विवादित मेयर हमालको अर्को ज्यादती, शनिबार काम गरेको भन्दै लखेटे कर्मचारी

धनगढी । केही दिनअघि रातिको समयमा रक्सी माग्दै होटल सञ्चालकलाई धम्क्याएका कञ्चनपुरको कृष्णपुर नगरपालिकाका मेयर कर्णबहादुर हमाल फेरि अर्को विवादमा तानिएका छन् । मेयर हमालले शनिबार कार्यालयमा काम गर्न आएका कर्मचारीलाई अपशब्द प्रयोग गर्दै कार्यालयबाट लखेटेका छन् । कृषि ज्ञान केन्द्र कञ्चनपुरका प्राविधिक सहायक जनकबहादुर सिंहलगायतको टोलीलाई मेयर हमालले अपशब्द प्रयोग गर्दै कार्यालयबाट लखेटेका हुन् ।

कर्मचारी सिंहसहितको टोली सुदूरपश्चिम कृषि विकास निर्देशनालयको अनुदान मेसिनरी औजार वितरण कार्यक्रमअन्तर्गत शनिबार किसानसँग सम्झौता गर्न गएको थियो । ‘मलाई ज्ञान केन्द्रले कृषि निर्देशनालय अन्तर्गतको मेसिनरी औजार वितरण कार्यक्रमअन्तर्गत काजमा खटाएर किसानसँग सम्झौता गर्न पठाएको हो,’ सिंहले मकालुखबरसँग भने— ‘कार्यालयमा आएर कृषि शाखामा किसानलाई फारम वितरण गरिरहेका बेला मेयर साप आएर गाली गर्दै बाहिर पठाइदिनुभयो ।’

मेयर हमालले शनिबार काम गर्न नपाउने भन्दै आफूहरुलाई लखेटेको उनको भनाइ छ । नगरपालिकालाई कार्यक्रमका बारेमा दश दिन पहिले नै जानकारी दिइसकेको भएपनि अहिले आएर यस्तो कार्य भएको उनले बताए । उनले आफ्नो कार्यक्रमबारे नगरपालिकाको कृषि शाखाको बाहिर सूचनासमेत टाँस गरेको उनले बताए ।

मेयर हमालले कार्यालयबाट बाहिर लखेटेपछि नजिकै रहको इलाका हुलाक कार्यालयमा बसेर सम्झौता गरेर फर्किएको उनले जानकारी दिए । यस बिषयमा मेयर हमालले कुनै प्रतिक्रिया जनाएनन् ।

केही दिनअघि मेयर हमालले राति १० बजेको समयमा एक होटल सञ्चालकलाई रक्सी माग्दै धम्क्याएको घटना सार्वजनिक भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *