राष्ट्रिय धान दिवस

चलचित्र हेर्ने हतारोले गोरुले धानको बिउ खायो : भोलाराज

काठमाडौँ । ‘मानो खाएर मुरी उब्जाउने’ महिनाको उपमा पाएको असार बेलाबेला औपचारिक रुपमा पनि प्रकट हुन्छ । धान रोप्ने ‘लेठो’ गर्न नचाहनेहरु पनि सामाजिक सञ्जालका भित्ताहरूमा असार र रोपाइँको महिमा बताइरहेका हुन्छन् । र यसका लागि असार १५ सम्भवत सबैभन्दा राम्रो बहाना हो । केहीले भने चाहेर पनि खेती गर्न पाएका हुँदैनन् ।

कलाकार भोलाराज सापकोटा खेतमा गएर धान रोप्न नपाएको ५ वर्ष भयो । श्रीमती र छोरीसँग उनी अहिले काठमाडौँ मै बसिरहेका छन् । यही कारण उनको हेटौंडामा भएको खेती अरूले नै गर्छन् । तर भौतिक रूपमा खेतमा नपुगे पनि असारको मौसमले तानेर उनको मन हात्तीलेट गाउँ भन्दा केही पर रहेको भुलभुले खेतमा पुग्ने गर्छ । बाहिरको मौसम हेर्दै, उनी त्यो तातो घामले पोलेको ढाड अनि हिलोमा चिसो भएको खुट्टा, हरियाली मौसम र केही थाकेको शरीर सम्झिन्छन् । यस्ता यादहरूले उनलाई रोमाञ्चित बनाउँछ ।

असार लागेसँगै उनले गाउँघर र खेत सम्झिए । सानी छोरीसँग मिलेर उनले असारे गीत गाए-

हरियो भन्नु त्यो पारी बन पहेँलो बेसार
यता नि पानी उता नि पानी लागेछ असार
हो हो रे होहो
हो हो रे होहोहो..

असारमा खाने दुधिलो मकै साउनमा खाने खिर
घरमा छैन सितलु बचन मनमा सधैँ पिर
हो होरे होहो
हो होरे होहोहो..

आज नि रोपाइँ भोलि नि रोपाई पर्सी नि जानु छ
सासुमा जीले दिएको बचन पेट भरी खानु छ
हो हो रे होहो
हो हो रे होहोहो…

(यो गीतमार्फत कामको समयमा बुहारीले भोग्ने पीडा पोखिएको छ । काम गर्दै मेला पातमा महिलाहरू अझै पनि यसै गरी पिडा पोख्ने गर्छन् ।)

हेटौडामा हुँदासम्म उनकी छोरी सुपला पनि खेतमा जान्थिन् । जानी नजानी हिलोसँग रमाउँथिन् । बाबु छोरी दुवैले असारलाई याद गरे र सामाजिक सञ्जाल प्रयोगकर्तालाई पनि खेतसम्मको यात्रा गराए ।

सानो उमेर सम्झँदै भोला भन्छन्, ‘त्यो बेला धेरै काम गर्न सकिँदैन थियो । हाम्रो भागमा ब्याडबाट बिउ काढेर खेत सम्म लैजाने काम हुन्थ्यो। ‘ बिउ लगेर उनी आलीको छेउमा राख्थे । एउटा गरामा कति बिउ लाग्छ उनीहरूलाई अन्दाज भई सक्थ्यो । त्यसै अनुसार मिलाएर बिउ राख्दे र रोपाहारहरूलाई सजिलो बनाइदिन्थे ।

यो समयको एउटा तितो अनुभव पनि छ उनीसँग । काम छिटो सकेमा कहिलेकाहीँ चलचित्र हेर्न जान पाइन्थ्यो । ५-६ किलोमिटर हिँडेर उनी र उनका साथीहरू हेटौडा बजार पुग्थे । चलचित्र हेर्ने लोभमा उनीहरूले आफ्नो काम छिटो सक्ने निर्णय गरे । बिहान हतार-हतार गएर ब्याडबाट बिउ डोकोमा बोकेर आली नजिक राखे र खाना खान घर फर्किए । सबैजनाको खानको सुर भयो । खेतमा गोरु मात्रै थिए । गोरुले पनि मौका छोपे । चलचित्रको लोभले भोलाराजले बिउबारे सोच्नै भ्याएनन् । हुन त उमेर पनि सानो थियो । धानको बिउ गोरुले खायो र भोलाले गाली ।

उनले असार सम्झिदा आफ्नी हजुरआमा पनि सम्झिए । खेतालालाई खाजामा भटमास र आलुको तरकारीसँग चिउरा दिने चलन थियो । त्यो थकान र समूहमा खादाको खुसीले हजुरआमाको हातको खानामा मिठास थप्ने गर्थ्यो । हजुरआमाको मृत्युपछि पनि उनले पटक-पटक त्यो तरकारी बनाएर खाए । तर अह त्यो स्वाद भने कहिले पाउन सकेनन् । उनी भन्छन्, ‘अझै पनि बनाएर खान्छु । तर त्यस्तो मिठो हुँदैन ।’ उनले खोजेको मिठासमा सम्भवतः हजुरआमाको याद र माया मिसिएको थियो । त्यसैले त उस्तै स्वाद फर्किनै सकेन ।

किसानका छोरा भोलाले बाँझो खन्ने, आली तास्नेदेखि धान रोप्नेसम्मको सबै काम गरेका छन् । उनलाई बिउ काढ्न, बाउसे गर्न, दादे लगाउन, आली लगाउन र धान रोप्न पनि आउँछ । अझ तराइ भएकोले असारमा त चैते धानको चटारो पनि हुन्थ्यो । धान काट्ने, सुकाउने र उठाउनेको चटारो पनि उस्तै । शारीरिक थकानका बिच त्यो हाँसो ठट्टा र मौसमसँगै हिलोबाट आउने वासनासमेत सम्झन्छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *