टेलिभिजनको लाइभमै तलब मागेर चर्चित बनेका पत्रकारले फेरि भने– ‘मेरो तलब देऊ’

काठमाडौं । जाम्बियाका पत्रकार कबिन्दा कालिमिना टेलिभिजनमा समाचार पढ्दा पढ्दै तलब मागेर चर्चामा छन् । उनी कार्यरत केबीएन टिभी व्यवस्थापनले भने कबिन्दाले रक्सी खाएर जथाभावी बालेको आरोप लगाएको छ । कबिन्दाले भने आफूले समाचारमा तलब माग्नुुअघि ४ वटा कार्यक्रम सञ्चालन गरेको उदाहरण दिँदै उनले गलत कुरा नगर्न र आफ्नो पारिश्रमिक दिन आग्रह गरेका छन् ।

टिभीका प्रमुख कार्यकारी अधिकृत केन्नेडी के. मामवेइले जारी गरेको प्रेस वक्तव्यमा पत्रकार कबिन्दाले चर्चा बटुल्न लाइभमा त्यसो गरेको भन्दै उनले रक्सी खाएर लाइभमा गएको आरोप लगाएका छन् ।

पत्रकार कबिन्दाले भने आफूले समाचार प्रस्तुत गर्नुअघि सञ्चालन गरेका चारवटा कार्यक्रमको समय तालिका दिँदै लेखेका छन्— ‘केबीएनको व्यवस्थापनले मैले रक्सी पिएको भन्यो । बस् मलाई मेरो पारिश्रमिक देऊ, (जस्ट पे मि) ।’

जुन १९ तारिकको साँझ केबीएन टिभीमा प्रसारण भइरहेको प्राइम समाचारमै व्यवस्थापनसँग तलब माग्दै पत्रकार कबिन्दाले भनेका थिए— ‘समाचार बाहिरको कुरा गरौँ । हामी मानिस हौँ । हामीलाई तलब दिइनुपर्छ । दुर्भाग्यवश केबीएनले हामीलाई तलब दिएको छैन ।’ उनले साथीहरुसमेतको नाम लिएर उनीहरुसहित आफूले तलब नपाएको गुनासो गरिरहेपछि टेलिभिजनको लाइभ काटिएको थियो । भोलिपल्ट आफूले टेलिभिजनको लाइभमा तलब मागेको भिडियो राख्दै पत्रकार कबिन्दाले फेसबूकमा लेखेका थिए— ‘हो मैले लाइभमा त्यसो गरेँ । किनभने धेरै पत्रकार बोल्न डराउनुको अर्थ सबै पत्रकार डराउँछन् भन्ने होइन ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *