिका- ६ डंग्राहामा आयोजित धान दिवसको अवसरमा आयोजित कार्यक्रममा धान रोपाइँमा सहभागी भएपछि प्रतिक्रिया दिँदै मन्त्री रानाले मसिना जातको जानमा किसानलाई प्रोत्साहित गर्न सकियो भने धानको आयात घटेर जाने स्पष्ट पारेका हुन् ।

अहिलेको उत्पादकत्वलाई बढाएर दोब्बर बनाउने बारेमा पनि लाग्नुपर्ने अवस्था आएको उनले बताए । हिउँदेसँगै वर्षे धानलाई पनि ड्रायरको व्यवस्था गरी सुकाउने व्यवस्था गरी त्यसको बजारीकरणमा किसानलाई सहयोग गर्नुपर्ने स्थिति रहेकाले मन्त्रालयले त्यसतर्फ काम गरिरहेको सुनाए ।

‘हामी प्रदेशमा धानमा आत्मनिर्भर त छौँ, तर हाम्रो मागमा परिवर्तन आएको छ,’ मन्त्री रानाले भने, ‘मसिनो र बासमति खाने अनि मोटा नखाने भन्ने भएकाले उत्पादनलाई त्यसतर्फ लाग्नुपर्छ ।’

असार १५सम्ममा मोरङमा १२ प्रतिशत धान रोपाइँ भएको छ ।  प्रदेश कृषि विकास निर्देशनालय प्रदेश १ विराटनगरका अनुसार मोरङमा ८३ हजार ३ सय हेक्टर धान खेति हुने क्षेत्रफलमध्ये ९ हजार ९ सय ९६ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको हो । प्रदेश सरकारले जात परिवर्तन, बढी उत्पादन र कृषि यान्त्रिकीकरणमा ध्यान दिनको लागि बजेटले सम्बोधनको प्रयास भइरहेको जनाएको छ ।

प्रदेश १ मा हालसम्म १८ प्रतिशत धान रोपाइँ भएको छ । प्रदेश १ को मध्य पहाडी जिल्लामा सबैभन्दा बढी २८ प्रतिशत र सबैभन्दा कम तराईका जिल्लामा १४ प्रतिशत धान रोपाइँ भएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *