भारतबाट यूएई सर्‍यो टी-२० विश्वकप

काठमाडौं । बिसीसीआईले भारतमा आयोजना हुने तय भएको टी-२० विश्वकप यूएईमा सार्ने निर्णय गरेको छ। भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसीसीआई) ले सोमबार यसको आधिकारिक घोषणा गरेको हो । भर्चुअल माध्यममार्फत बसेको बैठकबाट यूएईमा टी-२० आयोजना गर्ने निर्णय गरिएको उपाध्यक्ष राजीव शुक्लाले जानकारी दिए ।

आईसीसीले विश्वकप आयोजनासम्बन्धी निर्णय दिन बिसीसीआईलाई सोमबार अन्तिम दिनको समय दिएको थियो । सोहीअनुसार बिसीसीआईले टी-२० विश्वकप यूएईमा हुने निर्णय गरेको हो ।

बोर्ड सचिव जय शाहले लामो छलफल र बैठकपछि विश्वकप यूएईमा सार्ने निर्णय गरेको जानकारी दिए । आईसीसीलाई यो विषयमा आज नै जानकारी गराइने शाहले जानकारी दिए ।

बिसीसीआईले विश्वकपको मिति तय गर्ने जिम्मा भने आईसीसीलाई दिएको छ । यद्यपि १५ अक्टोबरमा आईपीएलको फाइनल खेल खेलाउने तयारी गरिएको छ । त्यसको केहि दिनपछि टी-२० विश्वकप सुरू हुन सक्ने जनाइएको छ । आइपिएल-२०२१ कोरोना महामारीका कारण २९ खेलपछि बन्द गरिएको थियो । यसको दोस्रो चरण  १९ सेप्टेम्बरबाट यूएईमा गर्ने तयारी गरिए पनि आधिकारिक घोषणा भने भएको छैन ।

पहिला आईपीएल
कोरोनाका कारण रोकिएको आईपीएलका बाँकी खेल पहिला खेलाइने तयारी गरिएको छ । आईपिएलका बाँकी खेललगत्तै विश्वकप सुरू हुने बताइएको छ । १९ सेप्टेम्बरदेखि १५ अक्टोबरसम्म आईपीएल र १७ अक्टोबरदेखि टी-२० विश्वकप हुन सक्ने क्रिक इन्फोले जनाएको छ ।

विश्वकपमा १६ टीमको सहभागिता हुँदा प्रतियोगिताको फाइनल १४ नोभेम्बरमा हुन सक्ने जनाइएको छ । यद्यपि आधिकारीक मिति भने तय हुन बाँकी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *