पौडेल, सिटौला र कोइरालाबीच के विषयमा भयो छलफल ?

काठमाडौं । नेपाली कांग्रेसका नेताद्वय रामचन्द्र पौडेल—कृष्णप्रसाद सिटौला र नेतृ सुजाता कोइरालाबीच १४औं महाधिवेशनकेन्द्रित छलफल भएको छ । कोइरालानिवास मण्डिखाटारमा भएको छलफलमा वर्तमान सभापति शेरबहादुर देउवाको विकल्पबारे छलफल भएको स्रोतले बताएको छ ।

छलफलका लागि नेताद्वय पौडेल र सिटौललाई नेतृ कोइरालाले आफ्नै निवासमा निम्तो दिएकी थिइन् । १४औंमहाधिवेशनमा सभापति देउवाले नेतृत्वमा दोहोरिनेगरी तयारी अगाडि बढाएपछि संस्थापन—इतर समूहबाट सहमतिमा नेतृत्वबारे छलफल गर्न कोइरालाले पौडेल र सिटौलालाई बोलाएको स्रोतको भनाइ छ ।

पौडेलले अन्तिम पटकका लागि सभापति बन्ने इच्छा व्यक्त गरिरहँदा सिटौला र कोइरालो पनि आफूलाई सभापतिको आकांक्षीकै रुपमा प्रस्तुत गरिरहेका छन् ।

यता संस्थापन पक्षभित्रै पनि सभापति को भन्नेबारे लुछाचुँडी छ । उपसभापति विमलेन्द्र निधिले कुनै पनि हालतमा उम्मेदवार बनेरै छोड्ने बताइसकेका छन् । यस्तै नेताहरु शशांक कोइराला, डा. शेखर कोइराला, प्रकाशमान सिंहलगायतका नेताहरुले पनि सभापतिको उम्मेदवार बन्ने बताइरहेका छन् ।

त्यसअघि सोमबार आजै बिहान नेता पौडेल—शेखर कोइरालाबीच वान् टू वान् भेटवार्ता भएको थियो । पौडेलनिवास बोहराटारमा भएको उक्त भेटवार्तामा क्रियाशील सदस्यताको विवाद समाधानसँगै १४औं महाधिवेशनबाट सभापति बन्ने उम्मेदवारको बारेमा छलफल भएको थियो ।

यसअघि नेता पौडेलले आफूनिकटका केन्द्रीय सदस्यहरुसँग छलफल गरिसकेका छन् । देउवाले यसअघि नै सातै प्रदेशका आफूनिकटका नेताहरुसँग छलफल गरिसकेका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *