आम नेपाली युवाको कथामा बनेको ‘नदेखिन्या घाउ’ सार्वजनिक (भिडिओ)

काठमाडौं । गरिबीले पिल्सिएका दुई युवालाई घरको स्थितिले गाउँ छोड्न बाध्य बनाउँछ । ऋण खोजेर बनाएको पासपोर्ट र अझ बढी ऋण थपेर पुरानो साहुको ऋण चुक्ता गर्ने सपना देखेर म्यानपावर पुग्छन् ।

पैसा र पासपोर्ट बुझाएका उनीहरू अर्को दिन अफिस पुग्दा सञ्चालक पैसा ठगेर भागिसकेको हुन्छ । त्यसपछि पेट पाल्नका लागि तिनै दुई युवा सहरमा सङ्घर्ष गर्न थाल्छन् । आमाबाबु, श्रीमती र गाउँघरको याद सहित उनीहरू भारी बोकेर खाना जुटाउँछन् । तर यही काम गर्दा समेत अघि बढ्नकै लागि गर्नुपर्ने लडाइँले उनीहरूलाई दुःखी बनाउँछ ।

बाच्नकै लागि गर्नुपर्ने यो सङ्घर्षको कथा पहिलो पटक प्रयोग गरिएको होइन । तर गायनमा नाम कमाएका देवेन्द्र बब्लु र पृथ्वी खनालको अभिनयले ‘नदेखिन्या घाउ’ गीतलाई अन्य गीतभन्दा भिन्न बनाएको छ । गायकहरूले गरेको अभिनयमा बनावटीपन देखिँदैन । भिडिओ हेर्दा मौसम हिमालीको निर्देशकीय क्षमताको प्रशंसा नगरी बस्न सकिँदैन । ६ मिनेट नौ सेकेन्डको भिडिओमा उनले प्रयोग गराएका लवज, पहिरन र कथा भन्ने शैली आकर्षक छ ।

पश्चिमा लवजको ‘नदेखिन्या घाउ’ गीतमा  ‘द भ्वाइस अफ नेपाल’मा चर्चित किरण गजमेर र धर्मेन्द्र सुनारको स्वर छ । भ्वाइसकै करण राज कार्कीले सङ्गीत भरेका छन् । लेखु सहयात्रीको शब्द मार्मिक र नेपाली माटो सुहाउँदो छ । अभिनयमा देवेन्द्र र पृथ्वीलाई सङ्गीता थापा र सौरभ तिम्सिनाले साथ दिएका छन् । अनु गुरुङको शृङ्गार रहेको भिडिओमा विष्णुहरि तिमल्सिनाको सम्पादन रहेको छ । भिडिओ छायाङ्कन पिटर गुरुङको रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *